arrow

शोइब अख्तर भन्छन् –शमीलाई अगाडि ल्याउनु ४० ओभरमै १० खेलाडी आउट गरेर खेल जित्नु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
shoaib-akhtkar-pak-cricketer.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पाकिस्तानी तीव्र गतिका बलर शोइब अख्तरले अष्ट्रेलियालाई ४० ओभरको खेल सम्झेर आउट गर्न भारतलाई सुझाव दिएका छन् । उनले अहमदाबादमा जारी विश्वकप क्रिकेटको उपाधि जित्नका लागि भारतले मोहम्मद शमीलाई बलिङ गर्न अगाडि ल्याउनु पर्ने पनि बताएका छन् । 

भारतले पहिले ब्याटिङ गर्दै अष्ट्रेलियालाई २४१ रनको चुनौती दिएको छ । यो मध्यम खालको चुनौती भए पनि लिग चरणमा भारतले अष्ट्रेलियालाई १९९ रनमै अलआउट गरेर ६ विकेटले जितेको थियो । 

अख्तरले ५० ओभरको खेल नसम्झी मात्र ४० ओभरको सम्झेर अष्ट्रेलियाका सबै विकेट लिनुपर्नेमा जोड दिएका छन् । 

उनले भने, ‘शमीलाई अगडि ल्याएर ४० ओभरको खेल सम्झेर खेले हिन्दूस्तानले जित्छ । त्यही गर्नु राम्रो ।’

विश्वकप क्रिकेटको उपाधि जितका लागि भारतले अष्ट्रेलियालाई २४१ रनको चुनौती दिएको छ । अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा टस हारेर भारतले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर ५० ओभरमा २४० रन बनायो ।

भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४ तथा रोहित शर्माले ४७ रन बनाए । सूर्यकुमार यादवले १८ रन बनाए । 

त्यस्तै कुलदीप यादवले १० रन जोडे । त्यसबाहेक कसैले पनि दोहोरो स्कोर बनाउन सकेनन् । भारत पहिलो पटक जारी विश्वकपमा अलआउट भएको हो । 

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । जोश हज्लेवुड र पाट कमिन्सले समान २–२ विकेट लिए । अष्ट्रेलियाले यो खेलमा निकै राम्रो फिल्डिङ गरेसँगै कम्तीमा ५० रन जोगाउन सफल भएको छ । 

अष्ट्रेलिया दोहोरो ह्याट्रिक र भारत पहिलो ह्याट्रिक गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । अष्ट्रेलिया पाँच पटकको तथा भारत दुई पटकको च्याम्पियन हो । 

सेमिफाइनलमा भारतले न्यूजिल्याण्डलाई ७० रनले तथा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराएको थियो । 

लिग चरणको खेलमा भारतले अष्ट्रेलियामाथि ६ विकेटको जित हासिल गरेको थियो । दुवै टिमको त्यो जारी विश्वकपको पहिलो खेल थियो । 

कोहलीको कीर्तिमान 
कोहलीले ६३ बलमा ५४ रन बनाए । र आउट भए । कोहलीले एकै संस्करणमा नौ पटक ५० भन्दा बढी रन बनाएर कीर्तिमान रचेका छन् । अहिलेसम्म यो सफलता विश्वकपमा कसैले हासिल गरेका छैनन् । 

त्यस्तै उनले विश्वकपको एकै संस्करणमा अहिलेसम्मकै सबैभन्दा बढी रन बनाएका छन् । उनले ७६५ रन बनाएका छन् । 

उनले सन् २००३ को विश्वकपमा भारतीय खेलाडी सचिन तेन्दुलकरले बनाएको कीर्तिमान तोडेका हुन् । सचिनले ६७३ रन बनाएका थिए । 

त्यस्तै सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध शतक बनाउँदै कोहलीले एक दिवसीयमा शतकको संख्या ५० पुर्याउँदै सचिन तेन्दुलकरको कीर्तिमान पनि तोडेका छन् ।

रोहित शर्माको रेकर्ड
भारतीय क्रिकेट कप्तान रोहित शर्मा (उपनाम – हिटम्यान) ले विश्वकप एक दिवसीय क्रिकेटमा थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । 

रोहितले विश्वकपको एकै सिजनमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । अष्ट्रेलिया विरुद्धको फाइनलमा ३ छक्का प्रहार गरेसँगै रोहितले विश्वकपमा ३१ छक्काको रेकर्ड बनाएका छन् । 

उनले वेष्ट इन्डिजका खेलाडी क्रिस गेलको कीर्तिमान तोडेका हुन् । गेलले सन् २०१५ को विश्वकपमा २६ छक्काको कीर्तिमान बनाएका थिए । रोहितले विश्वकपमा मात्रै ५४ छक्का हानिसकेका छन् । रोहितले कूल छक्कामा पनि गेलको कीर्तिमान तोडेका हुन् । गेलले ४९ छक्का बनाएका थिए । 

रोहितले २०१५, २०१९ र २०२३ को विश्वकपमात्र खेलेका छन् । रोहित पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी पनि बनेका छन् । उनले पावर प्लेमा २२ छक्का हानेका छन् । उनले न्यूजिल्याण्डका कप्तान ब्रेन्डन म्याकमुलमको १७ छक्काको कीर्तिमान तोडेका हुन् । 

रोहित कप्तानको रुपमा विश्वकपको एकै संस्करणमा सबैभन्दा बढी ५९७ रन बनाउने पहिलो भारतीय खेलाडी बनेका छन् । अहिलेसम्म कुनै पनि कप्तानले एकै संस्करणमा यति धेरै रन बनाएका थिएनन् । 

रोहितको नाममा विश्वकपमा सात शतकको कीर्तिमान रहेको छ । उनले सात शतक प्रहार गरेका छन् । त्यस्तै ६ अर्धशतक बनाएका छन् । उनी लगातार दोस्रो पटक विश्वकपमा पाँच सय भन्दा बढी रन बनाउने पहिलो खेलाडी हुन् । 

उनले सन् २०१९ मा ६४८ रन बनाएका थिए । त्यस्तै एकै संस्करणमा पाँच शतक बनाउने उनी पहिलो खेलाडी हुन् । उनले सन् २०१९ मा यो कीर्तिमान बनाएका थिए । 

पहिलो पटक विश्वकपमा सात उपाधि विजेता आमने सामने 
एक दिवसीय विश्वकप क्रिकेटको इतिहासमा पहिलो पटक सात उपाधि जितेकाहरु आठौँ उपाधिका लागि आमने सामने भइरहेका छन् । अष्ट्रेलिया पाँच पटकको र भारत दुई पटकको विजेता हो । 

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा उपाधिका लागि भारत र अष्ट्रेलिया भिडिरहेका हुन् । पहिलो पटक एक लाख ३२ हजार दर्शकले प्रत्यक्ष रंगशालामा उपस्थित भएर फाइनल हेरिरहेका छन् । यसअघि यो कहिल्यै भएको थिएन । 

अहिलेसम्म चार उपाधि विजेतालेमात्र फाइनलमा उपाधि भिडन्त गरेका थिए । यसअघि सन् २००७ मा अष्ट्रेलिया र श्रीलंकाबीच फाइनल भिडन्त भएको थियो । त्यतिबेला अष्ट्रेलिया ३ तथा श्रीलंका एक पटकको विजेता थियो । 

सन् २०१५ मा पनि चार उपाधि विजेता फाइनलमा भिडेका थिए । त्यतिबेला अष्ट्रेलियामात्र चार उपाधि विजेता थियो भने न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जितेको छैन । 

पछिल्लो विश्वकपमा भने पहिलो पटक उपाधि विजेताविहीनहरुले फाइनल खेले थिए । जसमा न्यूजिल्याण्डमाथि इङ्गल्याण्डले बाजी मारेको थियो । 

सन् १९८७ र सन् १९९२ को फाइनलमा पनि यस्तै भएको थियो । जहाँ १९८७ मा अष्ट्रेलिया र इङ्गल्याण्ड तथा सन् १९९२ मा पाकिस्तान र इङ्गल्याण्ड फाइनलमा भिडेका थिए । दुवै संस्करणका फाइनलिष्टहरु उपाधिविहीन थिए । 

विश्वकपमा अहिलेसम्म अष्ट्रेलियाले ५, भारत र वेष्ट इन्डिजले २–२ तथा पाकिस्तान, श्रीलंका र इङ्गल्याण्डले १–१ पटक उपाधि जितेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ