arrow

यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
nepal-dubai-business-forum-.jpg

दुबई । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स यूएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर छोप्न आग्रह गरेका छन् । 

दुबईमा आयोजित नेपाल यूएई बिजनेस फोरमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सृजना भएको बताएका हुन् । 

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताए । आफ्नै आन्तरिक बजार तथा  भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा  गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले लक्जरी होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि उल्लेख गरे । 

अध्यक्ष ढकालले यूएईका लगानीकर्ताहरूलाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागिसमेत आग्रह गरे । 

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडिबुटीको विश्व बजारमा माग रहेको र कृषि प्रशोधनमासमेत लगानीका थप अवसरहरू रहेकोतर्फ पनि यूएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराए । 

डिजिटल अर्थतन्त्रको विकासले आईसीटी क्षेत्रमा युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । 

व्यापार र लगानीमा बैङ्किङ तथा वित्तीय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेकाले नेपालको बैंकिङ क्षेत्रमा यूएईको लगानी प्रबवर्द्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे । 

कडा परिश्रम र इमानदारीका लागि नेपाली श्रम शक्ति परिचित रहेकोतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमासमेत लगानी गर्न सकिने बताए । 

नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार गर्ने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले लगानी प्रबर्द्धनमा सरकारको सहयोग महत्त्वपूर्ण हुने बताए । 

दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ तत्पर रहेको पनि अध्यक्ष ढकालले जानकारी गराए । 

दुबईमा आयोजित नेपाल यूएई बिजनेस फोरममा प्रधानमन्त्री प्रचण्डसहित दुई देशका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ