arrow

‘हिटम्यान’ आउट, अय्यर तीन बलमै पभेलियन फर्के, भर कोहलीको 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
rohit-sharma-2023-1119.jpg

काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि भिडन्त अहिले भइरहेको छ । भारत र अष्ट्रेलिया अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा रहेका छन् । 

खेलमा टस हारेर भारतले पहिले ब्याटिङ गरिरहेको छ । भारतले १०.२ ओभरमा ३ विकेट गुमाएर ८१ रन बनाएको छ । श्रेयस अय्यर मात्र ३ बल खेल्दै ४ रन बनाएर आउट भए । 

त्यसअघि ९.४ ओभरमा ७६ रन बनाउँदा सबैभन्दा ठूलो विकेटका रुपमा कप्तान रोहित शर्मालाई गुमाएको थियो ।  हिटम्यान’ को नामबाट परिचित रोहित ३१ बलाम ३ छक्का र ४ चौकाको मद्धतले ४७ रन बनाएर आउट भएका छन् । रोहितलाई ग्लेन म्याक्सवेलले आउट गरेका हुन् । सेमिफाइनलमा पनि रोहित ४७ रनमै आउट भएका थिए । 

यसअघि ४.२ ओभरमा ३० रन जोड्दा पहिलो विकेट गुमाएको थियो । शुबमन गिल ७ बलमा ४ रन बनाएर आउट भएका छन् । उनलाई मिचले स्टार्कले आउट गरे । 

अब सबै भर कीर्तिमानी ब्याट्सम्यान विराट कोहलीमा रहेको छ । 

विश्वकपको एउटा रोचक प्रसङ्ग पनि छ कि पछिल्ला तीन विश्वकपको उपाधि आयोजकले नै जितेको छ । सन् २०११ को विश्वकप भारतले, सन् २०१५ को विश्वकप अष्ट्रेलियाले र सन् २०१९ को विश्वकप इङ्गल्याण्डले जितेको थियो । 

सो अर्थमा यसपालिको विश्वकप पनि भारतले नै जित्ने विश्वासमा भारतीयहरु रहेका छन् । 

तर यो मैदानमा जारी विश्वकपका चार खेल भएका छन् । जसमा ३ खेलमा रन पछ्याउने टिमले जित हासिल गरेको छ । तर रोहितको दृढ विश्वास त्यही छ कि विगत हैन आजले जित्ने हो । 

जारी विश्वकपमा रोहितले ६ पटक टस जितेका छन् । जसमा ३ पटक ब्याटिङ र ३ पटक बलिङ रोजेका थिए । तर सबै खेलमा भारत जितेको थियो । भारतले अहिलेसम्म जारी विश्वकपका सबै १० खेल जितेको छ । चाहे भारतले टस हारोस् वा जितोस् । 

दुवै टिममा खेलाडीहरु परिवर्तन भएका छैनन् । सेमिफाइनलमा खेलेका खेलाडीहरु नै फाइनलमा रहेका हुन् । 

अष्ट्रेलिया दोहोरो ह्याट्रिक र भारत पहिलो ह्याट्रिक गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । अष्ट्रेलिया पाँच पटकको तथा भारत दुई पटकको च्याम्पियन हो । 

सेमिफाइनलमा भारतले न्यूजिल्याण्डलाई ७० रनले तथा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराएको थियो । 

लिग चरणको खेलमा भारतले अष्ट्रेलियामाथि ६ विकेटको जित हासिल गरेको थियो । दुवै टिमको त्यो जारी विश्वकपको पहिलो खेल थियो । 

पछिल्ला पाँच खेलको नतिजालाई हेर्ने हो भने दुवैले सबै खेल जितेका छन् । भारत लिग चरणका सबै खेल जितेर सेमिफाइनलमा पुगेको थियो भने अष्ट्रेलिया सात खेल जितेर सेमिफाइनलमा पुगेको थियो । 

भारत र अष्ट्रेलियाका खेलाडीमध्ये एक जो कोही पनि जुनसुकै बेला फर्ममा आउन सक्ने भएकाले पनि खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । 

हेड टु हेड 
विश्वकपमा भारत चौथो पटक र अष्ट्रेलिया आठौँ पटक फाइनलमा पुगेको छ । यी दुई टिमबीच उपाधिका लागि २० वर्षपछि भिडन्त हुन लागेको हो । 

सन् २००३ मा भएको फाइनलमा अष्ट्रेलियाले भारतलाई १२५ रनले हराएको थियो । अष्ट्रेलियाले पछिल्लो २७ वर्षको रेकर्ड हेर्ने हो भने फाइनलमा पराजित भएको छैन । अष्ट्रेलियाले फाइनलमा पछिल्लो पटक सन् १९९६ मा श्रीलंकासँग हारेको थियो । 

भारतले सन् १९८३ पछि सन् २०११ मा विश्वकप जितेको थियो । त्यसपछि अघिपछि उसलाई सफलता मिलेको छैन । 

यसपालि घरेलु मैदानमै भएकाले पनि भारत हाबी देखिएको छ । विश्वकपको हेड टु हेडमा दुवैले अहिलेसम्म १३ खेल खेलेका छन् । जसमा भारत ५ तथा अष्ट्रेलिया ८ पटक विजयी भएको छ । 

पछिल्लो खेल अर्थात् लिग चरणमा भारत विजयी भएको थियो । दुवैले आपसमा १५० एक दिवसीय खेलेका छन् । जसमा भातरले ५७ तथा अष्ट्रेलियाले ८३ खेल जितेको छ । १० खेल नतिजाविहीन भएको थियो । 

पहिलो पटक विश्वकपमा सात उपाधि विजेता आमने सामने 
एक दिवसीय विश्वकप क्रिकेटको इतिहासमा पहिलो पटक सात उपाधि जितेकाहरु आठौँ उपाधिका लागि आमने सामने भइरहेका छन् । अष्ट्रेलिया पाँच पटकको र भारत दुई पटकको विजेता हो । 

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा उपाधिका लागि भारत र अष्ट्रेलिया भिडिरहेका हुन् । पहिलो पटक एक लाख ३२ हजार दर्शकले प्रत्यक्ष रंगशालामा उपस्थित भएर फाइनल हेरिरहेका छन् । यसअघि यो कहिल्यै भएको थिएन । 

अहिलेसम्म चार उपाधि विजेतालेमात्र फाइनलमा उपाधि भिडन्त गरेका थिए । यसअघि सन् २००७ मा अष्ट्रेलिया र श्रीलंकाबीच फाइनल भिडन्त भएको थियो । त्यतिबेला अष्ट्रेलिया ३ तथा श्रीलंका एक पटकको विजेता थियो । 

सन् २०१५ मा पनि चार उपाधि विजेता फाइनलमा भिडेका थिए । त्यतिबेला अष्ट्रेलियामात्र चार उपाधि विजेता थियो भने न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जितेको छैन । 

पछिल्लो विश्वकपमा भने पहिलो पटक उपाधि विजेताविहीनहरुले फाइनल खेले थिए । जसमा न्यूजिल्याण्डमाथि इङ्गल्याण्डले बाजी मारेको थियो । 

सन् १९८७ र सन् १९९२ को फाइनलमा पनि यस्तै भएको थियो । जहाँ १९८७ मा अष्ट्रेलिया र इङ्गल्याण्ड तथा सन् १९९२ मा पाकिस्तान र इङ्गल्याण्ड फाइनलमा भिडेका थिए । दुवै संस्करणका फाइनलिष्टहरु उपाधिविहीन थिए । 

विश्वकपमा अहिलेसम्म अष्ट्रेलियाले ५, भारत र वेष्ट इन्डिजले २–२ तथा पाकिस्तान, श्रीलंका र इङ्गल्याण्डले १–१ पटक उपाधि जितेका छन् । 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ