निधीको अपील: संविधान र व्यवस्था बचाउन मधेसका आठै जिल्लामा कांग्रेसलाई जिताऔँ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
700
Shares
काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले देशमा लोकतन्त्र, संविधान र वर्तमान व्यवस्था खतरामा रहेको भन्दै त्यसको रक्षाका लागि मधेस प्रदेशका सबै जिल्लामा कांग्रेसलाई जिताउन अपील गरेका छन् ।
बुधबार धनुषामा आयोजित 'प्रतिज्ञा सभा' लाई सम्बोधन गर्दै उनले वर्तमान सरकार र संसद् जननिर्वाचित नभएको र सरकार जनताप्रति जवाफदेही नभएको आरोप लगाए।
निधीले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्ने जिकिर गरे। नागरिक अधिकारका लागि बिपी कोइरालाको पालादेखि नै पार्टीले सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै उनले सबै वर्ग, जाति र समुदायको अधिकार संविधानमार्फत सुनिश्चित गर्ने काम कांग्रेसले नै गरेको दाबी गरे। "यो साधारण र नियमित चुनाव होइन, व्यवस्थामाथि प्रहार भइरहेका बेला यसलाई जोगाउन कांग्रेसको जित अनिवार्य छ," उनले भने।
मधेसको समृद्धिका बारेमा बोल्दै निधीले ८ वटै जिल्लामा सडक, पुल, अस्पताल, उच्च शिक्षा र कृषि क्षेत्रको विकासका लागि धेरै काम गर्न बाँकी रहेको औँल्याए। उनले मधेसको अधिकार र विकासका लागि कांग्रेसले निरन्तर काम गर्दै आएकाले घर-घरमा पुगेर रुख चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए। उनले नयाँ भनिएका दलहरूले मधेसवासीको भावनासँग खेल्न खोजेको आरोप लगाउँदै त्यसतर्फ सचेत रहन समेत सबैलाई आग्रह गरे।