arrow

अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले अवरुद्ध, के हुन्छ खेल पूरा नभए 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
worldcup-2023-aus-sa.jpg

काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अहिले अष्ट्रेलिया र दक्षिण अफ्रिका खेलिरहेका छन् ।  

इडेन गार्डेनमा टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गरेको छ । १४ ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाउँदा वर्षाले खेल अवरुद्ध भएको छ । 

दक्षिण अफ्रिकाले निराशाजनक शुरुआत गरेको हो । क्विन्टन डे कक ३, कप्तान टेम्बा बभुमा ०, रस्सि भान डेर डुसेन ६ तथा आइडेन मार्करम १० रन बनाएर आउट भए । हेन्रिच क्लासेन र डेभिड मिलर समान १० रन बनाएर अविजित छन् । 

मिचेल स्टार्च र जोश हाज्लेवुडले समान २–२ विकेट लिएका छन् । 

दक्षिण अफ्रिका लिग चरणको दोस्रो तथा अष्ट्रेलिया तेस्रो भएर सेमिफाइनलमा पुगेको हो । अष्ट्रेलिया पाँच पटकको विश्वकप विजेता हो भने दक्षिण अफ्रिकाले अहिलेसम्म उपाधि जित्न सकेको छैन । 

हेड टु हेड 
दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको एक दिवसीय क्रिकेट निकै नै रोमाञ्चक हुने गर्दछ । अहिलेसम्म दुवैले आपसमा १०९ खेल खेलेका छन् । 

जसमा अष्ट्रेलियाले ५० खेल जितेको छ भने दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ । ३ खेलमा टाइ भएको छ भने एक खेल नतिजाविहीन भएको छ । त्यस्तै तटस्थ भेन्युमा अष्ट्रेलियाले ९ तथा दक्षिण अफ्रिकाले ८ खेल जितेको छ । 

विश्वकपमा दुवैले आपसमा ७ खेल खेलिसकेका छन् । जसमा दुवैले समान ३ पटक खेल जितेका छन् । एक खेल टाइ भएको थियो । 

यो अर्थमा पनि भारतीय भूमिमा दुवैबीच कडा टक्कर हुने अनुमान गरिएको छ । तर जारी विश्वकपमा भने दक्षिण अफ्रिका हावी भएको छ । 

लिग चरणमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

विजेताले फाइनलमा भारतसँग खेल्नेछ  । भारतले बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७० रनले पराजित गर्यो ।  

फाइनल खेल आगामी आइतबार अहमदाबादमा दिउँसो २ः१५ बजे शुरु हुनेछ । 

वर्षा भए के हुन्छ ?
सेमिफाइनलको नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ । 

यदि सेमिफाइनलमा एक दिनमा खेल पूरा भएन भने अर्को दिन जहाँ रोकिएको थियो त्यहीँबाट अगाडि बढ्ने छ । 

रिजर्भ डे मा पनि खेल पूरा हुन सकेन भने लिग चरणको अंक तालिकाका आधारमा विजेता घोषित गरिने छ । 

अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल पूरा हुन नसके अंकका आधारमा दक्षिण अफ्रिका फाइनलमा पुग्नेछ । दक्षिण अफ्रिका दोस्रो तथा अष्ट्रेलिया तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ