arrow

वन्यजन्तु पीडितले क्षति वापतको राहत पाएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
forest.jpeg

गुल्मी ।  गुल्मीका किसानले  वन्यजन्तुले खाद्यन्न बाली तथा घरपालुवा पशुमा क्षति पु¥याए वापतको राहत रकम  गत दुई वर्षदेखि पाउन सकेका छैनन् । वन्यजन्तुबाट हुने क्षति वापतको राहत सहयोग सम्बन्धि निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अङ्गभङ्ग एवं मानवीय क्षति, पशुधन, घर-गोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । पीडित परिवारले राहतका लागि डिभिजन वन कार्यालयमा निवेदन दिँदै आएका छन् । 

दुई वर्ष बित्न लाग्दा पनि आफूले अझै वन्यजन्तुबाट भएको क्षतिको राहत रकम कार्यालयबाट पाउन नसकेको छत्रकोट गाउँपालिका–४ का विष्णुप्रसाद पन्थले बताए ।  उनजस्तै  रेसुङ्गा नगरपालिका–३ की चित्रकला थापाको समस्या पनि उस्तै छ । 

“बाघले बाख्रा खाइदिएपछि राहत मिल्छ भनेर वन कार्यालयमा निवेदन दिएको पनि धेरै समय भयो, अझैसम्म राहत पाएको छैन”, उनले भने । 

प्रदेश वन निर्देशनालयमार्फत डिभिजन वन कार्यालयले भुक्तानी दिने भनी सरकारले निर्णय गरिसकेको छ । तर निर्णय गरे पनि हालसम्म राहत रकमसम्बन्धी बजेट डिभिजन वन कार्यालय गुल्मीमा निकासा भएको छैन । चालु आर्थिक वर्षको असार महिनापछि कार्यविधि परिवर्तन भए पनि असार मसान्तभन्दा अघिसम्म बाँके राष्ट्रिय निकुञ्जबाट राहत रकम उपलब्ध गराउँदै आइरहेको थियो । निर्देशिका परिवर्तन भएपछि प्रदेशले जिल्लामा रकम पठाउने भने पनि हालसम्म उक्त रकम अझै डिभिजन वन कार्यालयमा आएको छैन । 

असार मसान्तअघि पेश भएका निवेदनको रकम जिल्लामा नआएको हुँदा भुक्तानीका लगि बाँके राष्ट्रिय निकुञ्जमा फाइल पठाएको जिल्ला वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी दिए । “हामीले जिल्लामा आएका भुक्तानी हुन बाँकी सबै फाइल राष्ट्रिय निकुञ्जमा पठाइसकेका छौँ”, त्यहीबाट पीडितको खातामा रकम जान्छ”, उनले भने । 

आव २०७९-०८० मा जिल्लामा वन्यजन्तुको आक्रमणबाट ६८  पशुधन र ११ जनाको अन्नबालीमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिकाबमोजिम मानवीय क्षतिको लागि २० हजारदेखि अधिकतम दश लाख, पशुधनको क्षतिका लागि रु दश हजारदेखि ३० हजार र खाद्यान्न बालीको क्षतिको लागि रु दश हजारसम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ