arrow

लेकको हिउँ पन्छाएर अवरुद्ध सडक संचालन

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० फागुन ११ शुक्रबार
mugu-lekh-11.jpg

मुगु । हिउँ परेर अवरुद्ध रहेको नाग्म गमगढी खण्डको हिउँ पन्छाएर सडक सुचारु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको टिमले नाग्म- गमगढी सडकको बुलबुले,सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सुचारु गरेको हो ।

मंगलबार,बुधबार र बिहीबार दिउँसो/राती हिउँ पर्दा यो खण्ड अवरुद्ध भई सवारी साधनहरू चल्न सकेका थिएनन् । बिहीबार र शुक्रवार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले एक्स्काभेटर र सडक रक्षकहरू लगाएर हिउँ पन्छाएर सडक सुचारु गरेको सुपरभाइजर जग्गी विकले जानकारी दिए । 

उनका अनुसार झाड्नौला देखि सातमोड,सिप्टिचौर हुँदै बुलबुलेसम्मको सडक खण्डमा जमेको हिउँ पन्छाइएको छ ।

उच्च हिमाली क्षेत्र रहेको कर्णाली राजमार्ग अन्तरगत नाग्म- गमगढीको सडकको यो खण्डमा हिउँदमा हिउँ परेर र वर्षामा पानीले पहिरो र रुख ढलेर सधैँ सडक अवरुद्ध हुँदै जान थाले पछि पछिल्ला वर्षहरूमा १ दिन पनि सडक अवरुद्ध नहोस् भनेर सडक डिभिजन कार्यालयले यी सिजनमा सडक रक्षक र एक्स्काभेटर तैनाथ अवस्थामा राख्दै आएको छ ।

हिउँद र वर्षामा २/३ महिना अवरुद्ध हुने यो सडक २ वर्ष यता सडक डिभिजन कार्यालय जुम्लाले एक्स्काभेटर र सडकका कर्मचारी तैनाथी राखी तुरुन्तै हिउँ,पहिरो र अन्य अवरोध हटाउनाले १/२ दिन भन्दा बढी अवरुद्ध हुने गरेको छैन ।

नेपाल कै प्रमुख पर्यटकीय गन्तव्य नेपाल कै ठुलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकहरूको स्थल मार्गको सडक पनि यही सडक भएकाले यातायात साधनले यो खण्ड सधैँ व्यस्त हुने गर्दछ । 

यो खण्ड व्यस्त र पर्यटकीय मार्ग समेत रहेकाले सिञ्जा,चन्दननाथ हुँदै रारा आउने पर्यटकले सडक अवरुद्ध कै कारण सास्ती नपाओस् भनेर सडक विस्तार र स्तरोन्नतिमा समेत सडक डिभिजन कार्यालय लागेको सुपरभाइजर विकले बताए ।

कर्णाली राजमार्ग अन्तर्गत नाग्म - गमगढी सडक ९३ किमी दुरी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ