arrow

अश्लील क्रियाकलापका आरोपी उपसचिव डमरु र काजीमानलाई महत्वपूर्ण जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
kajiman-damaru-2080.jpg

काठमाडौँ । महिलासँग अश्लील क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरुप्रसाद निरौला र काजीमान राईलाई महत्वपूर्ण जिम्मेवारी तोकिएको छ । 

निरौलालाई भूमि व्यवस्था मन्त्रालयले महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । मन्त्रालयले उनलाई पर्सा मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । पर्सा मालपोत कार्यालय आकर्षक मानिन्छ । 

त्यस्तै राइलाई सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ । इलामको माइजोगमाइ गाउँपालिकामा सोही पालिकाकी एक कर्मचारीसँग अस्वभाविक यौनजन्य व्यवहार गरेको अभियोगमा झापाको बाह्रदशी गाउँपालिका हुँदै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तानिएका राईलाई सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा पठाइएको हो ।

राईसँग अस्वभाविक यौनजन्य व्यवहारमा संलग्न भनिएकी लेखा अधिकृतलाई भने हाल मन्त्रालयमै थन्क्याइएको छ । प्रशासकीय अधिकृत र लेखा अधिकृतको कार्यकक्षमै अस्वभाविक यौनजन्य कृयाकलापको भिडियो गत भदौमा सार्वजनिक भएपछि माइजोगमाई गाउँपालिकाबाट उनलाई झापाको बाह्रदशी गाउँपालिकामा सरुवा गरिएको थियो ।

त्यस्तै निरौला गएको मालपोत कार्यालयपनि आकर्षक  ठाउँ भएकाले उनी विभिन्न तौर तरिका अपनाएर त्यहाँ पुगेका हुन् । विवादित उपसचिवलाई पर्सा मालपोतमा पठाउन भूमि व्यवस्था सचिव गोकर्णमणि दवाडी तयार नभए पनि उनले माथिकै ‘भिटो’ लगाएको स्रोतको दाबी छ ।

 ‘विवादित उपसचिवलाई सकेसम्म महत्वपूर्ण ठाउँमा नपठाऔँ भन्ने मन्त्रालयमा रहेको कर्मचारी प्रशासनको चाहना थियो तर भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ र उनका पति रेशम चौधरीको  पहुँचको कारण उनी पर्सा जान सफल भए’, स्रोतले भन्यो ।

त्यस्तै राई गएको लिखुपिकेमा यसअघि सुनिता उप्रेती गएकी थिइन् । त्यहाँको पालिका अध्यक्ष मीना कार्कीले अनावश्यक खर्चमा सही गर्न दबाब दिएपछि दशैँअघि नै फिर्ता भएकी थिइन् । 

उनका छोरा लोकेन्द्र बस्नेत स्वकीय सचिव र सडकको ठेकेदार, श्रीमान रेखराज बस्नेत शिक्षा समितिको संयोजक तथा सबै नातागोतालाई एक एक पदमा कार्यरत गराई परिवारवाद लागू गरिएको र उनीहरुले खर्च गरेको रकम सबै पालिकाले तिर्नुपर्ने र तथा अघिल्लो वर्षको बेरुजु पनि देखिएपछि उप्रेतीले आफू फस्न सक्ने भन्दै त्यहाँबाट बाहिरिएकी थिइन् । अहिले त्यहाँ राईलाई पठाइएको छ । 

त्यस्तै उपरसचिव निरौला झापा दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा गत साउन १३ गते सरकारी क्वार्टरमा एक युवतीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका थिए । 

त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टा भित्र मन्त्रालयमा हाजिरी हुन उनलाई चिठी काटेको थियो । 

मन्त्रालयले केही कुरा बुझ्नु पर्ने छ भन्दै निरौललाई मन्त्रालय बोलाएको थियो । त्यसको करिब ४ महिनासम्म निरौला मन्त्रालमा बसे । मन्त्रालयमा हुँदा उनलाई जिम्मेवारी दिइएको थिएन ।  

यही मंसिरमा उनलाई सामान्यबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको थियो । त्यहाँ रेशम चौधरीसँग सेटिङ गरी उनी पर्सा लागेको स्रोतको दाबी छ । 

भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी रञ्जिता श्रेष्ठको भए पनि चौधरीमार्फत सबै काम हुुने गरेको मन्त्रालयका एक कर्मचारीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ