arrow

ग्लोबल आइएमई बैङ्कको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
chandra-dhakal-global-ime-chairperson-renew.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन्। बिहीबार सम्पन्न बैङ्कको १७औँ वार्षिक साधारण सभाबाट सर्वसम्मत रूपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो।

ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष छन्।

साधारण सभाबाट संस्थापक शेयरधनीहरूमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयर धनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैङ्कको गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरूलाई शपथ गराउने छन्।

यसअघि, साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट बैङ्कले आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ। साधारण सभाले सञ्चालक समितिको तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैङ्कले आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ।

बैङ्कले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनस शेयर वितरण पश्चात् बैङ्कको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैङ्कका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्क नेपाल सरकार एवं नेपाल राष्ट्र बैङ्कद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए। उनले बैङ्कले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरूप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए।

आर्थिक वर्ष २०७९/८० मा बैङ्कको खुद व्याज आम्दानी तर्फ अघिल्लो वर्ष भन्दा ६ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ। बैङ्कको खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ। बैङ्कले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप सङ्कलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। देशका ७७ वटै जिल्लामा ३५५ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ११०० भन्दा बढी सेवा केन्द्रबाट बैङ्किङ सेवा प्रदान गर्दै आएको छ। बैङ्कमा करिब ४ हजार कर्मचारीहरू कार्यरत रहेका छन्। बैङ्कले करिब ४५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ