arrow

९५ प्रतिशत सर्वसाधारणको हात खाली बनाएको सर्वोत्तमको कति पुग्ला शेयरमूल्य ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
sarbottam-cement.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली पूँजीबजारकै इतिहासमा पहिलोपटक बुक बिल्डिङ पद्धतिमार्फत् सर्वोत्तम सिमेन्टको आईपीओको बिक्री प्रक्रिया सम्पन्न भएको छ । 

आईपीओ बिक्रीको अन्तिम किस्तास्वरुप सर्वसाधारणका लागि निष्काशन गरिएको २७ लाख ७५ हजार ७६ कित्ता शेयरको बाँडफाँट बुधबार सकिएको हो । 

सवोत्तमले विभिन्न प्रक्रियामार्फत् कुल ६० लाख कित्ता शेयर बिक्री गरेको छ । संस्थापक शेयरसहित उक्त शेयर अब दोस्रो बजारमा सूचीकृत हुनेछ । 

संस्थापक एवं लकइन पिरियड नभएका शेयर दोस्रो बजारमा कारोबार हुन थाल्नेछन् । अहिले बिक्री भएका शेयरमध्ये प्रभावित क्षेत्रका वासिन्दाको शेयर ३ वर्ष तथा म्युचुअल फण्डले पाएका शेयर ६ महिना बेच्न नपाउने गरी लकइन पिरियड कायम गरिएको छ ।

अन्तिमपटक सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओका लागि १९ गुणा भन्दा बढीको शेयर तथा १७ गुणा भन्दा धेरै आवेदकले आवेदन दिएका थिए । 

कूल ९ लाख ५८ हजार ९५९ जनाले दिएको आवेदनमध्ये ५५ हजार ५२१ जनाले मात्रै शेयर प्राप्त गरेका हुन् । यो हिस्सा करिब ५.७९ प्रतिशत मात्रै हो । 

यसका लागि १९ अर्ब भन्दा बढी रकम बराबरको शेयर माग भएको थियो । सर्वोत्तमले सर्वसाधारणका लागि प्रतिकित्ता ३६०.९० रुपैयाँको दरका शेयर निष्काशन तथा बिक्रीको प्रस्ताव गरेको हो । 

यसअघि सर्वोत्तमले बुक बिल्डिङ प्रक्रियामार्फत् संस्थागत लगानीकर्ताहरुलाई गरेको २४ लाख कित्ता साधारण शेयर बोलकबोलमा प्रतिकित्ता ४०१ रुपैयाँ कटअफ मूल्य कायम भएको थियो । 

सो मूल्यमा १० प्रतिशत छुट दिएर सर्वसाधारणका लागि शेयर निष्काशन गरिएको हो । ३६ लाख कित्ता शेयरमध्ये ९ लाख ३० हजार कित्ता प्रभावित क्षेत्रका स्थानीयवासी तथा २ लाख ६७ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा जानेहरुका लागि तथा १ लाख ५४ हजार २२७ कित्ता शेयर छुट्याइएको थियो । 

कतिमा हुन्छ अबको कारोबार ?
कुनै पनि धितोपत्रको पहिलो कारोबारको मूल्य सो कम्पनीको अन्तिम वर्षको प्रतिशेयर नेटवर्थमा आधारित रहेको हुन्छ । धितोपत्र निष्काशन तथा कारोबार नियमावलीले धितोपत्रको प्रारम्भिक मूल्य रेञ्ज नेटवर्थदेखि त्यसको तीन गुणासम्म हुन पाउने व्यवस्था गरेको छ । 

आर्थिक वर्ष २०७९–८० मा सर्वोत्तम सिमेन्टको प्रतिशेयर नेटवर्थ १८५.३६ रुपैयाँ रहेको थियो । यो अनुसार अब सर्वोत्तम सिमेन्टको शेयरमूल्य १८५ रुपैयाँ ३६ पैसादेखि  ५५६ रुपैयाँ ८ पैसासम्म कारोबार हुनेछ । 

पहिलोपटक तय भएको कारोबार मूल्य पछि दैनिक १० प्रतिशतसम्म मूल्य घटबढ हुनसक्ने व्यवस्था छ ।

अहिले पनि वित्तीय संस्थाहरुको शेयर भन्दा उत्पादनमूलक क्षेत्रको शेयरमा लगानीकर्ताको विश्वास बढी देखिन्छ । प्रतिशेयर आम्दानी १.४२ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १७४.९८ रुपैयाँ भएको सोनापुर मिनरल्सको मूल्यसमेत अहिले ५ सय रुपैयाँ भन्दा बढी रहेको देखिन्छ । 

त्यस्तै प्रतिशेयर आम्दानी १.३४ रुपैयाँ मात्रै रहेको घोराही सिमेन्टको मूल्य पनि ५४० रुपैयाँको हाराहारीमा छ । घोराही सिमेन्ट प्रतिशेयर नेटवर्थको आधारमा राम्रो कम्पनी मानिन्छ । 

अघिल्लो वर्ष प्रतिशेयर १८ रुपैयाँ भन्दा बढी आम्दानी शिवम् सिमेन्टको मूल्य ५२० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । यद्यपि नेपालमा सञ्चालित अधिकांश सिमेन्ट कम्पनीहरु यो वर्ष नोक्सानमा सञ्चालन भइरहेका छन् ।

आर्थिक मन्दीसँगै व्यक्तिगत आवास निर्माणमा कमी आउनु तथा विकास निर्माणको काममा समेत सुस्त हुनुले नेपालमा यस्तो अवस्था देखिएको हो । सोनापुरले यो वर्षका लागि १७.५८ रुपैयाँ आम्दानी प्रक्षेपण गरेकोमा चालु आवको पहिलो ६ महिनामा ४.८१ रुपैयाँ नोक्सानमा रहेको छ । 

त्यस्तै शिवम् सिमेन्टको प्रतिशेयर आम्दानी ६ रुपैयाँ भन्दा कममा झरेको छ । अघिल्लो वर्ष उक्त कम्पनीको नाफा १८ रुपैयाँ भन्दा माथि थियो । 

घोराही सिमेन्ट यो वर्षको पहिलो ६ महिनामा ४१ करोड रुपैयाँले नोक्सानमा छ जुन प्रतिशेयर ९ रुपैयाँ भन्दा बढी हो । अघिल्लो वर्ष सामान्य नाफामा रहेको घोराही सिमेन्ट आर्थिक मन्दीकै कारण उच्च नाफाको अवस्थामा पुगेको हो । 

अहिले आईपीओ जारी भएको सर्वोत्तमले चालु आर्थिक वर्षका लागि संस्थाले गर्ने कारोबार तथा नाफाको प्रक्षेपित विवरण मात्रै प्रकाशन गरेको छ । 

विवरण अनुसार यो वर्ष कम्पनीले १७.८२ रुपैयाँ नाफा गर्ने प्रक्षेपण छ । तर, उत्पादनमूलक क्षेत्र वा अन्य सिमेन्ट उद्योगको अवस्था हेर्दा यो सम्भव देखिँदैन । 

अन्य कम्पनीको वित्तीय अवस्था र बजारमूल्यलाई आधार मान्ने हो भने सर्वोत्तम सिमेन्टको मूल्य पनि ५०० रुपैयाँ भन्दा माथिसम्म पुग्ने देखिन्छ । यद्यपि बुक बिल्डिङमार्फत् संस्थागत लगानीकर्ताले ठूलो हिस्सा शेयर होल्ड गरेका कारण यसले बजार मूल्यमा केही प्रभाव पार्न सक्नेसमेत देखिन्छ । यद्यपि यसले बजार मूल्यलाई थप संयमित बनाउँछ कि घटाउँछ भन्ने चाहिँ कारोबारले देखाउँछ ।

कस्तो हो सर्वोत्तम सिमेन्ट ?
सर्वोत्तम सिमेन्ट काठमाडौंको तीनकुनेमा रजिष्टर्ड कार्यालय रहेको जगदम्बा ग्रुप अन्तर्गतको एउटा सिमेन्ट उत्पादन गर्ने कम्पनी हो । 

यसको उद्योग नवलपुरमा छ भने पाल्पा तथा गुल्मी जिल्लाको सीमानाबाट चुनढुंगा ल्याएर २०७१ सालदेखि निरन्तर रुपमा सिमेन्ट उत्पादन गर्दै आएको छ । 

यो कम्पनीमा हाथवे इन्भेष्टमेन्टदेखि मोहन आचार्यको रसुवा कन्स्ट्रक्सनसम्मको लगानी छ । 

कम्पनीसँग २०९९ सालसम्म चुनढुंगा खानी उत्खनन् गर्ने अनुमति रहेको जनाइएको छ । यो कम्पनीसँग वार्षिक ९ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेकोमा गत वर्ष ४ लाख ८५ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गरेको जनाएको छ । हाल कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ । 

उक्त कम्पनी २०७६ सालमा आईपीओ जारी गर्ने प्रयोजनका लागि पब्लिक कम्पनीमा परिणत भएको थियो । 

उक्त कम्पनी अन्तर्गत विभिन्न ४ वटा सहायक कम्पनी रहेको कम्पनीको विवरणपत्रमा उल्ल्ेख छ । कम्पनीले करिब ४ सय जनालाई रोजगारी दिँदै आएको छ । 

यो कम्पनीले विगतमै आईपीओ निष्काशनको तयारी गरेको भए पनि प्रिमियम मूल्य सम्बन्धी विवादका कारण रोकिँदै आएको थियो । गोल्डन शेयर लिएर महँगोमा शेयर बिक्री गर्ने अनुमति दिन लागेको विवाद भएपछि धितोपत्र बोर्डका तात्कालिन अध्यक्ष भीष्मराज ढुंगाना तथा नेपाल स्टक एक्सचेञ्जका तात्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलेसमेत आफ्नो जिम्मेवारीबाट हात धुनुपरेको थियो । 

त्यतिबेला कम्पनीले आफ्नो शेयर ७५० रुपैयाँमा बिक्री गर्ने तयारी गरेको थियो । महँगोमा अनुमति दिन इन्साइडर कारोबार गरेको भन्दै सरकारले उनीहरुमाथि कारबाही गरेको हो । त्यतिबेला साउदले आफैँ राजीनामा दिएका थिए भने ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ