arrow

यू–१९ विश्वकप क्रिकेट

अफगानिस्तानसँग गर या मरको खेल खेल्दै नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
u19-worldcup-np-afg-2024.jpg

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । समूह डीमा नेपालसँगै अफगानिस्तान, न्यूजिल्याण्ड र पाकिस्तान रहेकामा लगातार दुई जितसहित न्यूजिल्याण्ड र पाकिस्तान अर्को चरणमा पुगिसकेका छन् । 

आजको नेपाल र अफगानिस्तानबीचको विजेता अर्को चरणमा पुग्नेछ । त्यसैले आजको खेल नेपालका लागि गर या मरको रहेको छ । नेपाल र अफगानिस्तान दुवैले यसअघिका दुवै खेल हारेका छन् । 

खेल दिउँसो पौने २ बजे इस्ट लण्डनमा हुँदैछ । यो खेलमा पराजित हुने टिम अर्को चरण प्रवेश गर्न पाउने छैन । 

नेपाल र पाकिस्तानको खेल
नेपाल बुधबार राति पाकिस्तानसँग ५ विकेटले पराजित भयो । इन्ट लण्डनमा जितका लागि १९८ रनको सामान्य चुनौती पछ्याएको पाकिस्तानले ४७.४ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गरेको हो । 

संयमित शुरुआत गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेको थियो । ओपनरद्वय श्यामल हुसेन र शहजैब खानले समान ३७ रन जोडे । जित निश्चितजस्तै भएका बेलामा थप २४ रन जोड्ने क्रममा ४ विकेट ढलेपछि नेपालको आशा एकाएक बढेको थियो । 

क्रिजमा सेट भइसकेका शुरुआती तीन ब्याट्सम्यानलाई आकाश चन्दले पभेलियन फर्काएका थिए । 

त्यसपछि पार्ट टाइम बलर आकाश त्रिपाठीले पहिलो ओभरमै विकेट झारेपछि खेल केही समय रोमाञ्चक बनेको थियो । 

त्यसपछि भने पाकिस्तानले निरन्तर रन बनाउँदै जाँदा नेपाली बलरहरु निरीह देखिन पुगे । १६८ रन बनाउँदा दिपेश कणेलले विकेट लिए पनि हार भने टार्न सकेनन् । 

पाकिस्तानका लागि अजान अवाइसले अविजित रहँदै ६३ रन बनाए । सिनियर टिमबाट विश्वकप छनोट तथा एसिया कप खेलेका अनुभवी गुल्सन झाले सफलता हासिल गर्न नसक्दा पाकिस्तानले सहज जित निकाल्यो । 

पाकिस्तानले २८ ओभरमा ४ विकेटको क्षतिमा १०४ रन बनाउँदा भने नेपालको जितको सम्भावना देखिएको थियो । 

खेलमा नेपालले पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १९७ रनमात्र बनायो । 

विपिन रावलले सर्वाधिक ३९ रन बनाउने क्रममा ६८ बलको सामना गरेका थिए । उनले १ छक्का र ४ चौकाको मद्धतले ३९ रन बनाएका हुन् । 

दोस्रो ठूलो स्कोर दीपक डुम्रे र अतिरिक्त रनका रुपमा नेपालले पाएको हो । डुम्रेले ५८ बलमा २६ रन जोडे भने अतिरिक्तका रुपमा २६ रन उपहार पाएको हो । 

त्यस्तै कप्तान देव खनालले ३७ बलमा २३ रन जोडेर पभेलियन फर्के । सुभाष भण्डारीले २० रन बनाउँदा भरपर्दा अलराउन्डर मानिएका गुल्सन झाले भने १८ रनमात्रै बनाए । 

गुल्सनको ब्याटिङ यू–१९ मा खुलेको छैन । आकाश चन्दले ११ बलमा अविजित रहँदै १६ रन जोडे । दिपेश कणेलले १७ बलमा १३ रन बनाए । 

न्यूजिल्याण्डविरुद्ध शानदार ९० रन बनाएका ओपनर अर्जुन कुमालले भने पाकिस्तानविरुद्ध कुनै कमाल देखाउन सकेनन् । उनले १२ बलको सामना गर्दै मात्र ६ रन बनाए । त्यस्तै आकाश त्रिपाठी पनि १० बलमा ६ रन बनाएर आउट भए । उत्तम मगरले १५ बलमा ४ रनमात्र बनाउन सके । दुर्गेश गुप्ताले रनको खाता खोलेनन् । 

यस्तो थियो नेपाल र न्यूजिल्याण्डको खेल
गत आइतबार भएको पहिलो खेलमा यू–१९ क्रिकेटमा नेपाल पहिलो पटक न्यूजिल्याण्डसँग पराजित भयो । यसअघि भएका दुवै भेटमा नेपाल विजयी भएकामा तेस्रो भेटमा नेपाल न्यूजिल्याण्डसँग पराजित भएको हो । 

पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । ३०३ रनको फराकिलो चुनौती पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २३८ रन बनायो । नेपालका लागि ओपनिङ खेलाडी अर्जुन कुमालले संयमित ब्याटिङ गर्दैै ९० रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । उनले १०४ बलमा १२ चौकाको मद्धतले ९० रन बनाएका हुन् । 

अहिलेसम्म यू–१९ विश्वकपमा एउटा पनि शतक जोड्न नसकेको अवस्थामा अर्जुनले आज शतक जोड्ने अपेक्षा गरिएको थियो । तर उनी ‘नर्भस नाइन्टिज’ को सिकार भए । 

नेपालका लागि कप्तान देव खनालले ३४ बलमा ३६ रन बनाए । नेपाली खेलाडीहरु अन्तिमसम्म क्रिजमा रहे । सो क्रममा १० औँ विकेटको साझेदारी राम्रो भएको थियो । 

दशौँ विकेटका लागि सुवाश भण्डारी र तिलक भण्डारीबीच ३७ रनको अविजित साझेदारी भएको थियो । सो क्रममा सुवासले ५२ बलमा अविजित रहँदै ३३ तथा तिलकले १९ बलमा अविजित रहँदै १७ रन बनाए । उनले एक छक्का र २ चौका हानेका थिए । 

न्यूजिल्याण्डका लागि मासन क्लार्कले सर्वाधिक ३ विकेट लिए । यसअघि इष्ट लण्डनमा टस जितेर न्यूजिल्याण्डले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३०२ रन बनायो । 

नेपालले शुरुआती १० ओभरमा सफलता हासिल गर्न नसके पनि त्यसपछि भने लगातार तीन विकेट लिएको थियो । १४.३ ओभरमा ६७ रन बनाउँदा न्यूजिल्याण्डले ३ विकेट गुमाएको थियो ।  

त्यसपछि नेपालले ४१.५ ओभरमा मात्र चौथो विकेट लियो । चौथो विकेटका लागि १५७ रनको साझेदारी भएको थियो ।  

स्नेहिथ रेड्डी र कप्तान अस्कर ज्याक्सनले १५७ रनको साझेदारी गरेका हुन् । रेड्डीले नेपाली बलरहरुलाई निस्तेज पार्ने क्रममा १२५ बलमा अविजित रहँदै १४७ रन बनाए । कप्तान अस्करले ७५ रन बनाए ।
 
नेपालका लागि सुवाश भण्डारीले ३, गुल्सन झाले २ तथा दिपेश कणेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १–१ विकेट लिए । 

नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेकोमा दुवै पटक नेपाल विजयी भएको थियो । नेपाल सन् २००६ मा १ विकेटले र २०१६ मा ३२ रनले विजयी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ