arrow

एक दिवसीय विश्वकप क्रिकेट

भारत विश्वकपको फाइनलमा, न्यूजिल्याण्ड ७० रनले पराजित

कीर्तिमानी कोहली, ऐयर र मिचेलको शतक, शमीले लिए सात विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २९ बुधबार
mohammad-shami-2023-11-15.jpg
तस्बिर – सातौँ विकेट लिएपछि मोहम्मद शमी ।

काठमाडौँ । भारत एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । मुम्बईको वाङ्खेडे मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डमाथि ७० रनको जित हासिल गर्दै भारत फाइनलमा पुगेको हो ।

भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो । यसअघि सन् १९८३ र २०११ मा उपाधि जितेको थियो भने सन् २००३ मा फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो । यो जितसँगै भारतले सन् २०१९ को सेमिफाइनलमा न्यूजिल्याण्डसँग भोगेको हारको पनि बदला लिएको छ । 

३९८ रनको चुनौती लिएर मैदानमा उत्रिएको न्यूजिल्याण्डले ४८.५ ओभरमा अलआउट हुँदै ३२७ रन बनायो । 

न्यूजिल्याण्डका लागि ड्यारेल मिचेलले ११९ बलमा १३४ रन बनाए । त्यस्तै मिचेलसँग तेस्रो विकेटका लागि १८१ रनको साझेदारी गर्ने क्रममा कप्तान केन विलियमसनले ७३ बलमा ६९ र बनाए । 

मोहम्मद शमीको रेकर्डः

भारतका लागि मोहम्मद शमीले सर्वाधिक ७ विकेट लिए । शमीले जारी विश्वकपमा तेस्रो पटक ५ देखि माथि विकेट लिएका हुन् । उनी विश्वकपमा मात्र हैन एक दिवसीयको एकै खेलमा ७ विकेट लिने पहिलो भारतीय खेलाडी हुन् । यसअघि आशिष नेहराले ६ विकेट लिएका थिए । 

शमीले विश्वकपमा छिटो ५० विकेट लिने खेलाडी पनि बनेका छन् । उनले १७ खेलमा ५० विकेट लिएका हुन् । यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कका नाममा १९ खेलमा ५० विकेट लिएको यो कीर्तिमान थियो । 

जारी विश्वकपमा २३ विकेट लिइसकेका छन् । यो संख्या अहिलेसम्म कुनै पनि भारतीयले छुन सकेका थिएनन् । 

उनले विश्वकपको एकै खेलमा ४ वा त्यो भन्दा बढी विकेट ८ पटक लिइसकेका छन् । यो कीर्तिमान बनाउने उनी एक्लो हुन् । अष्ट्रेलियाका मिचेल स्टार्कले ६ पटकमात्र यो आँकडा छोएका छन् । 

शमी जारी विश्वकपमा सबैभन्दा बढी विकेट लिने खेलाडीसमेत बनेका छन् । 

अष्ट्रेलियाका एडम जम्पाले २२ विकेट लिएका छन् । 

यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा ३९७ रन बनायो । भारतका लागि विराट कोहलीले ११३ बलमा ११७, श्रेयस ऐयरले ७० बलमा १०५, शुबमन गिलले ६६ बलमा अविजित रहँदै ८०, रोहित शर्माले २९ बलमा ४७ तथा केएल राहुलले २० बलमा अविजित रहँदै ३९ रन बनाए । 

कोहलीको कीर्तिमानः विराट कोहली एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी शतक बनाउने खेलाडी भएका छन् । न्यूजिल्याण्डविरुद्ध शतक बनाउँदै विराट सबैभन्दा बढी ५० शतक बनाउने खेलाडी बनेका हुन् । 

उनले भारतीय लिटिल मास्टर सचिन तेन्दुलकरको रेकर्ड तोडेका हुन् । १२ वर्षसम्म सचिनको नाममा ४९ शतकको कीर्तिमान रहेको थियो । तर कोहलीले लगातार शतक प्रहार गर्दै सचिनलाई उछिनेका हुन् । 

उनले विश्वकपको एकै संस्करणमा ५० रन भन्दा बढी आठ पटक पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् । यसअघि सचिन र बंगलादेशी खेलाडी शकिब अल हसनको नाममा ७–७ वटा ५० रन भन्दा माथिको रेकर्ड थियो । 

त्यस्तै विश्वकपको एकै संस्करणमा सबैभन्दा बढी रन बनाउने रेकर्ड पनि कोहलीले राखेका छन् । उनले २० वर्षअघि सचिनले राखेको कीर्तिमान तोडेका हुन् । सचिनले सन् २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए । कोहलीले उक्त रेकर्ड पनि आफ्नो नाममा लेखाएका छन् । कोहलीले ७११ रन बनाइसकेका छन् । 

कोहलीले एक दिवसीयमा सबैभन्दा बढी ५० प्लस रन बनाउने कीर्तिमानमा पनि दोस्रो स्थान हासिल गरेका छन् । कोहलीले श्रीलंकाली खेलाडी कुमार सांगाकाराको नाममा रहेको २१६ पटक ५० प्लस रनको कीर्तिमान तोडेर २१७ पटक यो कीर्तिमान राखेका हुन् । यो मामलामा शीर्ष स्थानमा भने सचिन नै रहेका छन् । सचिनले २६४ पटकको कीर्तिमान बनाएका छन् । 

विराट एक दिवसीयमा सर्वाधिक रन बनाउने मामलामा तेस्रो स्थानमा पुगेका छन् । उनले अष्ट्रेलियाका खेलाडी रिक्की पोन्टिङको नाममा रहेको १३ हजार ७०४ रन पार गरेका हुन् । 

दोस्रो स्थानमा रहेका सांगाकाराको १४ हजार २३४ रन छ भने सचिनको नाममा १८ हजार ४२६ रन रहेको छ । 

विराट विश्वकपको एकै सिजनमा ६०० बढी रन बनाउने तेस्रो भारतीय पनि हुन् । यसअघि सचिन र रोहित शर्माले यो रेकर्ड बनाएका थिए ।

रोहितको कीर्तिमानः रोहितले ४ छक्का र ४ चौकाको मद्धतले उक्त योगफल बनाएका हुन् । कीर्तिमानका खानी रोहितले विश्वकपको एकै सिजनमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । 

उनले अहिलेसम्म २८ छक्का बनाइसकेका छन् । रोहितले वेष्ट इन्डिजका खेलाडी क्रिस गेलको कीर्तिमान तोडेका हुन् । गेलले सन् २०१५ को विश्वकपमा २६ छक्काको कीर्तिमान बनाएका थिए । रोहितले विश्वकपमा मात्रै ५१ छक्का हानिसकेका छन् । रोहितले कूल छक्कामा पनि गेलको कीर्तिमान तोडेका छन् । गेलले ४९ छक्का बनाएका थिए । 

रोहितले २०१५, २०१९ र अहिलेको विश्वकप खेलिरहेका छन् । रोहित पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी पनि बनेका छन् । उनले पावर प्लेमा १९ छक्का हानेका छन् । उनले न्यूजिल्याण्डका कप्तान ब्रेन्डन म्याकमुलमको १७ छक्काको कीर्तिमान तोडेका हुन् । 

डेब्यु विश्वकपमा ऐयरले लगातार दोस्रो शतक बनाए । डेब्यु विश्वकप खेलिरहेका गिलले चार अर्धशतक बनाएका छन् । 

न्यूजिल्याण्डका लागि टिम साउथीले ३ विकेट लिए । 

भारत दुई पटकको विश्वकप विजेता हो भने न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन । न्यूजिल्याण्ड साविक उपविजेता हो । 

विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार इडेन गार्डेनमा अष्ट्रेलियाको भिडन्त दक्षिण अफ्रिकासँग हुनेछ । दक्षिण अफ्रिका दोस्रो तथा अष्ट्रेलिया तेस्रो रहेको थियो । दुवै खेल दिउँसो २ः१५ बजे शुरु हुनेछन् । 

फाइनल खेल आगामी आइतबार १९ नोभेम्बरमा अहमदाबादमा दिउँसो २ः१५ बजे शुरु हुनेछ । 

लिग चरणको अंक तालिका–
९ खेलबाट १८ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ९ खेलबाट १४ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । 

९ खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । ८ खेलबाट १० अंकसहित न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ । पाकिस्तान ९ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा रह्यो । 

अफगानिस्तान ९ खेलबाट ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । इङ्गल्याण्ड ९ खेलबाट ६ अंकसहित सातौँ स्थानमा रहेको छ । 

बंगलादेश ९ खेलबाट ४ अंकसहित आठौँ स्थानमा रहेको छ । श्रीलंका ९ खेलबाट ४ अंकसहित नवौँ स्थानमा रहेको छ । 

नेदरल्याण्ड्स ९ खेलबाट ४ अंकसहित पुछारमा रहेको छ । 

लिग चरणका सबै ४५ खेलको नतिजा 
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो । 

–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।

–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।

–२२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्यो । पाकिस्तानलाई अफगानिस्तानले ८ विकेटले हराएको हो ।

–२३ औँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकाले लगातार सात खेलमा तीन सय रन बनाउने क्रममा ५ विकेटको क्षतिमा ३८२ रन बनायो । क्विन्टन डे ककले सर्वाधिक १७४ रन बनाए ।

–२४ औँ खेलमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनले हरायो । यो विश्वकपको अहिलेसम्मकै फराकिलो अन्तरको जित हो । ३९९ रन बनाएको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४० बलमा सय रन बनाएर कीर्तिमान राखे । डेभिड वार्नरले ६ शतक प्रहार गरेर कीर्तिमान रचे ।

–२५ औँ खेलमा श्रीलंकाले इङ्गल्याण्डलाई ८ विकेटले हरायो । इङ्गल्याण्डले मात्र १५६ रन बनाएको खेलमा दुवै गरी मात्र ५९ ओभरको खेल भएको थियो । 

–२६ औँ खेलमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाले सनसनीपूर्ण जित हासिल गर्यो । दक्षिण अफ्रिकाले एक विकेटको जित हासिल गरेको हो ।

–२७ औँ खेलमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई पाँच रनले हरायो । ३८९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले ९ विकेटको क्षतिमा २८३ रन बनाउन सक्यो । रचिन रविन्द्रले ८९ बलमा ११६ रन बनाए । अष्ट्रेलियाका ट्राभिस हेडले ६७ बला १०९ रन बनाए ।

–२८ औँ खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेदरल्याण्ड्सले २२९ रन बनाएकामा ४२.२ ओभरमात्र क्रिजमा टिकेर १४२ रन बनाउन सक्यो ।  

–२९ औँ खेलमा भारत विजयी भएको छ । भारतले इङ्गल्याण्डलाई सय रनले हराएको हो । भारतले ९ विकेटको क्षतिमा २२९ रन बनाएकामा इङ्गल्याण्डले ३४.५ ओभरमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो ।

–३० औँ खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले हरायो । श्रीलंकाले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २४१ रन बनाएकामा अफगानिस्तानले ४५.२ ओभरमै ३ विकेट गुमाएर जित हासिल गरेको हो ।

–३१ औँ खेलमा पाकिस्तान विजयी भएको छ । इडन गार्डेनमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको हो । 

–३२ औँ खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डमाथि १९० रनको फराकिलो जित हासिल गरेको छ । ३५८ रनको विशाल चुनौती पछ्याएको न्यूजिल्याण्डले ३५.३ ओभरमा अलआउट हुँदै १६७ रनमात्र बनाउन सक्यो ।

–३३ औँ खेलमा भारतले श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । भारतले ३५७ रन बनाएकामा श्रीलंका वानखेडे स्टेडियममा ५५ रनमा समेटियो । भारतको विश्वकपमा यो नै सबैभन्दा फराकिलो रन अन्तरको जित हो । विश्वकपमा यो दोस्रो ठूलो अन्तरको जित हो । यसै विश्वकपमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको अन्तरले हराएको थियो । समग्र एक दिवसीयमा भारतको यो चौथो फराकिलो अन्तरको जित हो । भारतले श्रीलंकामाथि नै सन् २०२३ को जनवरीमा हासिल गरेको ३१७ रनको जित अहिलेसम्मकै विश्वकै सर्वाधिक रनको अन्तरको कीर्तिमानी जित हो । 

–३४ औँ खेलमा अफगानिस्तानले नेदरल्याण्ड्समाथि ७ विकेटको जित हासिल गर्यो । नेदरल्याण्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै १७९ रन बनायो । जवाफमा अफगानिस्तानले ३१.३ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो ।

–३५ औँ खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई डक वर्थ लेविस नियमअनुसार २१ रनले पराजित गरेको छ । बेंगलुरुमा भएको खेलमा पाकिस्तानले ४०२ रनको फराकिलो चुनौती पछ्याइरहँदा वर्षाले खेल अवरुद्ध भएसँगै २५.३ ओभरमा १ विकेट गुमाएर २०० रन बनाएको पाकिस्तान २१ रनले विजयी भएको हो । 

–३६ औँ खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाले चिरपरिचित प्रतिद्वन्द्वी इङ्गल्याण्डलाई ३३ रनले हराएको हो । 

–३७ औँ खेलमा भारतले दक्षिण अफ्रिकामाथि २४३ रनको फराकिलो जित हासिल गरेको छ । ३२७ रनको चुनौती दिएकामा दक्षिण अफ्रिकाले २७.१ ओभरमा अलआउट हुँदै केवल ८३ रनमात्र बनाउन सक्यो । भारतका विराट कोहलीले शतक बनाए । रविन्द्र जडेजाले ५ विकेट लिए । 

–३८ औँ खेलमा बंगलादेश विजयी भएको छ । दिल्लीमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हरायो । 

–३९ औँ खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गर्यो । ग्लेन म्याक्सवेलको म्याक्सवेलले १२८ बलमा १० छक्का र २१ चौकाको मद्धतले अविजित रहँदै २०१ रन बनाए । विश्वकपमा यो पहिलो दोहोरो शतक हो । आठौँ विकेटका लागि म्याक्सवेल र पाट कमिन्सबीच २०२ रनको साझेदारी भएको थियो । खेलमा अब्राहिम जद्रानले विश्वकपमा पहिलो शतक प्रहार गरेका थिए ।

–४० औँ खेलमा साविक विजेता इङ्गल्याण्ड विजयी भएको छ । पुनेमा भएको खेलमा इङ्गल्याण्डले नेदरल्याण्ड्सलाई १६० रनले पराजित गर्यो । 

–४१ औँ खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हरायो । श्रीलंकाका कुसल परेराले २२ बलमा अर्धशतक पूरा गरे । यो जारी विश्वकपको सबैभन्दा कम बलमा भएको अर्धशतक हो । त्यस्तै न्यूजिल्याण्डका रचिन रविन्द्र डेब्यु विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भएका छन् । उनले ५६५ रन बनाइसकेका छन् । 

–४२ औँ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । दक्षिण अफ्रिकाले जाइन्ट किलर अफगानिस्तानलाई ५ विकेटले हराएको हो । 

–४३ औँ खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गर्यो । पुनेमा भएको खेलमा ३०७ रनको चुनौती अष्ट्रेलियाले ४४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । मिचेल मार्शले १३२ बलमा अविजित रहँदै १७७ रन बनाए । 

–४४ औँ खेलमा पाकिस्तान इङ्गल्याण्डसँग पराजित भएको छ । इडेन गार्डेनमा अविश्वसनीय जित हासिल गरेमात्र सेमिफाइनलमा पुग्ने पाकिस्तान उल्टै ९३ रनको फराकिलो हार बेहोर्यो ।  

–४५ औँ तथा लिग चरणको अन्तिम खेलमा भारतले बेंगलुरुको एन चिन्नास्वामी स्टेडियममा नेदरल्याण्ड्सलाई १६० रनले हरायो । ४११ रनको चुनौती पछ्याएको नेदरल्याण्ड्सले ४७.५ ओभरमा सबै विकेट गुमाएर २५० रन बनायो । तेजा निदामनुरूले सर्वाधिक ५४ रन बनाएको इनिङ्समा भारतका लागि मोहम्मद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले समान २–२ विकेट लिए । कप्तान रोहित शर्मा र विराट कोहलीले १–१ विकेट लिए । विश्वकपमा कोहलीको यो पहिलो विकेट हो । योसँगै भारतले लिग चरणका सबै खेल जितेको छ । भारत एकमात्र यस्तो टिम हो जसले जारी विश्वकपमा कुनै हार बेहोरेको छैन । नेदरल्याण्ड्सविरुद्ध विभिन्न कीर्तिमान बनाउने क्रममा भारतले विश्वकपमा दोस्रो पटक चार सय भन्दा बढी रन बनायो । यसअघि बर्मुडाविरुद्ध ४१३ रन बनाएको भारतले नेदरल्याण्ड्सविरुद्ध ४ विकेटको क्षतिमा ४१० रन बनायो । सोक्रममा भारतले विरलै तोडिने कीर्तिमान पनि रचेको छ । भारतका शुरुआती पाँच ब्याट्सम्यानले ५० बढी रन बनाएर कीर्तिमान रचेका छन् । भारतका लागि कप्तान रोहित शर्मा, शुबमन गिल, विराट कोहली, श्रृेयस ऐयर र केएल राहुलले ५० बढी रन बनाएर कीर्तिमान रचेका हुन् । अहिलेसम्म विश्वकपमा यो रेकर्ड बनेको थिएन । सो क्रममा ऐयर र राहुलले शतक पनि पूरा गरेका छन् । दुवैको विश्वकपमा पहिलो शतक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ