arrow

श्रीमतीको स्मृतिमा राजुले गरे सात लाखको छात्रवृत्ति कोष स्थापना

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० माघ १३ शनिबार
raju-kc-scholarship-trust-k.jpg

काभ्रेपलाञ्चोक ।  पनौती–८, खरिबोटका राजु केसीले पत्नीको स्मृतिमा भालेश्वर माध्यमिक विद्यालय, मल्पीमा छात्रवृति कोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययनरत गरिब, जेहन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामग्रीलगायत आवश्यक सामानको लागि वार्षिक रुपमा ब्याज रकम प्रदान गर्ने गरी पत्नी तुलसाको स्मृतिमा केसीले सात लाख रुपैयाँको तुलसा स्मृति छात्रवृति कोष स्थापना गरेका हुन् ।

विद्यार्थीहरुको चौतर्फी विकास र हितका लागि कोष स्थापना गरिएको केसीले जानकारी दिए । उनका अनुसार कोषबाट विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत १–१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृति प्रदान गरिनेछ ।

दाता राजु केसी र श्रीमती तारा भट्टराई केसीले उक्त रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसी, शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोषकुमार केसी र प्रधानाध्यापक रामचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।

पुष २८ गते नगरप्रमुख रामशरण भण्डारी, वडा अध्यक्ष बेदप्रसाद बञ्जारा समेतको उपस्थितिमा विद्यालय र केसी परिवारबीच कोष सञ्चालन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

२०२८ सालमा साविक भूमिडाँडा गाविसमा बाबु भक्तबहादुर र आमा ललितकुमारीको कोखबाट जन्मिएकी तुलसा र राजुबीच २०४४ सालमा विवाह भएको थियो । 

१ वर्षअघि तुलसाको हृदयाघातबाट मृत्यु भएको थियो । तुलसा र राजुका १ छोरा र १ छोरी छन् । छोरी दिपा केसी, छोरा अमित केसी र बुहारी रोशी विदेशमा छन् ।

दाता केसीका बुबा लिलाबहादुर केसी उक्त विद्यालयका संस्थापक मध्येका हुन् । साविक मल्पी गाविसका पूर्वप्रधानपञ्च रहेका लिलाबहादुर उक्त विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत हुन् ।

उनका जेठा छोरा प्रदिप केसीले पनि सोही विद्यालयमा बुबाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।

सहयोग हस्तान्तरण गर्दै तारा भट्टराई केसीले शिक्षाको उज्यालो किरणबाट कोही पनि बञ्चित हुनु नपरोस् भनेर सहयोग हस्तान्तरण गरिएको भन्दै त्यसको सदूपयोग हुने विश्वास गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले आवश्यकता पर्ने र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति लगायतमा कोष प्रयोग हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ