arrow

अमेरिकीसहित १८ देशका सेना पाँचखालमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
us-army-panchkal.jpg

काठमाडौँ । अमेरिकीसहित विभिन्न १८ देशहरूका सेना काभ्रेपलान्चोकको पाँचखालमा जम्मा भएका छन् । सेनाहरू शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता अभिवृत्ति गर्न पाँचखालमा जम्मा भएका हुन् । 

हाल विभिन्न १८ देशहरूका सेना सम्मिलित अभ्यास तालिम भइरहेको छ । फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम कार्यक्रम पाँचखालमा जारी छ । राष्ट्रसङ्घको सामान ढुवानी गर्दा कसरी स्कर्टिङ गर्ने र मिसन इलाकामा शङ्कास्पद विस्फोटक पदार्थ भेटिए कसरी डिस्पोज गर्ने भन्नेबारेमा तालिम केन्द्रमा तालिम गराइएको छ ।

 तालिममा अमेरिका, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इन्डोनेसिया, मङ्गोलिया, थाइल्यान्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ वटा देशहरूका सैनिक सहभागी रहेका छन् । 

तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रका महासेनानी सञ्जित श्रेष्ठले बताए । उनकाअनुसार शान्ति सेनामा निकट भविष्यमा जाने सेनाहरूलाई मध्यनजर गरी तालिम गरिएको हो । उनले १४ दिनको तालिममा १० वटा सैनिक टुकडीहरू विदेशका र दुई वटा नेपाली गरी १२ वटा सैनिक टुकडी रहेको बताए । नेपालको तर्फबाट भने निकट भविष्यमा शान्ति सेनामा समावेश हुने टुकडीलाई नै समावेश गरेको बताए । 

एसियाका पाँच वटा देशमा हरेक वर्ष यस किसिमका तालिम हुने गरेको उनले बताए । जसमध्ये नेपाल, बङ्गलादेश, इन्डोनेसिया, मलेसिया र मङ्गोलिया रहेका छन् । शान्ति सेनामा रहँदा भएका केही कमी कमजोरीलाई तालिमले निखार्ने बताए । शान्ति सेनामा विभिन्न देशमा जानुपर्ने र त्यहाँ समन्वयको अभाव हुने भएकाले यो तालिम विशेष गरी सहकार्य र समन्वयका लागि आवश्यक रहेको पनि बताए ।

 उनले भने, ‘वीरेन्द्र शान्ति तालिम केन्द्र हाम्रो विदेशमा शान्ति कार्यका लागि जानु भन्दाअघि यहाँ हामीले १४ हप्ताको तालिम गरेर पठाउँछौँ । एक्सरसाइज पनि त्यही शान्ति कार्यसँग सम्बन्धित छ । विदेशमा हाम्रो गणहरू जाने साथसाथै स्टाफ अफिसर, मिलिटरी अब्जबर, त्यो स्टाटसमा पनि जानुहुन्छ । हाम्रा यो एक्सरसाइजको उद्देश्य हामी मात्रै नभएर अरू विभिन्न देशहरूको शान्ति सैनिकहरू हुनुहुन्छ । जो विभिन्न शान्ति मिसनमा गइरहनुभएको छ, त्यो सबैलाई समेटेर गरिएको छ । यसमा अहिले नेपालसहित १८ वटा देशहरू छन् । १८ देशलाई समावेश गरेर यो तालिम सञ्चालन भइरहेको छ । सिरिया, पाकिस्तान, बङ्गलादेश र नेपाल चार देश छौँ । आशियानतर्फ इन्डोनेसिया, मङ्गोलिया, भियतनाम, थाइल्यान्ड र फिलिपिन्स छन् । अरू एसियनमा मङ्गोलिया र दक्षिण कोरिया रहेको छ । उत्तर अमेरिकाबाट अमेरिका र क्यानडा छ । अस्ट्रेलिया र फिजी पनि रहेका छन् । यो तालिम ८ गतेदेखि शुरु भएको हो । २१ गते सम्पन्न हुन्छ । १४ दिनको तालिममा १० वटा सैनिक टुकडीहरू विदेशबाट आएको छ । हाम्रो देशको दुई वटासहित १२ वटा छ ।’

अभ्यास तालिमका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सेनानी सुरज बस्न्यातले शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरूले दैनिक गर्नुपर्ने मुख्य कामलाई निखार्न तालिम सञ्चालन गरिएको बताए । उनले कन्ट्रोलिङको कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरूको सुरक्षा, नयाँ थपिएको काम सैनिकहरू कुनै ठाउँमा अड्कियो भने उनीहरूलाई ल्याउनुपर्ने कार्यहरू लगायतका कुराहरू तालिममा सिकाइएको बताए । तालिममा संयुक्त राष्ट्र महासङ्घका परिवर्तित व्यवस्थाबारेमा पनि शान्ति सेनालाई जानकारी गराइएको बताए । शान्ति स्थापनाका दौरान विभिन्न देशमा जाँदा समन्वयको अभाव हुने र त्यसको समाधानका लागि तालिम सञ्चालन गरिएको पनि बताए ।

 उनले भने, ‘शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरूले गर्नुपर्ने दैनिक हुने मुख्य अप्रेसनहरू सिकाइएको हो । कन्ट्रोलिङको कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरूको सुरक्षा, नयाँ थपिएको काम सैनिकहरू कुनै ठाउँमा अड्कियो भने उनीहरूलाई ल्याउनुपर्ने कार्यहरू त्यो कार्यहरूलाई समावेश गरी यो फिल्ड ट्रेनिङ गरिएको हो । नेपालसहित ११ वटा देशका १२ वटा समूहलाई तालिम गराइरहेका छौँ । युएनसँग सम्बन्धित बदलिँदो के कुरा भइरहेको छ, त्यसबारेमा शान्ति सेनालाई जानकारी गराउने, त्यो बारेमा अभ्यास गराउने हो । शान्ति सेनाको दौरान विभिन्न देशमा जाँदा समन्वयको अभाव हुने र त्यसलाई समाधानका लागि यो तालिम गरिएको छ ।’

अभ्यासमा १ हजार १ सय ६२ जना सैनिक सहभागी रहेको बताइएको छ । २८ जना सैन्य अधिकृतहरूले विभिन्न विषयमा तालिम दिइरहेका छन् । युद्ध भइरहेको देशमा पट्रोलिङ र कर्डन एण्ड सर्च अपरेसन कसरी गर्ने भन्नेसहित ३ वटा मुख्य विधामा तालिम भइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ