arrow

विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध भारतको कीर्तिमानै कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
shreyes-rahul-2023.jpg
तस्बिर – शतकधारीद्वय श्रेयर ऐयर र केएल राहुल ।

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको ४५ औँ तथा लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । 

बेंगलुरुको एन चिन्नास्वामी स्टेडियममा भारतले कीर्तिमानी रन बनाएको छ । भारतले विश्वकपमा दोस्रो पटक चार सय भन्दा बढी रन बनाएको छ । यसअघि बर्मुडाविरुद्ध ४१३ रन बनाएको भारतले नेदरल्याण्ड्सविरुद्ध ४ विकेटको क्षतिमा ४१० रन बनायो । 

सोक्रममा भारतले विरलै तोडिने कीर्तिमान पनि रचेको छ । भारतका शुरुआती पाँच ब्याट्सम्यानले ५० बढी रन बनाएर कीर्तिमान रचेका छन् । 

भारतका लागि कप्तान रोहित शर्मा, शुबमन गिल, विराट कोहली, श्रृेयस ऐयर र केएल राहुलले ५० बढी रन बनाएर कीर्तिमान रचेका हुन् । अहिलेसम्म विश्वकपमा यो रेकर्ड बनेको थिएन । 

सो क्रममा ऐयर र राहुलले शतक पनि पूरा गरेका छन् । दुवैको विश्वकपमा पहिलो शतक हो । 

चौथो विकेटका लागि २०८ रनको साझेदारी गर्ने क्रममा ऐयरले ९४ बलमा अविजित रहँदै १२८, राहुलले ६४ बलमा १०२, रोहित शर्माले ५४ बलमा ६१ तथा शुबमनले ३२ बलमा ५१ तथा विराटले ५६ बलमा ५१ रन बनाए । सूर्यकुमार यादव १ बलमा २ रन बनाएर अविजित रहे । 

अन्य रेकर्ड के के बने ? 
कोहलीले एक दिवसीयमा ७१ अर्धशतक बनाउने क्रममा जारी विश्वकपमा सबैभन्दा बढी ५९४ रन बनाएका छन् । उनले दक्षिण अफ्रिकाका क्विन्टन डि ककलाई पछाडि छोडेका छन् । डि ककले ५९१ रन बनाएका छन् । 

रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतकमा शतक बनाएका छन् । उनले १६ टेष्ट, ५५ एक दिवसीय र २९ टी–२० अर्धशतक बनाएका हुन् । 

रोहितले ५०३ रन जोडेका छन् । एक विश्वकपमा सबैभन्दा बढी रन बनाउने रोहित पहिलो कप्तानसमेत बनेका छन् । यसअघि सौरभ गांगुलीले ४६५ रन बनाएका थिए । 

रोहितले विश्वकपमा सबैभन्दा बढी छक्का बनाउने रेकर्ड बनाएका छन् । उनले ग्लेन म्याक्सवेलको २२ छक्कालाई पछाडि छोडेका छन् । 

रोहित लगातार दोस्रो विश्वकपमा ५०० भन्दा बढी रन बनाउने रेकर्ड बनाएका छन् । उनले सन् २०१९ मा ६४८ रन बनाएका थिए । 

रोहितले एक वर्षमा ६० बढी छक्का हानेर दक्षिण अफ्रिकाका एबी डे भिलियर्सको ५८ छक्काको रेकर्ड तोडेका छन् । 

रोहितले एक विश्वकपको सिजनमा सबैभन्दा बढी छक्का हान्ने कप्तान बन्दै इयोन मोर्गानलाई पछाडि छाडेका छन् । 

रोहित एक विश्वकप सिजनमा सबैभन्दा बढी चौका हान्ने कप्तान पनि बनेका छन् । 

रोहित एक भेन्युमा सबैभन्दा बढी छक्का हान्ने ब्याट्सम्यान पनि बनेका छन् । 

शुबमन गिल एक वर्षमा २ हजार भन्दा बढी रन बनाउने विश्वकै पहिलो खेलाडी बनेका छन् । 

तालिकाको शीर्ष स्थानमा रहेको भारत र पुछारमा रहेको नेदरल्याण्ड्स खेलिरहेका हुन् । 

भारतले अहिलेसम्म खेलेका सबै ८ खेल जितेको छ भने आजको खेल पनि जितेर ९–० को जित बनाउन चाहन्छ । 

भारतले सहभागी १० मध्ये बाँकी सबै टिममाथि जित हासिल गरेकाले आजको खेल पनि जित्नेमा ढुक्क छ । 

विश्वकपमा भारत र नेदरल्याण्ड्सबीच अहिलेसम्म दुई खेल भएका छन् । दुवै खेल भारतले जितेको छ । सन् २००३ मा भारत ६८ रनले तथा सन् २०१५ मा ५ विकेटले हराएको थियो ।   

सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार र बिहीबार सेमिफाइनल खेल हुनेछन् भने आगामी आइतबार फाइनल खेल हुनेछ ।

पहिलो सेमिफाइनलमा बुधबार वाङ्खेडेको मैदानमा भारतको भिडन्त न्यूजिल्याण्डसँग हुनेछ ।  भारत पहिलो र न्यूजिल्याण्ड चौथो भएको छ । 

दोस्रो सेमिफाइनलमा बिहीबार इडेन गार्डेनमा अष्ट्रेलियाको भिडन्त दक्षिण अफ्रिकासँग हुनेछ । दक्षिण अफ्रिका दोस्रो तथा अष्ट्रेलिया तेस्रो रहेको थियो । दुवै खेल दिउँसो २ः१५ बजे शुरु हुनेछन् । 

फाइनल खेल आगामी आइतबार १९ नोभेम्बरमा अहमदाबादमा दिउँसो २ः१५ बजे शुरु हुनेछ । 

सेमिफाइनलमा पुग्ने दुई टिम अष्ट्रेलिया र भारत पूर्व विजेता हुन् भने दक्षिण अफ्रिका र न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जितेका छैनन् । 

अष्ट्रेलिया पाँच पटकको र भारत दुई पटकको च्याम्पियन हो । 

सेमिफाइनलमा विश्वकप नजितेका दुवै टिमले जित्ने हो भने नयाँ च्याम्पियन बन्नेछ । 

अंक तालिका –
८ खेलबाट १६ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ९ खेलबाट १४ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । 

९ खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । ८ खेलबाट १० अंकसहित न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ । पाकिस्तान ९ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा रह्यो । 

अफगानिस्तान ९ खेलबाट ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । इङ्गल्याण्ड ९ खेलबाट ६ अंकसहित सातौँ स्थानमा रहेको छ । 

बंगलादेश ९ खेलबाट ४ अंकसहित आठौँ स्थानमा रहेको छ । श्रीलंका ९ खेलबाट ४ अंकसहित नवौँ स्थानमा रहेको छ । 

नेदरल्याण्ड्स ८ खेलबाट ४ अंकसहित पुछारमा झरेको छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो । 

–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।

–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।

–२२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्यो । पाकिस्तानलाई अफगानिस्तानले ८ विकेटले हराएको हो ।

–२३ औँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकाले लगातार सात खेलमा तीन सय रन बनाउने क्रममा ५ विकेटको क्षतिमा ३८२ रन बनायो । क्विन्टन डे ककले सर्वाधिक १७४ रन बनाए ।

–२४ औँ खेलमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनले हरायो । यो विश्वकपको अहिलेसम्मकै फराकिलो अन्तरको जित हो । ३९९ रन बनाएको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४० बलमा सय रन बनाएर कीर्तिमान राखे । डेभिड वार्नरले ६ शतक प्रहार गरेर कीर्तिमान रचे ।

–२५ औँ खेलमा श्रीलंकाले इङ्गल्याण्डलाई ८ विकेटले हरायो । इङ्गल्याण्डले मात्र १५६ रन बनाएको खेलमा दुवै गरी मात्र ५९ ओभरको खेल भएको थियो । 

–२६ औँ खेलमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाले सनसनीपूर्ण जित हासिल गर्यो । दक्षिण अफ्रिकाले एक विकेटको जित हासिल गरेको हो ।

–२७ औँ खेलमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई पाँच रनले हरायो । ३८९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले ९ विकेटको क्षतिमा २८३ रन बनाउन सक्यो । रचिन रविन्द्रले ८९ बलमा ११६ रन बनाए । अष्ट्रेलियाका ट्राभिस हेडले ६७ बला १०९ रन बनाए ।

–२८ औँ खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेदरल्याण्ड्सले २२९ रन बनाएकामा ४२.२ ओभरमात्र क्रिजमा टिकेर १४२ रन बनाउन सक्यो ।  

–२९ औँ खेलमा भारत विजयी भएको छ । भारतले इङ्गल्याण्डलाई सय रनले हराएको हो । भारतले ९ विकेटको क्षतिमा २२९ रन बनाएकामा इङ्गल्याण्डले ३४.५ ओभरमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो ।

–३० औँ खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले हरायो । श्रीलंकाले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २४१ रन बनाएकामा अफगानिस्तानले ४५.२ ओभरमै ३ विकेट गुमाएर जित हासिल गरेको हो ।

–३१ औँ खेलमा पाकिस्तान विजयी भएको छ । इडन गार्डेनमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको हो । 

–३२ औँ खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डमाथि १९० रनको फराकिलो जित हासिल गरेको छ । ३५८ रनको विशाल चुनौती पछ्याएको न्यूजिल्याण्डले ३५.३ ओभरमा अलआउट हुँदै १६७ रनमात्र बनाउन सक्यो ।

–३३ औँ खेलमा भारतले श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । भारतले ३५७ रन बनाएकामा श्रीलंका वानखेडे स्टेडियममा ५५ रनमा समेटियो । भारतको विश्वकपमा यो नै सबैभन्दा फराकिलो रन अन्तरको जित हो । विश्वकपमा यो दोस्रो ठूलो अन्तरको जित हो । यसै विश्वकपमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको अन्तरले हराएको थियो । समग्र एक दिवसीयमा भारतको यो चौथो फराकिलो अन्तरको जित हो । भारतले श्रीलंकामाथि नै सन् २०२३ को जनवरीमा हासिल गरेको ३१७ रनको जित अहिलेसम्मकै विश्वकै सर्वाधिक रनको अन्तरको कीर्तिमानी जित हो । 

–३४ औँ खेलमा अफगानिस्तानले नेदरल्याण्ड्समाथि ७ विकेटको जित हासिल गर्यो । नेदरल्याण्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै १७९ रन बनायो । जवाफमा अफगानिस्तानले ३१.३ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो ।

–३५ औँ खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई डक वर्थ लेविस नियमअनुसार २१ रनले पराजित गरेको छ । बेंगलुरुमा भएको खेलमा पाकिस्तानले ४०२ रनको फराकिलो चुनौती पछ्याइरहँदा वर्षाले खेल अवरुद्ध भएसँगै २५.३ ओभरमा १ विकेट गुमाएर २०० रन बनाएको पाकिस्तान २१ रनले विजयी भएको हो । 

–३६ औँ खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाले चिरपरिचित प्रतिद्वन्द्वी इङ्गल्याण्डलाई ३३ रनले हराएको हो । 

–३७ औँ खेलमा भारतले दक्षिण अफ्रिकामाथि २४३ रनको फराकिलो जित हासिल गरेको छ । ३२७ रनको चुनौती दिएकामा दक्षिण अफ्रिकाले २७.१ ओभरमा अलआउट हुँदै केवल ८३ रनमात्र बनाउन सक्यो । भारतका विराट कोहलीले शतक बनाए । रविन्द्र जडेजाले ५ विकेट लिए । 

–३८ औँ खेलमा बंगलादेश विजयी भएको छ । दिल्लीमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हरायो । 

–३९ औँ खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गर्यो । ग्लेन म्याक्सवेलको म्याक्सवेलले १२८ बलमा १० छक्का र २१ चौकाको मद्धतले अविजित रहँदै २०१ रन बनाए । विश्वकपमा यो पहिलो दोहोरो शतक हो । आठौँ विकेटका लागि म्याक्सवेल र पाट कमिन्सबीच २०२ रनको साझेदारी भएको थियो । खेलमा अब्राहिम जद्रानले विश्वकपमा पहिलो शतक प्रहार गरेका थिए ।

–४० औँ खेलमा साविक विजेता इङ्गल्याण्ड विजयी भएको छ । पुनेमा भएको खेलमा इङ्गल्याण्डले नेदरल्याण्ड्सलाई १६० रनले पराजित गर्यो । 

–४१ औँ खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हरायो । श्रीलंकाका कुसल परेराले २२ बलमा अर्धशतक पूरा गरे । यो जारी विश्वकपको सबैभन्दा कम बलमा भएको अर्धशतक हो । त्यस्तै न्यूजिल्याण्डका रचिन रविन्द्र डेब्यु विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भएका छन् । उनले ५६५ रन बनाइसकेका छन् । 

–४२ औँ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । दक्षिण अफ्रिकाले जाइन्ट किलर अफगानिस्तानलाई ५ विकेटले हराएको हो । 

–४३ औँ खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गर्यो । पुनेमा भएको खेलमा ३०७ रनको चुनौती अष्ट्रेलियाले ४४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । मिचेल मार्शले १३२ बलमा अविजित रहँदै १७७ रन बनाए । 

–४४ औँ खेलमा पाकिस्तान इङ्गल्याण्डसँग पराजित भएको छ । इडेन गार्डेनमा अविश्वसनीय जित हासिल गरेमात्र सेमिफाइनलमा पुग्ने पाकिस्तान उल्टै ९३ रनको फराकिलो हार बेहोर्यो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ