arrow

गठबन्धन पाँच होइन दशौँ वर्ष रहन्छ : सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
sitoula-krishna-prasad.jpg

काठमाडौँ । नेपालीका कांग्रेसका नेता तथा राष्ट्रियसभामा कोशी प्रदेशका उम्मेदवार कृष्णप्रसाद सिटौलाले गठबन्धन अझै केही चुनाव नटुट्ने बताएका छन् । मत माग्न ओखलढुङ् पुगेका नेता सिटौलाले गठबन्धनको भविष्यबारे कतिपयले प्रश्न गरिरहेको भन्दै अझै अर्को चुनावमा पनि गठबन्धन कायम रहने बताएका हुन् । 

गठबन्धन पार्टी र नेताका लागिभन्दा पनि जनताका लागि बनेको उनको भनाइ छ । संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको उनको तर्क थियो । ‘यो गठबन्धन जनताका लागि बनेको हो, आफ्नो लागि होइन । संविधान विपरीत भएका गतिविधिलाई निस्तेज गर्न बनेको हो गठबन्धन । प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ मा भएको आन्दोलन, २०४६ सालको आन्दोलन र २०६२-६३ को जनआन्दोलनको जगमा निर्माण भएको संविधानलाई खतरामा पार्ने गतिविधि देखिएकाले त्यस्ता प्रयासलाई असफल बनाउन हामी एकताबद्ध भएका हौँ ।” उनले भने, “यो गठबन्धनको भविष्य छैन । आलोपालोमा कुरा मिल्दैन भनेर टिप्पणी गर्नेलाई म यहीँबाट जवाफ दिन चाहन्छु । हाम्रो सहयात्रा यो पाँच वर्ष होइन दशौँ वर्ष कायम रहन्छ । अबका केही चुनावमा निरन्तर गठबन्धन हुन्छ ।” 

राष्ट्रियसभा निर्वाचनमा कतिपय मत बदर हुने गरेकाले त्यो अवस्था सुधार गर्न नेता सिटौलाले अपिल गरे । कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले संविधानको सफल कार्यान्वयनमा सबै दल मिलेर लाग्नुपर्नेमा जोड दिए। संविधान बनेर पनि सफल रुपले कार्यान्वयनको चरणमा नजाँदा सङ्घीयतामाथि नै प्रश्न उठ्न थालेकाले यसतर्फ सबै दल सचेत हुनुपर्ने उनको भनाइ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ