arrow

भीषण आगलागीमा दुई सय भन्दा बढी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १९ शुक्रबार
fire-final.jpeg

काठमाडौँ ।  केन्याको राजधानी नैरोबीमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै दुई सय भन्दा बढी घाइते भएका केन्याका सरकारी उच्च अधिकारीले शुक्रबार बताएका छन् । 

सरकारका प्रवक्ता आइज्याक मैगुआ मवौराले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेखेका छन्, “विस्फोटले आगोको ठूलो लप्काले शहरको बीचमा रहेका सवारी साधन र आवासीय भवनहरूलाई भेटेको र घटनामा समाचार तयार पार्दासम्म कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । विस्फोटपछि आगोको लप्का व्यापक रूपमा फैलिएको छ ।”

“फलस्वरूप, आगोले धेरै साना र मझौला आकारका व्यवसायसहित धेरै सवारी साधनहरू र व्यावसायका लागि राखिएका समानमा थप क्षति पु¥याएको छ”, उनले भने, “घटनास्थल वरपरका आवासीय घरहरूमा पनि आगो लागेको छ । घटना रातिको समय भएकोले धेरै बासिन्दा घरभित्र रहेकोले ठूलो सङ्ख्यामा हताहत भएको पाइएको छ । 

दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको र अन्य २२२ जनालाई राजधानीका विभिन्न अस्पतालमा लगिएको सरकारी प्रवक्ताले जानकारी दिए । 

यसअघि केन्या रेडक्रसले करिब ३०० जना घाइते भएको जानकारी दिएको थियो ।

घटनास्थलमा उपलब्ध एएफपीका पत्रकारका अनुसार अग्निनियन्त्रकहरूले स्थानीयसमयअनुसार बिहान ७ ः०० बजेसम्म आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका थिए । त्यस क्षेत्रबाट कालो धुवाँको ठूलो मुस्लो निस्किरहेको देखिएको थियो ।

राजधानीको दक्षिणपूर्वी क्षेत्रमा बिहीबार राति आगलागी भएको थियो ।

स्थानीय सञ्चार माध्यमले प्रसारण गरेको तस्बिरमा धेरै घरनजिकै ठूलो आगोको गोला देखिएको छ ।

एएफपीका एक पत्रकारका अनुसार धेरै घर र सवारी साधन जलेका छन् । 

“हामी घरमा थियौं र ठूलो विस्फोटको आवाज सुन्यौं,” आगो लागेको ठाउँको छेउछाउमा बस्ने जेम्स एनगोगेले एएफपीलाई बताए । 

उनले भने, “विस्फोटका कारण आएको आवाज र ठूलो कम्पनले पूरै भवन हल्लिएको थियो, यो ढल्न लागेको जस्तो लाग्यो । सुरुमा त हामीलाई के भइरहेको छ भन्ने पनि थाहा थिएन, यो भूकम्पजस्तै थियो ।”

घटनापछि घटनास्थल वरपरका धेरै बासिन्दाले घरबाहिर अलि टाढा गएर रात बिताएका थिए ।

सञ्चारमाध्यमले देखाएका भिडियो तथा तस्बीरमा प्रहरीले प्रभावित क्षेत्रलाई घेरेको छ तर केही मानिसहरूले आफ्ना सामानहरू सङ्कलन गरेको र क्षतिको सर्वेक्षण गरेको देख्न सकिन्छ ।

“घटनास्थल सुरक्षित भइसकेको छ र उद्धार र अन्य हस्तक्षेप प्रयासमा सहयोग पु¥याउन कमाण्ड सेन्टर बनाइएको छ,” मवौराले भने । 

यसअघि, सन् २०१८ मा नैरोबीको जिकोम्बा बजारमा भएको आगलागीमा परी १५ जनाको मृत्यु भएको थियो भने ७० जना घाइते भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ