- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतको अहमदाबादमा जारी विश्वकप क्रिकेटको उपाधि जित्नका लागि अष्ट्रेलियाले २४१ रनको मध्यम चुनौती पछ्याइरहेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा अष्ट्रेलियाले ७ ओभरमा ४७ रन जोड्दा ३ विकेट गुमाएको भए पनि त्यसपछि टिमलाई ट्राभिस हेडले सम्हालेका छन् । उनलाई मार्नस लाबुस्चांगेले साथ दिइरहेका छन् ।
हेडले अर्धशतक बनाइसकेका छन् । हेड क्रिजमा रहँदासम्म भारतले जित टाढिने छ । टेड भारतका लागि हेडेक (टाउको दुखाइ) भएका छन् ।
यसअघि डेभिड वार्नर ७, मिचेल मार्श १५ तथा स्टेभेन स्मिथ ४ रन बनाएर आउट भएका थिए । अष्ट्रेलियाले २३ ओभरमा १२२ रन बनाइसकेको छ ।
जसप्रित बुमराहले २ तथा मोहम्मद शमीले १ विकेट लिएका छन् । शमीले जारी विश्वकपमा २४ विकेट लिइसकेका छन् । उनी पनि रेकर्डधारी बलर हुन् ।
लिग चरणमा भारतले अष्ट्रेलियालाई १९९ रनमै अलआउट गरेर ६ विकेटले जितेको थियो ।
यसअघि अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा टस हारेर भारतले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर ५० ओभरमा २४० रन बनायो ।
भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४ तथा रोहित शर्माले ४७ रन बनाए । सूर्यकुमार यादवले १८ रन बनाए ।
त्यस्तै कुलदीप यादवले १० रन जोडे । त्यसबाहेक कसैले पनि दोहोरो स्कोर बनाउन सकेनन् । भारत पहिलो पटक जारी विश्वकपमा अलआउट भएको हो ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । जोश हज्लेवुड र पाट कमिन्सले समान २–२ विकेट लिए । अष्ट्रेलियाले यो खेलमा निकै राम्रो फिल्डिङ गरेसँगै कम्तीमा ५० रन जोगाउन सफल भएको छ ।
अष्ट्रेलिया दोहोरो ह्याट्रिक र भारत पहिलो ह्याट्रिक गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । अष्ट्रेलिया पाँच पटकको तथा भारत दुई पटकको च्याम्पियन हो ।
सेमिफाइनलमा भारतले न्यूजिल्याण्डलाई ७० रनले तथा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराएको थियो ।
लिग चरणको खेलमा भारतले अष्ट्रेलियामाथि ६ विकेटको जित हासिल गरेको थियो । दुवै टिमको त्यो जारी विश्वकपको पहिलो खेल थियो ।