arrow

कार्यकारी निर्देशक नियुक्तिको कागजात तीन दिनभित्र पेश गर्न पशुपतिलाई समितिको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
samiti-rajyabewasta.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएको कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु ३ दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ ।

समितिको बिहीवार बसेको बैठकले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु ३ दिनभित्र बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो । 

केही दिनअघि पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्ति गरिएको थियो । सो नियुक्ति प्रक्रिया र सम्बन्धित व्यक्तिको योग्यतामाथि सांसदहरुले प्रश्न उठाएसँगै समितिले नियुक्ति सम्बन्धी प्रमाणित कागजात मगाएको हो । 

बैठकले कार्यकारी निर्देशक नियुक्ति गर्ने निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र वैयक्तिक विवरणसहितको प्रमाणित कागजात तिन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ । 

त्यसैगरी बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शिघ्र एकिन गरी हाल साविक गरी कोषको नाममा लालपुर्जा लिने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । समितिले पशुपति क्षेत्र विकास कोषले आनन्द होटलसँग गरेको सम्झौताको सक्कल सहितको विवरण ३ दिनभित्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

बैठकले गरेको निर्णयबारे जानकारी दिँदै समिति सभापति राजकिशोर यादवले भने – ‘आजको बैठकमा पशुपति क्षेत्र विकास कोषबाट सम्पादित काम, कारबाहीहरु तथा समसामयिक विषयहरुको सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसँग छलफल भइ देहाय बमोजिमका निर्णयहरु भयो ः

१. पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु, निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र वैयक्तिक विवरणसहितको प्रमाणित कागजात तिन दिनभित्र यस समितिमा उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने निर्णय गरियो ।

२. पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शीघ्र एकिन गरी हाल साबिक गरी कोषको नाममा लालपूर्जा लिने व्यवस्था गर्न निर्देशन दिने निर्णय गरियो । 

३. पशुपति क्षेत्र विकास कोषले आनन्द होटलसँग गरेको सम्झौताको सक्कल सहितको विवरण ३ दिनभित्र  उपलब्ध गराइदिनका लागि निर्देशन दिने निर्णय गरियो ।

४. पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यहाँ उपलब्ध गराउनका लागि निर्देशन दिने निर्णय गरियो ।

५. पशुपतिमा बिग्रिएको शवदाह गृह यथाशिघ्र सञ्चालनमा आउनेगरी तयार र आवश्यकताअनुसार थप गर्न सकिन्छ कि भन्ने सोच्न सक्नेगरी अगाडी बढ्न निर्देशन दिने निर्णय गरियो ।

६ . पशुपतिनाथ मन्दिरको स्थलगत अनुगमन गर्ने र त्यतिबेला पशुपति विकास कोषसँग सम्बन्धित विषयमा जानकारी लिने ।’

त्यसैगरी, बैठकले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिलाई उपलब्ध गराउन पनि भनेको छ । समितिले पशुपतिमा बिग्रिको शवदाह मेसिन यथाशिघ्र सञ्चालनमा आउनेगरी तयार गर्न र आवश्यकताअनुसार थप गर्नेगरी अगाडी बढ्न पनि निर्देशन दिएको छ ।

बैठकले पशुपतिनाथ मन्दिरको स्थलगत अनुगमन गर्ने र त्यतिबेला पशुपति विकास कोषसँग सम्बन्धित विषयमा जानकारी पनि निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ