- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौं अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ ।
अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएपछि हिमालको मौलिक स्वरुप धमिलिदै जाँदा कालो देखिन थालेको हो ।
धौलागिरि हिमालमा पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि पछिल्लो समय हिउँ पर्ने समय (हिउँद) मा पनि हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको धवलागिरि गाउँपालिका-४ का वडासदस्यसमेत रहेका पर्यटन व्यवसायी हरि तिलिजाले जानकारी दिए ।
‘धौलागिरि हिमालको स्वरुपमा परिवर्तन देखिन थालेको करिब सात वर्षजति भयो । त्यसभन्दा पहिले हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो’, उनले भने, ‘पछिल्ला केही वर्षयता हिमालको तल्लो भाग कालो पहाडजस्तो देखिन थालेको छ । हिउँदमासमेत हिमालको तल्लो भाग धमिलो र कालो देखिन थालेको छ ।’
एक दशक अघिसम्म धौलागिरि हिमाल र पश्चिमका उच्च लेकाली क्षेत्रमा पुस लाग्ने वित्तिकै हिउँपरेको देखिनेमा विगत केही वर्षयता हिमालमा हिउँ परेको हेर्न फागुन कुर्नुपर्ने अवस्था आएको स्थानीय टेकप्रसाद पुनले बताए ।
‘पहिले पुस महिनामा भारी हिमपात हुने भए पनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ । यसवर्ष मध्य माघसम्म पनि राम्रोसँग हिउँ परेको छैन । समयमा हिउँ पर्याप्त नपर्ने, हिमालमा भएको हिउँ पग्लिएर जाँदा हिउँले ढाकिएका भू-भाग काला पहाडमा परिणत हुँदै जान थालेका छन्’, उनले भने ।
धौलागिरि हिमालको आधारशिविर जाने पदमार्गअन्तर्गत जापानी आधार शिविरदेखि सुरु हुने हिउँ जमेर बनेको हिमतालसमेत बर्सेनि पग्लिएर जाने क्रम बढेसँगै यस्ता तालको सतह घट्दै गएको पाइएको धवलागिरि गाउँपालिका-४ मुदीका वडाअध्यक्ष यामबहादुर घर्तीले बताए ।
‘म जान्ने हुँदादेखि धौलागिरि वरपरका सबै डाँडाकाँडा मङ्सिरदेखि नै हिउँ परेर सेताम्यै हुन्थे’, उनले भने, ‘खर्क र खोल्सामा चिस्यान हुन्थ्यो । अहिले हिमालको तल्लो भाग र वरपरिका डाँडा सबै काला भएका देखिन्छन् ।”
समयमा हिउँ नपर्दा हिमाल मात्र काला देखिएका होइनन् तल्लो क्षेत्रमा पाइने पशुपक्षी र जङ्गली जनावर पनि बसाइँ सर्न थालेका स्थानीयवासीले बताएका छन् ।’ धौलागिरि वरपरका उच्च लेकाली जङ्गलमा मात्र पाइने रेडपाण्डा अहिले बस्ती छेउमा देखिन थालेका छन् । कालीज, तित्रा पनि गाउँमै भेटिन थालेका छन्” स्थानीय पृथबहादुर विकले भने ।
धौलागिरि मात्रै नभइ जिल्लाको गुर्जामा रहेका गुर्जा, चुरेन र पुथा हिमालमा समेत बर्सेनि हिउँको मात्रा घट्दै गएको स्थानीयवासी बताउँछन् । याममा पनि कम मात्रै हिमपात हुने र तापक्रम वृद्धिले हिउँ पग्लिँदै बग्ने क्रमले हिमाल हिउँविहीन देखिन थालेका उनको भनाइ थियो ।
हिउँको मात्रा घट्दै गएपछि अहिले हिमालको तल्लो भाग पूरै काला पहाडजस्तो देखिन थालेको विकले बताउनुभयो । “पछिल्ला केही वर्षयता हिउँ पर्ने क्रम घट्दै गएको छ । दश वर्षजति भयो हिमाल र वरपरका क्षेत्रमा हिउँ कम पर्न थालेको’, उनले भने, ‘पहिले पाँच छ फिटसम्म हिउँ पर्दथ्यो । हिउँ पग्लिन हप्तौँ लाग्थ्यो । अहिले मुस्किलले दुई/तीन फिटसम्म पर्छ । त्यो पनि एकै दिनमा पग्लिएर बग्छ ।”
हिउँ पर्ने क्रम घट्दै गएपछि हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको वडाअध्यक्ष घर्तीले जानकारी दिए । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर हिउँ पग्लिनेमा मात्रै नदेखिएर हिमाली क्षेत्रको खेतीबालीमा पनि देखिएको उनको भनाइ थियो ।
पहिले खेतीबालीमा खासै समस्या नदेखिने गरेपनि पछिल्लो समय विभिन्न प्रजातिका किराको सङ्क्रमणले आलु, जौ लगायतका खाद्य बाली उत्पादनमा कमी आउन थालेको किसानको भनाइ छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् ।
यस्तो छ धौलागिरि हिमालको इतिहास
धौलागिरि हिमालको इतिहास भारत स्वतन्त्र हुनुभन्दा पहिला सन् १९४७ अघि भारतमा शासन गरेका अङ्ग्रेजहरुसँग जोडिएको इतिहासकारको भनाइ छ ।
‘सन् १९४७ पूर्व भारतमा अङ्ग्रेजहरुले शासन गर्दा भारतको उत्तरप्रदेशमा पर्ने गोरखपुरबाट उत्तरतर्फ हेर्दा अङ्ग्रेजले सेतो पहाड देखे । सेता पहाड देख्दा उनीहरु लोभिएपछि खोजी गर्दै जाँदा धौलागिरि हिमाल पत्ता लगाएका हुन्’, म्याग्दीका इतिहासकार कर्णबहादुर बानियाँले भने ।
उनका अनुसार अङ्ग्रेजहरूले भारतको गोरखपुरबाट उत्तरमा रहेको ‘सेतो पहाड’ देखेपछि यसको खोजी गरेका थिए । त्यसपछि सन् १८०० मईमा ब्रिटिस इण्डियन सर्वेयर टोलीले यो हिम शृङ्खलाको बारेमा केही कुरा सार्वजनिक गरेको थियो ।
म्याग्दी जिल्लाको उत्तरी भू-भागमा धवलागिरि हिम शृङ्खला रहेको छ । यो हिम शङ्खला सेतो भएकाले यसलाई धवलागिरि भनिएको हो भन्ने बानियाँको भनाइ छ ।
‘धवलको अर्थ ‘सेतो’ र गिरीको अर्थ ‘पहाड’ भन्ने हुन्छ । यो हिम शृङ्खला बिहानीको झुल्के घाममा चाँदी झैँ टल्कने भएकोले यसलाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरि’ भनिएको हो’, इतिहासविद् बानियाँले भने, ‘म्याग्दी हिमाल, ताल, छहरा र पहराले सजिएको छ । यिनै सौन्दर्यलेयुक्त भएकाले यहाँको संस्कृति पनि शृङ्गारिक र मौलिक छ ।’
बानियाँका अनुसार प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले सम्पन्न म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकलाई मोहनी लगाउने प्रशस्त सम्पदा हुँदाहुँदै पनि समुचित प्रयोग, प्रचारप्रसार र व्यवस्थापनको अभावमा त्यस्ता सम्पदा अझै पनि ओझेलमा परेका छन् । त्यसका साथै यहाँ दर्जनौँ हिमशृङ्खला, छहरा, ताल, गल्छी, झरना रहेका छन् ।
पर्यटकलाई मख्ख पारेर धेरै दिनसम्म एकै ठाउँमा बसिरहुँ जस्तो वातावरण बनाउन आवश्यक पर्ने मनोरम प्राकृतिक दृश्य म्याग्दीमा विद्यमान छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा संसारको सबैभन्दा गहिरो गल्छी रहेको छ, जसलाई अन्धगल्छी भनिन्छ । यो जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने दाना गाउँको पुछारमा काली गण्डकीले बनाएको विश्वकै सबैभन्दा गहिरो गल्छी हो ।
गल्छीको उत्तर-पश्चिममा धवलागिरि हिमाल (८,१६७ मी) र पूर्वमा अन्नपूर्ण हिमाल (८,०९१ मी) छन् । यी दुई हिमशङ्खला बीचको दूरी करिब ३५ मिटर मात्र छ । दाना करिब १,२०० मिटरको उचाइमा अवस्थित छ । रासस