- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा अहिले नेपालले अफगानिस्तानसँग खेलिरहेको छ ।
अर्को चरण प्रवेशका लागि गर या मरको खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ । खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेसँगै नेपालले पहिले बलिङको निम्तो पाएको हो ।
नेपालले अपेक्षाअनुसार नै सनसनीपूर्ण बलिङ गरेको छ । पहिलो ओभरमै विकेट लिएको नेपालले दोस्रो ओभरमा पनि विकेट लिएर अफगानिस्तानलाई दबाबमा पारेको छ ।
अफगानिस्तानले ४ ओभरमा २ विकेट गुमाएर मात्र ५ रन जोडेको छ । नेपालका लागि गुल्सन झा र आकाश चन्दले विकेट लिएका छन् ।
समूह डीमा नेपालसँगै अफगानिस्तान, न्यूजिल्याण्ड र पाकिस्तान रहेकामा लगातार दुई जितसहित न्यूजिल्याण्ड र पाकिस्तान अर्को चरणमा पुगिसकेका छन् ।
आजको नेपाल र अफगानिस्तानबीचको विजेता अर्को चरणमा पुग्नेछ । त्यसैले आजको खेल नेपालका लागि गर या मरको रहेको छ । नेपाल र अफगानिस्तान दुवैले यसअघिका दुवै खेल हारेका छन् ।
बफेलो पार्कको यो खेलमा पराजित हुने टिम अर्को चरण प्रवेश गर्न पाउने छैन ।
नेपाल र पाकिस्तानको खेल
नेपाल बुधबार राति पाकिस्तानसँग ५ विकेटले पराजित भयो । इन्ट लण्डनमा जितका लागि १९८ रनको सामान्य चुनौती पछ्याएको पाकिस्तानले ४७.४ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गरेको हो ।
संयमित शुरुआत गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेको थियो । ओपनरद्वय श्यामल हुसेन र शहजैब खानले समान ३७ रन जोडे । जित निश्चितजस्तै भएका बेलामा थप २४ रन जोड्ने क्रममा ४ विकेट ढलेपछि नेपालको आशा एकाएक बढेको थियो ।
क्रिजमा सेट भइसकेका शुरुआती तीन ब्याट्सम्यानलाई आकाश चन्दले पभेलियन फर्काएका थिए ।
त्यसपछि पार्ट टाइम बलर आकाश त्रिपाठीले पहिलो ओभरमै विकेट झारेपछि खेल केही समय रोमाञ्चक बनेको थियो ।
त्यसपछि भने पाकिस्तानले निरन्तर रन बनाउँदै जाँदा नेपाली बलरहरु निरीह देखिन पुगे । १६८ रन बनाउँदा दिपेश कणेलले विकेट लिए पनि हार भने टार्न सकेनन् ।
पाकिस्तानका लागि अजान अवाइसले अविजित रहँदै ६३ रन बनाए । सिनियर टिमबाट विश्वकप छनोट तथा एसिया कप खेलेका अनुभवी गुल्सन झाले सफलता हासिल गर्न नसक्दा पाकिस्तानले सहज जित निकाल्यो ।
पाकिस्तानले २८ ओभरमा ४ विकेटको क्षतिमा १०४ रन बनाउँदा भने नेपालको जितको सम्भावना देखिएको थियो ।
खेलमा नेपालले पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १९७ रनमात्र बनायो ।
विपिन रावलले सर्वाधिक ३९ रन बनाउने क्रममा ६८ बलको सामना गरेका थिए । उनले १ छक्का र ४ चौकाको मद्धतले ३९ रन बनाएका हुन् ।
दोस्रो ठूलो स्कोर दीपक डुम्रे र अतिरिक्त रनका रुपमा नेपालले पाएको हो । डुम्रेले ५८ बलमा २६ रन जोडे भने अतिरिक्तका रुपमा २६ रन उपहार पाएको हो ।
त्यस्तै कप्तान देव खनालले ३७ बलमा २३ रन जोडेर पभेलियन फर्के । सुभाष भण्डारीले २० रन बनाउँदा भरपर्दा अलराउन्डर मानिएका गुल्सन झाले भने १८ रनमात्रै बनाए ।
गुल्सनको ब्याटिङ यू–१९ मा खुलेको छैन । आकाश चन्दले ११ बलमा अविजित रहँदै १६ रन जोडे । दिपेश कणेलले १७ बलमा १३ रन बनाए ।
न्यूजिल्याण्डविरुद्ध शानदार ९० रन बनाएका ओपनर अर्जुन कुमालले भने पाकिस्तानविरुद्ध कुनै कमाल देखाउन सकेनन् । उनले १२ बलको सामना गर्दै मात्र ६ रन बनाए । त्यस्तै आकाश त्रिपाठी पनि १० बलमा ६ रन बनाएर आउट भए । उत्तम मगरले १५ बलमा ४ रनमात्र बनाउन सके । दुर्गेश गुप्ताले रनको खाता खोलेनन् ।
यस्तो थियो नेपाल र न्यूजिल्याण्डको खेल
गत आइतबार भएको पहिलो खेलमा यू–१९ क्रिकेटमा नेपाल पहिलो पटक न्यूजिल्याण्डसँग पराजित भयो । यसअघि भएका दुवै भेटमा नेपाल विजयी भएकामा तेस्रो भेटमा नेपाल न्यूजिल्याण्डसँग पराजित भएको हो ।
पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । ३०३ रनको फराकिलो चुनौती पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २३८ रन बनायो । नेपालका लागि ओपनिङ खेलाडी अर्जुन कुमालले संयमित ब्याटिङ गर्दै ९० रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । उनले १०४ बलमा १२ चौकाको मद्धतले ९० रन बनाएका हुन् ।
अहिलेसम्म यू–१९ विश्वकपमा एउटा पनि शतक जोड्न नसकेको अवस्थामा अर्जुनले आज शतक जोड्ने अपेक्षा गरिएको थियो । तर उनी ‘नर्भस नाइन्टिज’ को सिकार भए ।
नेपालका लागि कप्तान देव खनालले ३४ बलमा ३६ रन बनाए । नेपाली खेलाडीहरु अन्तिमसम्म क्रिजमा रहे । सो क्रममा १० औँ विकेटको साझेदारी राम्रो भएको थियो ।
दशौँ विकेटका लागि सुवाश भण्डारी र तिलक भण्डारीबीच ३७ रनको अविजित साझेदारी भएको थियो । सो क्रममा सुवासले ५२ बलमा अविजित रहँदै ३३ तथा तिलकले १९ बलमा अविजित रहँदै १७ रन बनाए । उनले एक छक्का र २ चौका हानेका थिए ।
न्यूजिल्याण्डका लागि मासन क्लार्कले सर्वाधिक ३ विकेट लिए । यसअघि इष्ट लण्डनमा टस जितेर न्यूजिल्याण्डले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३०२ रन बनायो ।
नेपालले शुरुआती १० ओभरमा सफलता हासिल गर्न नसके पनि त्यसपछि भने लगातार तीन विकेट लिएको थियो । १४.३ ओभरमा ६७ रन बनाउँदा न्यूजिल्याण्डले ३ विकेट गुमाएको थियो ।
त्यसपछि नेपालले ४१.५ ओभरमा मात्र चौथो विकेट लियो । चौथो विकेटका लागि १५७ रनको साझेदारी भएको थियो ।
स्नेहिथ रेड्डी र कप्तान अस्कर ज्याक्सनले १५७ रनको साझेदारी गरेका हुन् । रेड्डीले नेपाली बलरहरुलाई निस्तेज पार्ने क्रममा १२५ बलमा अविजित रहँदै १४७ रन बनाए । कप्तान अस्करले ७५ रन बनाए ।
नेपालका लागि सुवाश भण्डारीले ३, गुल्सन झाले २ तथा दिपेश कणेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १–१ विकेट लिए ।
नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेकोमा दुवै पटक नेपाल विजयी भएको थियो । नेपाल सन् २००६ मा १ विकेटले र २०१६ मा ३२ रनले विजयी भएको थियो ।