arrow

यी हुन् मन्त्रिपरिषद्को निर्णय

बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही १०-१० लाख, थप घटना हुन नदिने प्रतिबद्धता [भिडियो]

शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
rekhasahas.jpg

काठमाडौँ । सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही १०-१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ । शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई १०-१० लाखका दरले राहत उपलब्ध गराउने निर्णय हो । 

सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ । 

त्यसै गरी मन्त्रिपरिषद् बैठकले सो घटनामा परी घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको पनि सञ्चार मन्त्री शर्माले बताइन् । सो घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन पनि गृह मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले सचेत गराएको छ । सरकारले सो घटनालाई संयमपूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन पनि सबैलाई अपिल गरेको छ ।

मन्त्रिपरिषद् बैठकले आगामी दिन त्यस्तो घटना हुन नदिने प्रतिबद्धतासमेत जनाएको छ । मन्त्री शर्माले आगामी दिनमा त्यस्ता घटना हुन नदिने गरी शतर्कता, संयमता बनाउन गृह मन्त्रालय र मातहतका निकायलाई पनि बैठकले निर्देशन दिएको बताइन् ।

सञ्चार मन्त्री शर्माले भनिन्, ‘आकस्मिक रूपमा मन्त्रीपरिषदको बैठक आज बस्यो । हिजो मिति २०८० साल पौष १३ गतेका दिन ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा दैलेखका श्री सुजन रावत र अछामका श्री वीरेन्द्र शाहको दुखद निधन भएको छ । यसमा नेपाल सरकार गहिरो दुख प्रकट गर्दछ । सो घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्ने र सो घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय आजको मन्त्रीपरिषद बैठकले गरेको छ । त्यसै गरेर यसै घटनाको सन्दर्भमा मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने । उक्त घटनामा परी घाइते व्यक्तिहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने । सो बापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने भन्ने निर्णय भएको छ । त्यसै गरेर उक्त घटनाको सन्दर्भमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने, भविष्यमा यस्ता प्रकृतिको घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बद्ध निकायलाई थप सतर्क, संयमित र प्रभावकारी बनाउने भन्ने पनि निर्णय भएको छ । र आगामी दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न नेपाल सरकार प्रतिबद्ध रहेकाले यस घटनालाई संयमपूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई आह्वान गर्ने भन्ने पनि निर्णय गरिएको छ ।’

मन्त्रिपरिषद् बैठकले आगामी दिन त्यस्तो घटना हुन नदिने प्रतिबद्धता समेत जनाएको छ । मन्त्री शर्माले आगामी दिनमा त्यस्ता घटना हुन नदिने गरी शतर्कता, संयमता बनाउन गृह मन्त्रालय र मातहतका निकायलाई पनि बैठकले निर्देशन दिएको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ