arrow

यस्तो छ विश्वकपको सेमिफाइनल र फाइनल तालिका, पानी परे के हुन्छ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
worldcup-2023-sf-f.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेट अन्तर्गत सेमिफाइनल समीकरण पूरा भएको छ । आज भारत र नेदरल्याण्ड्सबीच लिग चरणको अन्तिम खेल भएसँगै मात्र तीन खेल बाँकी हुनेछन् । 

बुधबार र बिहीबार सेमिफाइनल खेल हुनेछन् भने आगामी आइतबार फाइनल खेल हुनेछ । पहिलो सेमिफाइनलमा बुधबार वाङ्खेडेको मैदानमा भारतको भिडन्त न्यूजिल्याण्डसँग हुनेछ ।  भारत पहिलो र न्यूजिल्याण्ड चौथो भएको छ । 

दोस्रो सेमिफाइनलमा बिहीबार इडेन गार्डेनमा अष्ट्रेलियाको भिडन्त दक्षिण अफ्रिकासँग हुनेछ । दक्षिण अफ्रिका दोस्रो तथा अष्ट्रेलिया तेस्रो रहेको थियो । दुवै खेल दिउँसो २ः१५ बजे शुरु हुनेछन् । 

फाइनल खेल आगामी आइतबार १९ नोभेम्बरमा अहमदाबादमा दिउँसो २ः१५ बजे शुरु हुनेछ । 

सेमिफाइनलमा पुग्ने दुई टिम अष्ट्रेलिया र भारत पूर्व विजेता हुन् भने दक्षिण अफ्रिका र न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जितेका छैनन् । 

अष्ट्रेलिया पाँच पटकको र भारत दुई पटकको च्याम्पियन हो । 

सेमिफाइनलमा विश्वकप नजितेका दुवै टिमले जित्ने हो भने नयाँ च्याम्पियन बन्नेछ । 

वर्षा भए के हुन्छ ?
अहिलेसम्म केही खेलमा मात्र वर्षाले असर गरेको छ । डक वर्थ लेविस नियमानुसार खेल सम्भव भएको छ । तर सेमिफाइनल र फाइनलमा वर्षा भए के हुन्छ ? 
सेमिफाइनलको नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ । 

यदि सेमिफाइनलमा एक दिनमा खेल पूरा भएन भने अर्को दिन जहाँ रोकिएको थियो त्यहीँबाट अगाडि बढ्ने छ । 

रिजर्भ डे मा पनि खेल पूरा हुन सकेन भने लिग चरणको अंक तालिकाका आधारमा विजेता घोषित गरिने छ । 

यदि भारत र न्यूजिल्याण्डबीचको खेल सम्भव भएन भने अंकका आधारमा भारत फाइनलमा पुग्नेछ । 

त्यसैगरी अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल पूरा हुन नसके अंकका आधारमा दक्षिण अफ्रिका फाइनलम पुग्नेछ । 

अंक तालिका –
८ खेलबाट १६ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ९ खेलबाट १४ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । 

९ खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । ८ खेलबाट १० अंकसहित न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ । पाकिस्तान ९ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा रह्यो । 

अफगानिस्तान ९ खेलबाट ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । इङ्गल्याण्ड ९ खेलबाट ६ अंकसहित सातौँ स्थानमा रहेको छ । 

बंगलादेश ९ खेलबाट ४ अंकसहित आठौँ स्थानमा रहेको छ । श्रीलंका ९ खेलबाट ४ अंकसहित नवौँ स्थानमा रहेको छ । 

नेदरल्याण्ड्स ८ खेलबाट ४ अंकसहित पुछारमा झरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ