arrow

मिलरको एकल प्रदर्शनमा दक्षिण अफ्रिकाले दियो अष्ट्रेलियालाई २१३ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
worlducp-2023-david-miller.jpg

काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अहिले अष्ट्रेलिया र दक्षिण अफ्रिका खेलिरहेका छन् ।  

इडेन गार्डेनमा जारी खेलमा जितका लागि दक्षिण अफ्रिकाले २१३ रनको चुनौती दिएको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २१२ रन बनाउन सक्यो ।

२४ रन जोड्दा ४ विकेट गुमाएर निकै नै कमजोर देखिएको दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले एकल प्रदर्शन गरे । उनले ११६ बलको सामना गर्दै १०१ रन बनाए । उनले विश्वकपको कुनै पनि नकआउट चरणमा बनाएको यो दक्षिण अफ्रिकाका लागि कीर्तिमानी शतक हो । यसअघि कसैले पनि शतक बनाउन सकेका थिएनन् । 

त्यस्तै हेन्रिच क्लासेनले ४८ बलमा ४७ रन जोडे । जेराल्ड कोट्जीले १९ रन बनाए । दक्षिण अफ्रिकाले १४ ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाउँदा वर्षाले खेल अवरुद्ध भएकामा केही समयमै वर्षा रोकिएसँगै पुनः खेल अगाडि बढेको थियो । 

मिचेल स्टार्चले  र पाट कमिन्सले समान ३ तथा जोश हाज्लेवुड र ट्राभिस हेडले समान २ विकेट लिए ।

दक्षिण अफ्रिका लिग चरणको दोस्रो तथा अष्ट्रेलिया तेस्रो भएर सेमिफाइनलमा पुगेको हो । अष्ट्रेलिया पाँच पटकको विश्वकप विजेता हो भने दक्षिण अफ्रिकाले अहिलेसम्म उपाधि जित्न सकेको छैन । 

हेड टु हेड 
दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको एक दिवसीय क्रिकेट निकै नै रोमाञ्चक हुने गर्दछ । अहिलेसम्म दुवैले आपसमा १०९ खेल खेलेका छन् । 

जसमा अष्ट्रेलियाले ५० खेल जितेको छ भने दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ । ३ खेलमा टाइ भएको छ भने एक खेल नतिजाविहीन भएको छ । त्यस्तै तटस्थ भेन्युमा अष्ट्रेलियाले ९ तथा दक्षिण अफ्रिकाले ८ खेल जितेको छ । 

विश्वकपमा दुवैले आपसमा ७ खेल खेलिसकेका छन् । जसमा दुवैले समान ३ पटक खेल जितेका छन् । एक खेल टाइ भएको थियो । 

यो अर्थमा पनि भारतीय भूमिमा दुवैबीच कडा टक्कर हुने अनुमान गरिएको छ । तर जारी विश्वकपमा भने दक्षिण अफ्रिका हावी भएको छ । 

लिग चरणमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

विजेताले फाइनलमा भारतसँग खेल्नेछ  । भारतले बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७० रनले पराजित गर्यो ।  

फाइनल खेल आगामी आइतबार अहमदाबादमा दिउँसो २ः१५ बजे शुरु हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ