arrow

भारतलाई हराउन न्यूजिल्याण्ड ३९८ रनको चुनौती पछ्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २९ बुधबार
kohli-iyer.jpg

काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा विजय हासिल गर्नका लागि भारतले न्यूजिल्याण्डलाई ३९८ रनको चुनौती दिएको छ । 

मुम्बईको वाङ्खेडे मैदानमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा ३९७ रन बनायो । भारतका लागि विराट कोहलीले ११३ बलमा ११७, श्रेयस ऐयरले ७० बलमा १०५, शुबमन गिलले ६६ बलमा अविजित रहँदै ८०, रोहित शर्माले २९ बलमा ४७ तथा केएल राहुलले २० बलमा अविजित रहँदै ३९ रन बनाए । 

कोहलीको कीर्तिमानः विराट कोहली एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी शतक बनाउने खेलाडी भएका छन् । न्यूजिल्याण्डविरुद्ध शतक बनाउँदै विराट सबैभन्दा बढी ५० शतक बनाउने खेलाडी बनेका हुन् । 

उनले भारतीय लिटिल मास्टर सचिन तेन्दुलकरको रेकर्ड तोडेका हुन् । १२ वर्षसम्म सचिनको नाममा ४९ शतकको कीर्तिमान रहेको थियो । तर कोहलीले लगातार शतक प्रहार गर्दै सचिनलाई उछिनेका हुन् । 

उनले विश्वकपको एकै संस्करणमा ५० रन भन्दा बढी आठ पटक पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् । यसअघि सचिन र बंगलादेशी खेलाडी शकिब अल हसनको नाममा ७–७ वटा ५० रन भन्दा माथिको रेकर्ड थियो । 

त्यस्तै विश्वकपको एकै संस्करणमा सबैभन्दा बढी रन बनाउने रेकर्ड पनि कोहलीले राखेका छन् । उनले २० वर्षअघि सचिनले राखेको कीर्तिमान तोडेका हुन् । सचिनले सन् २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए । कोहलीले उक्त रेकर्ड पनि आफ्नो नाममा लेखाएका छन् । कोहलीले ७११ रन बनाइसकेका छन् । 

कोहलीले एक दिवसीयमा सबैभन्दा बढी ५० प्लस रन बनाउने कीर्तिमानमा पनि दोस्रो स्थान हासिल गरेका छन् । कोहलीले श्रीलंकाली खेलाडी कुमार सांगाकाराको नाममा रहेको २१६ पटक ५० प्लस रनको कीर्तिमान तोडेर २१७ पटक यो कीर्तिमान राखेका हुन् । यो मामलामा शीर्ष स्थानमा भने सचिन नै रहेका छन् । सचिनले २६४ पटकको कीर्तिमान बनाएका छन् । 

विराट एक दिवसीयमा सर्वाधिक रन बनाउने मामलामा तेस्रो स्थानमा पुगेका छन् । उनले अष्ट्रेलियाका खेलाडी रिक्की पोन्टिङको नाममा रहेको १३ हजार ७०४ रन पार गरेका हुन् । 

दोस्रो स्थानमा रहेका सांगाकाराको १४ हजार २३४ रन छ भने सचिनको नाममा १८ हजार ४२६ रन रहेको छ । 

विराट विश्वकपको एकै सिजनमा ६०० बढी रन बनाउने तेस्रो भारतीय पनि हुन् । यसअघि सचिन र रोहित शर्माले यो रेकर्ड बनाएका थिए ।

रोहितको कीर्तिमानः रोहितले ४ छक्का र ४ चौकाको मद्धतले उक्त योगफल बनाएका हुन् । कीर्तिमानका खानी रोहितले विश्वकपको एकै सिजनमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । 

उनले अहिलेसम्म २८ छक्का बनाइसकेका छन् । रोहितले वेष्ट इन्डिजका खेलाडी क्रिस गेलको कीर्तिमान तोडेका हुन् । गेलले सन् २०१५ को विश्वकपमा २६ छक्काको कीर्तिमान बनाएका थिए । रोहितले विश्वकपमा मात्रै ५१ छक्का हानिसकेका छन् । रोहितले कूल छक्कामा पनि गेलको कीर्तिमान तोडेका छन् । गेलले ४९ छक्का बनाएका थिए । 

रोहितले २०१५, २०१९ र अहिलेको विश्वकप खेलिरहेका छन् । रोहित पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी पनि बनेका छन् । उनले पावर प्लेमा १९ छक्का हानेका छन् । उनले न्यूजिल्याण्डका कप्तान ब्रेन्डन म्याकमुलमको १७ छक्काको कीर्तिमान तोडेका हुन् । 

डेब्यु विश्वकपमा ऐयरले लगातार दोस्रो शतक बनाए । डेब्यु विश्वकप खेलिरहेका गिलले चार अर्धशतक बनाएका छन् । 

न्यूजिल्याण्डका लागि टिम साउथीले ३ विकेट लिए ।

शीर्ष स्थानमा रहेर लिग चरण सकाएको भारत र चौथो स्थानमा रहेर सेमिफाइनलमा पुगेको न्यूजिल्याण्ड आपसमा भिडिरहेका हुन् ।  

भारत दुई पटकको विश्वकप विजेता हो भने न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन । न्यूजिल्याण्ड साविक उपविजेता हो । 

भारत घरेलु मैदानमा खेलिरहेको छ भने न्यूजिल्याण्डमाथि कम्तीमा फाइनलमा पुग्ने दबाब छ । भारतले सन् २०११ पछि विश्वकप जित्न सकेको छैन भने न्यूजिल्याण्डका खेलाडीहरु आक्रामक छन् । 

विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार इडेन गार्डेनमा अष्ट्रेलियाको भिडन्त दक्षिण अफ्रिकासँग हुनेछ । दक्षिण अफ्रिका दोस्रो तथा अष्ट्रेलिया तेस्रो रहेको थियो । दुवै खेल दिउँसो २ः१५ बजे शुरु हुनेछन् । 

फाइनल खेल आगामी आइतबार १९ नोभेम्बरमा अहमदाबादमा दिउँसो २ः१५ बजे शुरु हुनेछ । 

सेमिफाइनलमा पुग्ने दुई टिम अष्ट्रेलिया र भारत पूर्व विजेता हुन् भने दक्षिण अफ्रिका र न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जितेका छैनन् । 

अष्ट्रेलिया पाँच पटकको र भारत दुई पटकको च्याम्पियन हो । 

सेमिफाइनलमा विश्वकप नजितेका दुवै टिमले जित्ने हो भने नयाँ च्याम्पियन बन्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ