arrow

भारत र न्यूजिल्याण्ड खेल्ने पिच बदलिएको आरोप, बीसीसीआईले पार्‍यो स्पष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २९ बुधबार
pitch-2023-11-15.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको पहिलो सेमिफाइनलमा अहिले भारत र न्यूजिल्याण्ड भिड्दै छन् । मुम्बईको वाङ्खेडे स्टेडियममा दिउँसो २ः१५ बजेदेखि शुरु हुने सेमिफाइनल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

मिडिया रिपोर्टस्को दाबीअनुसार सेमिफाइनलका लागि चुनिएको पिचमा नखेलाएर अर्को पिचमा खेलाउन लागिएको पाइएको छ । 

पहिले सातौँ नम्बरको पिचमा खेलाउने निश्चित भएकामा अब छैटौँ नम्बरको पिचमा खेलाउन लागिएको बताइएको छ । 

सातौँ नम्बरको पिच फ्रेस रहेकाले शुरूआती बलर्सलाई मद्धत मिल्ने आशा गरिएको थियो । छैटौँ नम्बरको पिचमा विश्वकपका दुई खेल खेलिसकिएको छ । जसका कारण स्पिनरहरुलाई मद्धत मिल्न सक्नेछ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) माथि स्पष्टीकरण सोधेको छ । यद्यपि बीसीसीआईले यो आरोप भने खारेज गरेको छ । 

आईसीसीको निर्देशअनुसार नै पिच तय गरिएको पनि बीसीसीआईले जनाएको छ । बीसीसीआईले आईसीसीको उपस्थितिमै हरेक पिच निर्धारण हुने र कस्तो बनाउने भन्ने बारेमा पनि आईसीसीकै हात हुने उल्लेख गरेको छ । 


आईसीसीको नियमअनुसार ग्राउन्ड अथोरिटीले नै मैदानको पिच चुन्ख्छन् । यस मामिलामा गउन्ड अथोरिटी मुम्बई क्रिकेट एसोसिएसन हो । 

प्लेइङ कन्डिसनमा कही पनि यो लेखिएको छैन कि पिच कस्तो हुनुपर्छ । एक पटक खेल शुरु भएपछि पिच अम्पायरको नियन्त्रणमा जान्छ । 

यस्तो छ समीकरण
काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल खेल आज दिउँसो हुँदैछ । शीर्ष स्थानमा रहेर लिग चरण सकाएको भारत र चौथो स्थानमा रहेर सेमिफाइनलमा पुगेको  न्यूजिल्याण्ड आपसमा भिड्दै छन् । खेल वाङ्खेडेको मैदानमा दिउँसो २ः१५ बजेदेखि शुरु हुनेछ । 

अहिले तालिकाको शीर्ष स्थानमा रहेको भारत र साविक उपविजेता न्यूजिल्याण्ड भिड्न लागेका हुन् । भारत दुई पटकको विश्वकप विजेता हो भने न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन । 

भारत घरेलु मैदानमा खेलिरहेको छ भने न्यूजिल्याण्डमाथि कम्तीमा फाइनलमा पुग्ने दबाब छ । भारतले सन् २०११ पछि विश्वकप जित्न सकेको छैन भने न्यूजिल्याण्डका खेलाडीहरु आक्रामक छन् । 

भारतका लागि भरपर्दा कीर्तिमानी ब्याट्सम्यान विराट कोहली (५९४ रन) र कीर्तिमानी कप्तान रोहित शर्मा छन् भने न्यूजिल्याण्डका लागि पहिलो पटक विश्वकप खेलेका रचिन रविन्द्रले कीर्तिमानी रन बनाउँदै तीन शतक र दुई अर्धशतकसहित ५६५ रन बनाइसकेका छन् । 

बलिङतर्फ जसप्रित बुमराहले १७ विकेट लिइसकेका छन् भने रविन्द्र जडेजा र मोहम्मद शमीले १६–१६ विकेट लिएका छन् । त्यस्तै कुलदीप यादव १४ र मोहम्मद सिराजले १२ विकेट लिएका छन् । 

न्यूजिल्याण्डका मिचेल स्यान्टनरले १६ विकेट लिएका छन् । त्यस्तै ट्रेन्ट बोल्टले १३ तथा लक्कि फर्गुसनले ९ विकेट लिएका छन् । 

विश्वकपमा हेड टु हेड 
विश्वकपमा भारत भन्दा न्यूजिल्याण्ड अगाडि छ । जारी विश्वकपमा भने लिग चरणमा भारतले न्यूजिल्याण्डलाई ४ विकेटले हराएको थियो । 

अहिलेसम्म दुवैबीच ११७ एक दिवसीय भएका छन् । जसमा भारतले ५९ तथा न्यूजिल्याण्डले ५० खेल जितेको छ । ७ खेल नतिजाविहीन हुँदा एक खेल टाइ भएको थियो । 

विश्वकपमा भने आपसमा १० खेल भएको छ । जसमा न्यूजिल्याण्ड ५ खेलमा विजयी हुँदा भारतले ४ खेल जितेको छ । एक खेल भने सन् २०१९ मा वर्षाका कारण नतिजाविहीन भएको थियो । 

कस्तो छ वाङ्खेडेको मैदानको पिच ? 
यो पिच ब्याटिङका लागि उत्तम मानिन्छ । बल सही तरिकाले ब्याटमा आउने क्रिकेट पंडितहरु बताउँछन् । 

यो मैदानमा जारी विश्वकपको पाँचौँ तथा अन्तिम खेल हुँदैछ । आजको खेलमा टसले महत्वपूर्ण भूमिका खेल्न सक्छ । किनकि अहिलेसम्म भएका ४ मध्ये ३ खेलमा पहिले ब्याटिङ गर्ने टिमले जितेको छ । 

अहिलेसम्म वाङ्खेडेमा २७ एक दिवसीय खेल भएकामा पहिले ब्याटिङ गर्ने टिमले १४ खेल जितेको छ भने पछि ब्याटिङ गर्नेले १३ खेल जितेको छ । 

यो मैदानको पुरानो रेकर्ड हेर्ने हो भने यो मैदानमा सन् २०१५ मा दक्षिण अफ्रिकाले भारतविरुद्ध ४३८ रन बनाएको थियो । 

यो मैदानको सबैभन्दा कम योगफल ५५ रन हो जहाँ यसै विश्वकपमा भारतले श्रीलंकालाई ५५ रनमा रोकेको थियो । 

आज मौसम सफा रहने छ । वर्षाको सम्भावना १ प्रतिशत मात्र रहेको छ । हावाको गति ६ किलोमितर प्रतिघण्टा र तापक्रम २५ देखि ३६ डिग्री सेल्सियससम्म हुन सक्छ । 

भारतीय टिममा चिन्ता र हराउन सक्ने सम्भावना 
यो खेललाई लिएर भारतसँगै भारतीय टिमका विश्वभरका फ्यानलाई चिन्ता छ । किनकि भारतले पछिल्लो १० वर्षमा आठ ओटा मुख्य स्पर्धाका सेमिफाइनल र फाइनल हारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीका ८६ प्रतिशत लिग जिते पनि नकआउट चरणमा ८९ प्रतिशतमा भारत असफल भएको छ । 

र पनि दिपावलीका बेलामा भारतले हारेको रेकर्ड भने कमै छ । त्यसैले पनि भारतीयहरु उत्साही छन् । एकातिर टिमको विगत र अर्कातिर दिपावलीको वर्तमान । यति हुँदा पनि कसरी भारतले न्यूजिल्याण्डलाई हराउन सक्छ भनी विभिन्न अड्कल गरिएको छ । 

यो मैदानमा ब्याट्सम्यानसँगै सिम र स्विङ गर्ने बलरलाई पनि फाइदाजनक हुने क्रिकेट पंडितहरु बताइरहेका छन् । त्यस्तै दोस्रो इनिङ्समा फ्लडलाइडमा खेल्दा नयाँ बलको सामना गर्न मुस्किल हुनेसमेत बताइएको छ । फेरि रचिन रविन्द्र, मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टजस्ता खेलाडी भारतका लागि टाउको दुखाइ बनिरहेका छन् । 

कसरी भारतले हराउन सक्छ त न्यूजिल्याण्डलाई ? 

१, पहिले ब्याटिङ गर्नु उपयुक्त– खेलमा टस जित्नु अहम् मानिएको छ । र टस जित्नेले पहिले ब्याटिङ नै गर्ने पनि अनुमान भइरहेको छ । यो मैदानमा पहिले ब्याटिङ गर्नेले जारी विश्वकपमा ४ मा ३ खेल जितेका छन् । यो मैदानमा अहिलेसम्म ३३ खेल भएकामा पहिले ब्याटिङ गर्नेले १७ खेल जितेको रेकर्ड छ । 

२, चुनौती पछ्याउँदै शुरुआती १५ ओभर महत्वपूर्ण– यदि रनको चुनौती पछ्याउने हो भने शुरुआती १५ ओभर सम्हालेर खेल्दा जित्ने सम्भावना बढ्छ । यसको मुख्य कारण हो कि नयाँ बल रातिको फ्डलाइटमा खेल्न मुस्किल हुन्छ । 

३, न्यूजिल्याण्डका पाँचौँ र छैटौँ बलरमाथि दबाब बनाउनु–न्यूजिल्याण्डसँग बलरको धेरै विकल्प भए पनि चार बलर मात्र फुलटाइम हुन् । त्यसैले पाँचौँ र छैटौँ बलरलाई दबाबमा राख्ने हो भने फराकिलो योगफल खडा गर्न सजिलो हुनेछ । ग्लेन फिलिप्स र रचिन पाँचौँ र छैटौँ बलरका रुपमा आउने गर्छन् ।

४, बोल्ट र स्यान्टनरलाई विकेट नदिनु– भारतका लागि ट्रेन्ट बोल्ट र मिचेल स्यान्टनर सामु सावधानी अपनाउन सक्ने हो भने भारतलाई जितको आधार तयार हुनेछ । स्यान्टनर जारी विश्वकपका न्यूजिल्याण्डका सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले १६ विकेट लिइसकेका छन् । जसमा १५ दायाँ हाते ब्याट्सम्यान हुन् । भारतका अधिकांश ब्याटर दाया हाँते हुन् । 

विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार इडेन गार्डेनमा अष्ट्रेलियाको भिडन्त दक्षिण अफ्रिकासँग हुनेछ । दक्षिण अफ्रिका दोस्रो तथा अष्ट्रेलिया तेस्रो रहेको थियो । दुवै खेल दिउँसो २ः१५ बजे शुरु हुनेछन् । 

फाइनल खेल आगामी आइतबार १९ नोभेम्बरमा अहमदाबादमा दिउँसो २ः१५ बजे शुरु हुनेछ । 

सेमिफाइनलमा पुग्ने दुई टिम अष्ट्रेलिया र भारत पूर्व विजेता हुन् भने दक्षिण अफ्रिका र न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जितेका छैनन् । 

अष्ट्रेलिया पाँच पटकको र भारत दुई पटकको च्याम्पियन हो । 

सेमिफाइनलमा विश्वकप नजितेका दुवै टिमले जित्ने हो भने नयाँ च्याम्पियन बन्नेछ । 

वर्षा भए के हुन्छ ?
अहिलेसम्म केही खेलमा मात्र वर्षाले असर गरेको छ । डक वर्थ लेविस नियमानुसार खेल सम्भव भएको छ । तर सेमिफाइनल र फाइनलमा वर्षा भए के हुन्छ ? 

सेमिफाइनलको नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ । 

यदि सेमिफाइनलमा एक दिनमा खेल पूरा भएन भने अर्को दिन जहाँ रोकिएको थियो त्यहीँबाट अगाडि बढ्ने छ । 

रिजर्भ डे मा पनि खेल पूरा हुन सकेन भने लिग चरणको अंक तालिकाका आधारमा विजेता घोषित गरिने छ । 

यदि भारत र न्यूजिल्याण्डबीचको खेल सम्भव भएन भने अंकका आधारमा भारत फाइनलमा पुग्नेछ । 

त्यसैगरी अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल पूरा हुन नसके अंकका आधारमा दक्षिण अफ्रिका फाइनलमा पुग्नेछ । 

लिग चरणको अंक तालिका–
९ खेलबाट १८ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ९ खेलबाट १४ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । 

९ खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । ८ खेलबाट १० अंकसहित न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ । पाकिस्तान ९ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा रह्यो । 

अफगानिस्तान ९ खेलबाट ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । इङ्गल्याण्ड ९ खेलबाट ६ अंकसहित सातौँ स्थानमा रहेको छ । 

बंगलादेश ९ खेलबाट ४ अंकसहित आठौँ स्थानमा रहेको छ । श्रीलंका ९ खेलबाट ४ अंकसहित नवौँ स्थानमा रहेको छ । 

नेदरल्याण्ड्स ९ खेलबाट ४ अंकसहित पुछारमा रहेको छ । 

लिग चरणका सबै ४५ खेलको नतिजा 
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो । 

–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।

–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।

–२२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्यो । पाकिस्तानलाई अफगानिस्तानले ८ विकेटले हराएको हो ।

–२३ औँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकाले लगातार सात खेलमा तीन सय रन बनाउने क्रममा ५ विकेटको क्षतिमा ३८२ रन बनायो । क्विन्टन डे ककले सर्वाधिक १७४ रन बनाए ।

–२४ औँ खेलमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनले हरायो । यो विश्वकपको अहिलेसम्मकै फराकिलो अन्तरको जित हो । ३९९ रन बनाएको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४० बलमा सय रन बनाएर कीर्तिमान राखे । डेभिड वार्नरले ६ शतक प्रहार गरेर कीर्तिमान रचे ।

–२५ औँ खेलमा श्रीलंकाले इङ्गल्याण्डलाई ८ विकेटले हरायो । इङ्गल्याण्डले मात्र १५६ रन बनाएको खेलमा दुवै गरी मात्र ५९ ओभरको खेल भएको थियो । 

–२६ औँ खेलमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाले सनसनीपूर्ण जित हासिल गर्यो । दक्षिण अफ्रिकाले एक विकेटको जित हासिल गरेको हो ।

–२७ औँ खेलमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई पाँच रनले हरायो । ३८९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले ९ विकेटको क्षतिमा २८३ रन बनाउन सक्यो । रचिन रविन्द्रले ८९ बलमा ११६ रन बनाए । अष्ट्रेलियाका ट्राभिस हेडले ६७ बला १०९ रन बनाए ।

–२८ औँ खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेदरल्याण्ड्सले २२९ रन बनाएकामा ४२.२ ओभरमात्र क्रिजमा टिकेर १४२ रन बनाउन सक्यो ।  

–२९ औँ खेलमा भारत विजयी भएको छ । भारतले इङ्गल्याण्डलाई सय रनले हराएको हो । भारतले ९ विकेटको क्षतिमा २२९ रन बनाएकामा इङ्गल्याण्डले ३४.५ ओभरमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो ।

–३० औँ खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले हरायो । श्रीलंकाले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २४१ रन बनाएकामा अफगानिस्तानले ४५.२ ओभरमै ३ विकेट गुमाएर जित हासिल गरेको हो ।

–३१ औँ खेलमा पाकिस्तान विजयी भएको छ । इडन गार्डेनमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको हो । 

–३२ औँ खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डमाथि १९० रनको फराकिलो जित हासिल गरेको छ । ३५८ रनको विशाल चुनौती पछ्याएको न्यूजिल्याण्डले ३५.३ ओभरमा अलआउट हुँदै १६७ रनमात्र बनाउन सक्यो ।

–३३ औँ खेलमा भारतले श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । भारतले ३५७ रन बनाएकामा श्रीलंका वानखेडे स्टेडियममा ५५ रनमा समेटियो । भारतको विश्वकपमा यो नै सबैभन्दा फराकिलो रन अन्तरको जित हो । विश्वकपमा यो दोस्रो ठूलो अन्तरको जित हो । यसै विश्वकपमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको अन्तरले हराएको थियो । समग्र एक दिवसीयमा भारतको यो चौथो फराकिलो अन्तरको जित हो । भारतले श्रीलंकामाथि नै सन् २०२३ को जनवरीमा हासिल गरेको ३१७ रनको जित अहिलेसम्मकै विश्वकै सर्वाधिक रनको अन्तरको कीर्तिमानी जित हो । 

–३४ औँ खेलमा अफगानिस्तानले नेदरल्याण्ड्समाथि ७ विकेटको जित हासिल गर्यो । नेदरल्याण्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै १७९ रन बनायो । जवाफमा अफगानिस्तानले ३१.३ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो ।

–३५ औँ खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई डक वर्थ लेविस नियमअनुसार २१ रनले पराजित गरेको छ । बेंगलुरुमा भएको खेलमा पाकिस्तानले ४०२ रनको फराकिलो चुनौती पछ्याइरहँदा वर्षाले खेल अवरुद्ध भएसँगै २५.३ ओभरमा १ विकेट गुमाएर २०० रन बनाएको पाकिस्तान २१ रनले विजयी भएको हो । 

–३६ औँ खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाले चिरपरिचित प्रतिद्वन्द्वी इङ्गल्याण्डलाई ३३ रनले हराएको हो । 

–३७ औँ खेलमा भारतले दक्षिण अफ्रिकामाथि २४३ रनको फराकिलो जित हासिल गरेको छ । ३२७ रनको चुनौती दिएकामा दक्षिण अफ्रिकाले २७.१ ओभरमा अलआउट हुँदै केवल ८३ रनमात्र बनाउन सक्यो । भारतका विराट कोहलीले शतक बनाए । रविन्द्र जडेजाले ५ विकेट लिए । 

–३८ औँ खेलमा बंगलादेश विजयी भएको छ । दिल्लीमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हरायो । 

–३९ औँ खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गर्यो । ग्लेन म्याक्सवेलको म्याक्सवेलले १२८ बलमा १० छक्का र २१ चौकाको मद्धतले अविजित रहँदै २०१ रन बनाए । विश्वकपमा यो पहिलो दोहोरो शतक हो । आठौँ विकेटका लागि म्याक्सवेल र पाट कमिन्सबीच २०२ रनको साझेदारी भएको थियो । खेलमा अब्राहिम जद्रानले विश्वकपमा पहिलो शतक प्रहार गरेका थिए ।

–४० औँ खेलमा साविक विजेता इङ्गल्याण्ड विजयी भएको छ । पुनेमा भएको खेलमा इङ्गल्याण्डले नेदरल्याण्ड्सलाई १६० रनले पराजित गर्यो । 

–४१ औँ खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हरायो । श्रीलंकाका कुसल परेराले २२ बलमा अर्धशतक पूरा गरे । यो जारी विश्वकपको सबैभन्दा कम बलमा भएको अर्धशतक हो । त्यस्तै न्यूजिल्याण्डका रचिन रविन्द्र डेब्यु विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भएका छन् । उनले ५६५ रन बनाइसकेका छन् । 

–४२ औँ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । दक्षिण अफ्रिकाले जाइन्ट किलर अफगानिस्तानलाई ५ विकेटले हराएको हो । 

–४३ औँ खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गर्यो । पुनेमा भएको खेलमा ३०७ रनको चुनौती अष्ट्रेलियाले ४४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । मिचेल मार्शले १३२ बलमा अविजित रहँदै १७७ रन बनाए । 

–४४ औँ खेलमा पाकिस्तान इङ्गल्याण्डसँग पराजित भएको छ । इडेन गार्डेनमा अविश्वसनीय जित हासिल गरेमात्र सेमिफाइनलमा पुग्ने पाकिस्तान उल्टै ९३ रनको फराकिलो हार बेहोर्यो ।  

–४५ औँ तथा लिग चरणको अन्तिम खेलमा भारतले बेंगलुरुको एन चिन्नास्वामी स्टेडियममा नेदरल्याण्ड्सलाई १६० रनले हरायो । ४११ रनको चुनौती पछ्याएको नेदरल्याण्ड्सले ४७.५ ओभरमा सबै विकेट गुमाएर २५० रन बनायो । तेजा निदामनुरूले सर्वाधिक ५४ रन बनाएको इनिङ्समा भारतका लागि मोहम्मद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले समान २–२ विकेट लिए । कप्तान रोहित शर्मा र विराट कोहलीले १–१ विकेट लिए । विश्वकपमा कोहलीको यो पहिलो विकेट हो । योसँगै भारतले लिग चरणका सबै खेल जितेको छ । भारत एकमात्र यस्तो टिम हो जसले जारी विश्वकपमा कुनै हार बेहोरेको छैन । नेदरल्याण्ड्सविरुद्ध विभिन्न कीर्तिमान बनाउने क्रममा भारतले विश्वकपमा दोस्रो पटक चार सय भन्दा बढी रन बनायो । यसअघि बर्मुडाविरुद्ध ४१३ रन बनाएको भारतले नेदरल्याण्ड्सविरुद्ध ४ विकेटको क्षतिमा ४१० रन बनायो । सोक्रममा भारतले विरलै तोडिने कीर्तिमान पनि रचेको छ । भारतका शुरुआती पाँच ब्याट्सम्यानले ५० बढी रन बनाएर कीर्तिमान रचेका छन् । भारतका लागि कप्तान रोहित शर्मा, शुबमन गिल, विराट कोहली, श्रृेयस ऐयर र केएल राहुलले ५० बढी रन बनाएर कीर्तिमान रचेका हुन् । अहिलेसम्म विश्वकपमा यो रेकर्ड बनेको थिएन । सो क्रममा ऐयर र राहुलले शतक पनि पूरा गरेका छन् । दुवैको विश्वकपमा पहिलो शतक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ