arrow

यू–१९ विश्वकप क्रिकेट

सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतसँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १९ शुक्रबार
u19-worldcup-nepal-2024-01-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो नेपालको विश्वकपको अन्तिम खेल हो । नेपाल सुपर सिक्समा खेल्नुअघि नै सेमिफाइनलको होडबाट बाहिरिइसकेको छ । 

सुपर सिक्सको नेपालको समूहबाट भारत सेमिफाइनलमा लगभग पुगिसकेको छ भने पाकिस्तान र बंगलादेशमध्ये एक टिम सेमिफाइनला पुग्नेछ । 

नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । सेमिफाइनल होडबाट न्यूजिल्याण्ड र आयरल्याण्ड पनि बाहिरिएका छन् । 

नेपालले भारतसँग खेलेपछि नेपाल फर्किनेछ । आजको खेल दिउँसो १ः४५ बजे शुरु हुनेछ ।

अर्को समूहबाट अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेष्ट इन्डिज सेमिफाइनल नजिक पुगेका छन् । 

नेपाल र बंगलादेशबीचको खेल
सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भयो । १७० रनको सामान्य चुनौती बंगलादेशले ५ विकेटको क्षतिमा २५.२ ओभरमै पूरा गर्यो । 

बंगलादेशका लागि अरिफुल इस्लामले ३८ बलमा अविजित रहँदै ५९ तथा जिशन आलमले ४३ बलमा ५५ रन बनाए । 

नेपालका लागि सबै ५ विकेट सुवाश भण्डारीले लिए । अन्य बलरहरु आफप सिद्ध भए । 

यसअघि खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै एक बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १६९ रन बनायो । 

२९ रन जोड्दा शुरुआती ३ विकेट गुमाएर ब्याटिङका लागि संघर्ष गरेको नेपालका लागि कप्तान देव खनाल र विशाल विक्रम केसीले केही संयमित खेलेसँगै यो योगफलसम्म पुगेको हो । विशालले १०० बलमा ४८ तथा देवले ६० बलमा ३५ रन बनाए । 

सुवाश भण्डारीले अविजित रहँदै १८, अर्जुन कुमालले १४, दुर्गेश गुप्ताले ९, गुल्सन झाले ३, दिपक बोहराले ३, दिपेश कणेलले ३, आकाश त्रिपाठीले ३ तथा विपिन रावलले २ रनमात्र बनाउन सके । आकाश चन्दले खाता खोल्न सकेनन् । तेस्रो उच्च स्कोर ३१ रनका रुपमा नेपालले अतिरिक्त रन पायो । 

नेपाल समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समूह डी मा तेस्रो हुँदै सुपर सिक्समा पुगेको हो । 

नेपालले समूह चरणमा न्यूजिल्याण्ड र पाकिस्तानसँग हार बेहोरेको भए पनि अफगानिस्तानमाथि रोमाञ्चक जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको थियो । 
समूह चरणका खेलमा नेपालको प्रदर्शन–
अफगानिस्तानविरुद्धको खेल

समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सनसनीपूर्ण १ विकेटको जित हासिल गर्दै नेपाल अर्को चरणमा प्रवेश गर्यो । उक्त गर या मरको ‘लो स्कोरिङ’ खेलमा नेपालले १४६ रनको चुनौती ४४.४ ओभरमा ९ विकेटको क्षतिमा पूरा गरेको हो । 

बलरहरु हावी भएको पिचमा नेपालले सनसनीपूर्ण रोमाञ्चक जित हासिल गरेको हो । 

नेपालका लागि कप्तान देव खनालले कप्तानी इनिङ्स खेलेर जितको आधार तय गरेपछिमात्र आउट भए । उनले ८९ बलमा ७ चौकाको मद्धतले ५८ रन बनाए । त्यस्तै दिपक बोहराले ४२ बलमा २७ रन जोडे । 

त्यस्तै आकाश त्रिपाठीले १६, अर्जुन कुमालले १०, सुवाश भण्डारीले अविजित रहँदै ९, दिपक डुम्रेले ५, दिपेश कणेलले ४, विपिन रावलले २, गुल्सन झाले १, आकाश चन्दले १ रन बनाए । तिलक भण्डारीले बलको सामना गरेनन् । 

खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै सनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा अफगानिस्तानलाई ४०.१ ओभरमा अलआउट गर्दै १४५ रनमा रोक्यो । 

अफगानिस्तानले ८८ रन जोड्दा ८ विकेट गुमाइसकेको भए पनि नवौँ विकेटको साझेदारी राम्रो भएको थियो । 

आठौँ नम्बरमा आएका एएम घजानफरले आक्रामक ब्याटिङ गर्ने क्रममा २१ बलमा ३७ रन बनाए । त्यस्तै कप्तान नसिम खानले ३१ रन बनाए भने फरिदुन दाउदजाईले २९ रन बनाए । 

त्यस्तै हसन ईसकिलले २० रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । पाँच ब्याटरले त रनको खातासमेत खोल्न सकेनन् । 

नेपाललाई सफलता दिलाउने क्रममा आकाश चन्द एक्लैले ५ विकेट लिए । उनको विश्वकपमा सबैभन्दा उत्कृष्ट बलिङ हो । 

त्यस्तै दिपेश कणेलले २ तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले १–१ विकेट लिए ।

समूह डीमा नेपालसँगै अफगानिस्तान, न्यूजिल्याण्ड र पाकिस्तान रहेकामा लगातार दुई जितसहित न्यूजिल्याण्ड र पाकिस्तान अर्को चरणमा पुग्दा नेपाल तेस्रो भएर अर्को चरणमा पुगेको हो । अफगानिस्तान भने सबै खेल हारेर बाहिरिएको छ । 

नेपाल र पाकिस्तानको खेल
नेपाल बुधबार राति पाकिस्तानसँग ५ विकेटले पराजित भयो । इन्ट लण्डनमा जितका लागि १९८ रनको सामान्य चुनौती पछ्याएको पाकिस्तानले ४७.४ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गरेको हो । 

संयमित शुरुआत गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेको थियो । ओपनरद्वय श्यामल हुसेन र शहजैब खानले समान ३७ रन जोडे । जित निश्चितजस्तै भएका बेलामा थप २४ रन जोड्ने क्रममा ४ विकेट ढलेपछि नेपालको आशा एकाएक बढेको थियो । 

क्रिजमा सेट भइसकेका शुरुआती तीन ब्याट्सम्यानलाई आकाश चन्दले पभेलियन फर्काएका थिए । 

त्यसपछि पार्ट टाइम बलर आकाश त्रिपाठीले पहिलो ओभरमै विकेट झारेपछि खेल केही समय रोमाञ्चक बनेको थियो । 

त्यसपछि भने पाकिस्तानले निरन्तर रन बनाउँदै जाँदा नेपाली बलरहरु निरीह देखिन पुगे । १६८ रन बनाउँदा दिपेश कणेलले विकेट लिए पनि हार भने टार्न सकेनन् । 

पाकिस्तानका लागि अजान अवाइसले अविजित रहँदै ६३ रन बनाए । सिनियर टिमबाट विश्वकप छनोट तथा एसिया कप खेलेका अनुभवी गुल्सन झाले सफलता हासिल गर्न नसक्दा पाकिस्तानले सहज जित निकाल्यो । 

पाकिस्तानले २८ ओभरमा ४ विकेटको क्षतिमा १०४ रन बनाउँदा भने नेपालको जितको सम्भावना देखिएको थियो । 

खेलमा नेपालले पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १९७ रनमात्र बनायो । 

विपिन रावलले सर्वाधिक ३९ रन बनाउने क्रममा ६८ बलको सामना गरेका थिए । उनले १ छक्का र ४ चौकाको मद्धतले ३९ रन बनाएका हुन् । 

दोस्रो ठूलो स्कोर दीपक डुम्रे र अतिरिक्त रनका रुपमा नेपालले पाएको हो । डुम्रेले ५८ बलमा २६ रन जोडे भने अतिरिक्तका रुपमा २६ रन उपहार पाएको हो । 

त्यस्तै कप्तान देव खनालले ३७ बलमा २३ रन जोडेर पभेलियन फर्के । सुभाष भण्डारीले २० रन बनाउँदा भरपर्दा अलराउन्डर मानिएका गुल्सन झाले भने १८ रनमात्रै बनाए । 

गुल्सनको ब्याटिङ यू–१९ मा खुलेको छैन । आकाश चन्दले ११ बलमा अविजित रहँदै १६ रन जोडे । दिपेश कणेलले १७ बलमा १३ रन बनाए । 

न्यूजिल्याण्डविरुद्ध शानदार ९० रन बनाएका ओपनर अर्जुन कुमालले भने पाकिस्तानविरुद्ध कुनै कमाल देखाउन सकेनन् । उनले १२ बलको सामना गर्दै मात्र ६ रन बनाए । त्यस्तै आकाश त्रिपाठी पनि १० बलमा ६ रन बनाएर आउट भए । उत्तम मगरले १५ बलमा ४ रनमात्र बनाउन सके । दुर्गेश गुप्ताले रनको खाता खोलेनन् । 

यस्तो थियो नेपाल र न्यूजिल्याण्डको खेल
गत आइतबार भएको पहिलो खेलमा यू–१९ क्रिकेटमा नेपाल पहिलो पटक न्यूजिल्याण्डसँग पराजित भयो । यसअघि भएका दुवै भेटमा नेपाल विजयी भएकामा तेस्रो भेटमा नेपाल न्यूजिल्याण्डसँग पराजित भएको हो । 

पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । ३०३ रनको फराकिलो चुनौती पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २३८ रन बनायो । नेपालका लागि ओपनिङ खेलाडी अर्जुन कुमालले संयमित ब्याटिङ गर्दै ९० रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । उनले १०४ बलमा १२ चौकाको मद्धतले ९० रन बनाएका हुन् । 

अहिलेसम्म यू–१९ विश्वकपमा एउटा पनि शतक जोड्न नसकेको अवस्थामा अर्जुनले आज शतक जोड्ने अपेक्षा गरिएको थियो । तर उनी ‘नर्भस नाइन्टिज’ को सिकार भए । 

नेपालका लागि कप्तान देव खनालले ३४ बलमा ३६ रन बनाए । नेपाली खेलाडीहरु अन्तिमसम्म क्रिजमा रहे । सो क्रममा १० औँ विकेटको साझेदारी राम्रो भएको थियो । 

दशौँ विकेटका लागि सुवाश भण्डारी र तिलक भण्डारीबीच ३७ रनको अविजित साझेदारी भएको थियो । सो क्रममा सुवासले ५२ बलमा अविजित रहँदै ३३ तथा तिलकले १९ बलमा अविजित रहँदै १७ रन बनाए । उनले एक छक्का र २ चौका हानेका थिए । 

न्यूजिल्याण्डका लागि मासन क्लार्कले सर्वाधिक ३ विकेट लिए । यसअघि इष्ट लण्डनमा टस जितेर न्यूजिल्याण्डले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३०२ रन बनायो । 

नेपालले शुरुआती १० ओभरमा सफलता हासिल गर्न नसके पनि त्यसपछि भने लगातार तीन विकेट लिएको थियो । १४.३ ओभरमा ६७ रन बनाउँदा न्यूजिल्याण्डले ३ विकेट गुमाएको थियो ।  

त्यसपछि नेपालले ४१.५ ओभरमा मात्र चौथो विकेट लियो । चौथो विकेटका लागि १५७ रनको साझेदारी भएको थियो ।  

स्नेहिथ रेड्डी र कप्तान अस्कर ज्याक्सनले १५७ रनको साझेदारी गरेका हुन् । रेड्डीले नेपाली बलरहरुलाई निस्तेज पार्ने क्रममा १२५ बलमा अविजित रहँदै १४७ रन बनाए । कप्तान अस्करले ७५ रन बनाए ।
 
नेपालका लागि सुवाश भण्डारीले ३, गुल्सन झाले २ तथा दिपेश कणेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १–१ विकेट लिए । 

नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेकोमा दुवै पटक नेपाल विजयी भएको थियो । नेपाल सन् २००६ मा १ विकेटले र २०१६ मा ३२ रनले विजयी भएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ