arrow

यू–१९ विश्वकप क्रिकेट

विश्वकपको सुपर सिक्समा नेपालले बंगलादेशसँग खेल्दै, यो खेलअघि नै सेमिफाइनल होडबाट बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
u19-nep-bang-2024.jpg

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दैछ । 

नेपाल समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समूह डी मा तेस्रो हुँदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेश समूह चरणमा ३ खेलमा २ जित र एक हारसहित समूह ए बाट दोस्रो हुँदै सुपर सिक्समा पुगेको हो ।

नेपालले समूह चरणमा न्यूजिल्याण्ड र पाकिस्तानसँग हार बेहोरेको भए पनि अफगानिस्तानमाथि रोमाञ्चक जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो । 

आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २–२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् । 

नेपाल सुपर सिक्सको खेल खेल्नुअघि नै सेमिफाइनलको होडबाट बाहिरियो

आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

मंगलबार सम्पन्न सुपरसिक्सका खेलमा भारत र पाकिस्तानले आ–आफ्ना खेल जितेसँगै सुपर सिक्समा रहेका नेपालसहितका तीन देश सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालसहित न्यूजिल्याण्ड र आयरल्याण्ड अब सेमिफाइनलको दौडबाट बाहिरिएका हुन् ।

सुपर सिक्सको समुह १ मा भारत र पाकिस्तानको ६–६ अंक भएको छ भने बंगलादेशको २ अंक रहेको छ । त्यस्तै न्यूजिल्याण्डको २ अंक रहेको छ भने नेपाल र आयरल्याण्डको शून्य अंक रहेको छ ।

नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगे पनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिँदा नेपाल अंकविहीन भएको हो ।

अब नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग विजयी भएपनि सेमिफाइनल पुग्न असफल हुने छ ।  योसँगै नेपाल सुपरसिक्सका २ खेल खेलेर घर फर्किने भएको छ ।
   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ