arrow

नरेन्द्र मोदी स्टेडियममा रन पछ्याउने टिमको जित ७५ प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
worldcup-final-2023-toss.jpg

काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि भिडन्त अहिले भइरहेको छ । भारत र अष्ट्रेलिया अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा रहेका छन् । 

खेलमा टस जितेर अष्ट्रेलियाले पहिले बलिङ रोजेको छ । योसँगै कीर्तिमानी खेलाडीहरुले भरिएको भारतले पहिले ब्याटिङ गरिरहेको छ । कप्तान रोहित शर्माले आफूले टस जितेको भए पनि पहिले ब्याटिङ नै रोज्ने जनाएका छन् । 

तर यो मैदानमा जारी विश्वकपका चार खेल भएका छन् । जसमा ३ खेलमा रन पछ्याउने टिमले जित हासिल गरेको छ । तर रोहितको दृढ विश्वास त्यही छ कि विगत हैन आजले जित्ने हो । 

जारी विश्वकपमा रोहितले ६ पटक टस जितेका छन् । जसमा ३ पटक ब्याटिङ र ३ पटक बलिङ रोजेका थिए । तर सबै खेलमा भारत जितेको थियो । भारतले अहिलेसम्म जारी विश्वकपका सबै १० खेल जितेको छ । चाहे भारतले टस हारोस् वा जितोस् । 

दुवै टिममा खेलाडीहरु परिवर्तन भएका छैनन् । सेमिफाइनलमा खेलेका खेलाडीहरु नै फाइनलमा रहेका हुन् । 

अष्ट्रेलिया दोहोरो ह्याट्रिक र भारत पहिलो ह्याट्रिक गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । अष्ट्रेलिया पाँच पटकको तथा भारत दुई पटकको च्याम्पियन हो । 

सेमिफाइनलमा भारतले न्यूजिल्याण्डलाई ७० रनले तथा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराएको थियो । 

लिग चरणको खेलमा भारतले अष्ट्रेलियामाथि ६ विकेटको जित हासिल गरेको थियो । दुवै टिमको त्यो जारी विश्वकपको पहिलो खेल थियो । 

पछिल्ला पाँच खेलको नतिजालाई हेर्ने हो भने दुवैले सबै खेल जितेका छन् । भारत लिग चरणका सबै खेल जितेर सेमिफाइनलमा पुगेको थियो भने अष्ट्रेलिया सात खेल जितेर सेमिफाइनलमा पुगेको थियो । 

भारत र अष्ट्रेलियाका खेलाडीमध्ये एक जो कोही पनि जुनसुकै बेला फर्ममा आउन सक्ने भएकाले पनि खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । 

तर खेलाडीहरुको व्यक्तिगत प्रदर्शनलाई हेर्ने हो भने भारतीय खेलाडीहरु बढी हावी छन् । ब्याटिङमा विराट कोहली र कप्तान रोहित शर्मा सबैभन्दा बढी भरपर्दा र कीर्तिमानी खेलाडीहरु रहेका छन् । जसलाई साथ दिनका लागि शुबमन गिल, केएल राहुल, श्रेयस ऐयर, सूर्यकुमार यादव खम्बामा रुपमा रहेका छन् । कोहलीले ७११ रन बनाइसकेका छन् । उनी कुनै पनि विश्वकपको एकै संस्करणमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । 

त्यस्तै बलिङमा सेमिफाइनलको एकै खेलमा ७ विकेट लिएर सनसनी मच्याएका मोहम्मद शमी अष्ट्रेलियाका लागि सबैभन्दा बढी टाउको दुखाइ बन्न सक्छन् । अष्ट्रेलियाका कप्तान पाट कमिन्सले पनि शमी खतरनाक भएको स्वीकारेका छन् । शमी जारी विश्वकपमा सर्वाधिक २३ विकेट लिएका खेलाडी हुन् । उनी विश्वकपमा चार पटक पाँचदेखि माथि विकेट लिने पहिलो खेलाडीसमेत हुन् । 

त्योसँगै शमीलाई सघाउन मोहम्मद सिराज, रविन्द्र जडेजा, जसप्रित बुमराह र कुलदीप यादव सशक्त छन् । 

त्यस्तै अष्ट्रेलियामा सदावहार फर्ममा रहेका खेलाडी डेभिड वार्नरलाई ट्राभिस हेडले साथ दिइरहेका छन् । त्यस्तै मिचेल मार्श, स्टेभेन स्मिथ, मार्कस लबुस्चांगे र ग्लेन म्याक्सवेल जुनसुकै बेला फर्ममा आएर टिमलाई जिताउन सक्छन् । वार्नर सबैभन्दा बढी रन बनाउने अष्ट्रेलियाली खेलाडी हुन् । उनले दुई शतक र दुई अर्धशतकसहित ५२८ रन बनाएका छन् । 

त्यस्तै बलिङतर्फ एडम जम्पा सबैभन्दा सशक्त छन् । उनी सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले २२ विकेट लिइसकेका छन् । त्यस्तै जोश हाज्लेवुड, मिचेल स्टार्च, कप्तान कमिन्सदेखि अलराउन्डर हेडसम्म सबै सशक्त छन् । 

हेड टु हेड 
विश्वकपमा भारत चौथो पटक र अष्ट्रेलिया आठौँ पटक फाइनलमा पुगेको छ । यी दुई टिमबीच उपाधिका लागि २० वर्षपछि भिडन्त हुन लागेको हो । 

सन् २००३ मा भएको फाइनलमा अष्ट्रेलियाले भारतलाई १२५ रनले हराएको थियो । अष्ट्रेलियाले पछिल्लो २७ वर्षको रेकर्ड हेर्ने हो भने फाइनलमा पराजित भएको छैन । अष्ट्रेलियाले फाइनलमा पछिल्लो पटक सन् १९९६ मा श्रीलंकासँग हारेको थियो । 

भारतले सन् १९८३ पछि सन् २०११ मा विश्वकप जितेको थियो । त्यसपछि अघिपछि उसलाई सफलता मिलेको छैन । 

यसपालि घरेलु मैदानमै भएकाले पनि भारत हाबी देखिएको छ । विश्वकपको हेड टु हेडमा दुवैले अहिलेसम्म १३ खेल खेलेका छन् । जसमा भारत ५ तथा अष्ट्रेलिया ८ पटक विजयी भएको छ । 

पछिल्लो खेल अर्थात् लिग चरणमा भारत विजयी भएको थियो । दुवैले आपसमा १५० एक दिवसीय खेलेका छन् । जसमा भातरले ५७ तथा अष्ट्रेलियाले ८३ खेल जितेको छ । १० खेल नतिजाविहीन भएको थियो । 

पहिलो पटक विश्वकपमा सात उपाधि विजेता आमने सामने 
एक दिवसीय विश्वकप क्रिकेटको इतिहासमा पहिलो पटक सात उपाधि जितेकाहरु आठौँ उपाधिका लागि आमने सामने भइरहेका छन् । अष्ट्रेलिया पाँच पटकको र भारत दुई पटकको विजेता हो । 

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा उपाधिका लागि भारत र अष्ट्रेलिया भिडिरहेका हुन् । पहिलो पटक एक लाख ३२ हजार दर्शकले प्रत्यक्ष रंगशालामा उपस्थित भएर फाइनल हेरिरहेका छन् । यसअघि यो कहिल्यै भएको थिएन । 

अहिलेसम्म चार उपाधि विजेतालेमात्र फाइनलमा उपाधि भिडन्त गरेका थिए । यसअघि सन् २००७ मा अष्ट्रेलिया र श्रीलंकाबीच फाइनल भिडन्त भएको थियो । त्यतिबेला अष्ट्रेलिया ३ तथा श्रीलंका एक पटकको विजेता थियो । 

सन् २०१५ मा पनि चार उपाधि विजेता फाइनलमा भिडेका थिए । त्यतिबेला अष्ट्रेलियामात्र चार उपाधि विजेता थियो भने न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जितेको छैन । 

पछिल्लो विश्वकपमा भने पहिलो पटक उपाधि विजेताविहीनहरुले फाइनल खेले थिए । जसमा न्यूजिल्याण्डमाथि इङ्गल्याण्डले बाजी मारेको थियो । 

सन् १९८७ र सन् १९९२ को फाइनलमा पनि यस्तै भएको थियो । जहाँ १९८७ मा अष्ट्रेलिया र इङ्गल्याण्ड तथा सन् १९९२ मा पाकिस्तान र इङ्गल्याण्ड फाइनलमा भिडेका थिए । दुवै संस्करणका फाइनलिष्टहरु उपाधिविहीन थिए । 

विश्वकपमा अहिलेसम्म अष्ट्रेलियाले ५, भारत र वेष्ट इन्डिजले २–२ तथा पाकिस्तान, श्रीलंका र इङ्गल्याण्डले १–१ पटक उपाधि जितेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ