arrow

दक्षिण कोरियाको संसद्मा विधेयक पारित

कुकुरको मासु व्यापारमा प्रतिबन्ध, काट्नेलाई २३ हजार अमेरिकी डलर वा जेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
street-dog.jpg

काठमाडौँ । दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, वध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, वध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका लागि शर्मनाक भनेका छन् । 

कार्यकर्ताहरूका अनुसार कुकुरको मासु लामो समयदेखि दक्षिण कोरियाली परिकारको हिस्सा रहेको छ र एक समयमा उक्त व्यापारका लागि प्रत्येक वर्ष १० लाख कुकुर मारिन्थ्यो 

। यद्यपि ठूलो सङ्ख्यामा कोरियाली मानिसले घरपालुवा जनावरको स्वामित्वलाई अपनाइरहेकाले हालका दिनमा कुकुरको मासुको खपत तीव्ररूपमा घटेको छ । 

युवा, सहरी दक्षिण कोरियालीबीच कुकुरको मासु खान वर्जित छ र सरकारमाथि पशु अधिकारकर्मीहरूका तर्फबाट यो अभ्यासलाई गैरकानूनी घोषणा गर्न दबाब बढिरहेको छ ।

प्रतिबन्धका लागि आधिकारिक समर्थन राष्ट्रपति युन सुक येओलको नेतृत्वमा बढेको छ । उनी आफूलाई पशुप्रेमी दाबी गर्छन् । 

राष्ट्रपति युनले कुकुरको मासुको खपतको प्रमुख आलोचक प्रथम महिला किम केओन-हीसँग आवारा कुकुर र बिराला पालेका छन्। 

सत्तारूढ र प्रमुख विपक्षी दुवै दलले प्रस्ताव गरेको विधेयक दुई जनाको अनुपस्थितिका साथ २०८-० मतबाट निर्विरोध पारित भएको छ । उक्त विधेयक राष्ट्रपति युनबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि तीन वर्षको छुट अवधिपछि लागु हुनेछ । 

कानूनअन्तर्गत मासुका लागि कुकुरको प्रजनन, बिक्री र काट्नेलाई तीन वर्षसम्मको कारागार वा तीन करोड वन (२३ हजार अमेरिकी डलर) जरिवाना लाग्नेछ । 

“अब ‘कुकुर खाने देश’ का रूपमा आलोचना गर्नुको कुनै औचित्य छैन”, विधेयक प्रस्ताव गर्ने सत्तारूढ पिपुल्स पावर पार्टीका सांसद थाए योङ- होले भने, “सत्तारूढ, विपक्षी दलहरू तथा सरकारले अब पशु अधिकारको रक्षा गर्ने जिम्मेबारी लिनुपर्छ ।”

कार्यकर्ता र केही सांसद विधेयक पारित भएको खुशी मनाउन संसद भवनबाहिर एकत्रित भएका थिए र मानिसहरूले ‘कुकुरको मासुको उपभोगलाई अलविदा’ र ‘कुकुरको मासुमुक्त कोरिया आउँदैछ’ भन्ने पोस्टर लहराउँदै खुशी मनाएका थिए । 

कार्यकर्ताहरूले ‘इतिहास निर्माणमा रहेको’ भन्दै विधेयकको स्वागत गरेका छन् । “हामी निर्णायक विन्दुमा पुगेका छौँ, अधिकांश कोरियाली कुकुरको मासु खान अस्वीकार गर्नेछन् र यो पीडालाई इतिहासको किताबमा राखिएको हेर्न चाहन्छन्”, ह्युमन सोसाइटी इन्टरनेसनल÷कोरियाका कार्यकारी निर्देशक जुङआह चाइले भने, “मंगलबार हाम्रा निर्माताहरूले यसलाई वास्तविकता बनाउन निर्णायकरूपले काम गरेका छन्, यद्यपि मेरो हृदय लाखौँ कुकुरका लागि भाँचिएको छ जसका लागि यो परिवर्तन अत्यन्त ढिलो आएको छ, दक्षिण कोरियाले अब हाम्रो इतिहासमा यो दयनीय अध्यायलाई बन्द गर्न सक्छ र कुकुरको अनुकूल भविष्यलाई अपनाउन सक्छ भन्नेमा म अत्यन्त खुशी छु ।”

सोलस्थित थिङ्कट्याङ्क वेलफेय अवेरनेस, रिसर्च एन्ड एजुकेसनले सोमबार जारी गरेको सर्वेक्षणमा दक्षिण कोरियामा १० मध्ये नौ जनाले भविष्यमा कुकुरको मासु नखाने बताएका छन् । एक्टिभिस्ट ग्रुप एनिमल लिबरेसन वेभले मङ्गलबारको मतदान विश्वस्तरमा अग्रणी निर्णय थियो भन्दै यसबाट अन्य जनावरको अधिकारको रक्षाका लागि मार्ग प्रशस्त भएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ