arrow

सय भारी दाउराको भुङ्ग्रोमा नाचे कपिल गोत्रका थापा परिवार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
aago-bhungro-bhaktapur.jpg

काठमाडौँ । पुवर थापा परिवारले तान्त्रिक विद्याअनुसार १ सय ८ भारी दाउराको आगाको भुङ्ग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका छन् । गए राती चाँगुनारायण नगरपालिका वडा–५ पिखेल चौतारा, ढुङगेधार आसपास क्षेत्रमा बसोबास गर्ने पुवर थापा कपिल गोत्रका ४१ घरपरिवारका करिब २ सय जनाले विज्ञानलाई समेत चुनौती दिँदै तान्त्रिक विद्याअनुसार आगाको भुङ्ग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका हुन् 

। यसरी खली खुवाउने काम सम्पन्न गर्न धामी गुरुहरूले तान्त्रिक विधिअनुसार एक महिना लगाएर कपिल गोत्रका पुवर थापा घरपरिवारले मान्दै आएका महाकाली, दक्षिणकाली र सोही कुलका १२ जना नयाँ डाङ्ग्रेहरू तयार परेका थिए । ती डाङ्ग्रे हरु १२ वर्षका बच्चादेखि ७८ वर्षका वृद्धसम्म छन् । 

उनीहरू आगोको राप अर्थात् कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रूपमा निभाएपछि पाको वायु भएको मानिन्छ । कुलायन पूजामा सहभागी बनेका डाग्रेहरुले खाली खुट्टाले आगोको भुङ्ग्रोमा जान आफूहरूलाई शुरुमा डर लागे पनि पछि मज्जाले नाच्न सकेको प्रतिक्रिया दिएका छन् ।

कुल पूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डाङ्ग्रे भन्ने गरिन्छ । खली खुवाउने दिन बेलुका ती डाङ्ग्रेहरूलाई गुरुहरूसहित १ सय ८ भारी दाउराको भुङ्ग्रो खरानी नबन्दासम्म नाच्न लगाउने र त्यस पश्चात् विभिन्न नाममा थापिएको देवी देवतालाई बली दिई डाङ्ग्रेहरूलाई बत्ती खुवाएर खली खुवाउने काम सम्पन्न गर्ने परम्परा छ । धामी गुरु धमेन्द्र विष्टले खली खुवाउने कार्य गरे आफ्नो कुल गोत्रमा कोही अकालमा मृत्यु भए मोक्ष पाउने र आफ्नो कुल देवतालाई मान्दा प्रगति हुने विश्वास व्यक्त गरे ।

आगोको भुङ्ग्रोमा खाली खुट्टाले नाच्ने काम सामान्य नभएता पनि दैविक शक्तिकै कारण सम्भव भएको अर्का धामी गुरु साजन थापाले दाबी गरे ।

एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा तान्त्रिक शक्तिमाथि धेरैले विश्वास नगरे पनि व्राम्हण, क्षेत्रीलगायत विभिन्न समुदायहरूले खली खुवाउने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ