arrow

सीमावर्ती क्षेत्रका समस्या बोकेर मुजफ्फरपुर पुगे निधी, भेटे भाजपा नेतालाई [भिडियो]

गृहमन्त्री अमित साहसँग कुरा गरेर समस्या समाधान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
nidhi-india-bjp.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधी र भारतको बिहार मुजफ्फरपुरका लोकसभा सदस्य अजय निषादबीच शिष्टाचार भेटवार्ता भएको छ । 

भारतको मुजफ्फरपुरमा दुई नेताबीच शिष्टाचार भेट भएको हो । गत आइतबार धनुषाको नगराईन र मुखियापट्टी मुसहरनिया पालिकाका विभिन्न सीमावर्ती वडाहरूमा निर्माण कार्य अवरुद्ध भएका पुलहरूको स्थलगत निरीक्षण अवलोकन गरेका निधी सोही विषयमा छलफल गर्न मंगलवार निषाद निवास मुजफ्फरपुर पुगेका हुन् । 

सो क्रममा निधीले आफूले पुलहरूको स्थलगत निरीक्षण गर्दा भारतीय सुरक्षाकर्मीहरूले संरचना बन्न नदिनुको कारण माथिको आदेश भएको बताएको पनि निषादलाई जानकारी गराए । 

पुल बन्दा दुवै देशका नागरिकहरूलाई सहज हुने बताए । नो म्यान्स ल्याडमा पुल नबने दुई देशका जनतालाई कसरी जोड्ने ? र आवतजावत कसरी हुने ? भन्ने प्रश्न गर्दै निधीले आफूहरू नेपालको मात्र नभई सीमावर्ती भारत तर्फको जनताको भावना पनि सुनाउन आएको बताए ।

भेटमा भाजपाका नेता समेत रहेका निषादले आफ्नो पार्टीको नेतृत्वमा केन्द्रीय सरकार समेत रहेको बताउँदै गृहमन्त्री अमित साहसँग कुरा गरेर समस्या समाधान गर्ने बताए । निषाद निवासमा राम मन्दिर समुद्घाटनको बधाई पत्र र प्रसाद प्रदान गरेका थिए ।

नेपालको जटही र भारतको पिपरौन जोड्ने मुख्य जमुनी नदी राजघाटको पुललाई ६ लेन सडक स्तरको पुलका रूपमा स्तरोन्तीका लागि भारतीय पक्षबाट भइरहेको अवरोध र नगराईन नगरपालिकाको वडा नं. ६ लगमालाई भारतको लहरनियासँग जोड्ने झोलुङ्गे पुलको समेत निधी नेतृत्वको टिमले अवलोकन गरेको थियो । 

उक्त पुलहरू भारतीय अवरोधका कारण निर्माण अवरुद्ध भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ