arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

दोस्रो चरण चरणको अनुसन्धान अन्योलमा, जेलका छुट्ने सम्भावना, भागेकाको खोजीमा नैरास्यता

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
nakkali-bhutani-sharanarthi-bhutanese-refugee-scandle-jail-2080-03-02.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको संगठित ठगी घटनामा उच्च अदालतमा बहस सकिएर फैसला आउन लाग्दा पनि दोस्रो चरणको अनुसन्धानबारे भने अन्योल रहेको छ । 

काठमाडौँ प्रहरी परिसरले यसलाई केही समयअघि अनुसन्धान गुपचुप अघि बढाएको भए पनि अनुसन्धान सकिएको वा कायम रहेको भन्ने बारेमा अन्योल रहेको हो । 

पहिलो चरणको अनुसन्धान सकिएपछि परेका जाहेरीलाई आधार बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान थालेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारी फेरिँदैमा कुनै असर पर्दैन । 

दोस्रो चरणमा पनि सुक्ष्म अनुसन्धान नै भइरहेको भन्ने प्रहरीको भनाइ रहे पनि अहिलेसम्म कोही पनि व्यक्ति पक्राउ नपरेकाले परिसरमै थन्किएको आशंका रहेको छ । 

उच्च अदालत पाटनमा थुनछेकको बहस शुरु हुनुअघि परिसरले पुर्पक्षका लागि थुनामा रहेका बिचौलीहरूलाई झिकाएर बयान गराएको थियो । 

तर उनीहरुले के कस्तो बयान दिए भन्ने बारेमा केही उल्लेख छैन । काठमाडौँ परिसरले यसैसाता सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा लगायतको बयान लिएको थियो । 

साउनको अन्तिम साता १८ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएर उनीहरुको बयान लिएको स्रोतको दाबी छ । 

किटानी जाहेरीमा नाम उल्लेख गरिएका बिचौलीले नै सर्वसाधारणसँग पैसा उठाएर गृह मन्त्रालयका अधिकारीलगायत उच्चपदस्थलाई आर्थिक प्रभावमा पारी आफूअनुकूल काम गराउने प्रयास गरेका थिए । 

पहिलो चरणको अनुसन्धानमा उनीहरूले यो कुरा बयानमा मात्र बताएनन् त्यसको प्रमाणसमेत दिएका थिए । 

तर यसपटक उनीहरूको बयान फेरिएको स्रोतले जनाएको छ  । यसपटकको बयानमा उनीहरूले उच्चपदस्थहरूको नाम लिएका छैनन् । साथै बयान पनि इन्कारी दिएका छन् । 

जसकारण अनुसन्धान प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि उनीहरूकै बयानका आधारमा नेपाली कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड, एमाले नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतका उच्च पदस्थ पक्राउ परेका थिए । 

हाल उनीहरू पनि पुर्पक्षका लागि जेलमा छन । उच्च अदालत पाटनबाट उनीहरुको फैसला आजै आउन सक्ने सम्भावना रहेको छ । दोस्रो चरणमा उच्चपदस्थहरूमाथिको अनुसन्धानमा प्रहरीले पनि चासो राखेको छैन । 

यसअघि संगठित अपराध, राज्यविरुद्धको कसुर, ठगी र लिखत कीर्ते मुद्दा दायर भएको थियो । अहिले सामान्य ठगी मात्र चलाउनुपर्ने दबाब प्रहरीमाथि परेको छ । 

दोस्रो चरणको अनुसन्धानबारे जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकारी औपचारिक कसैले केही पनि बताएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ