काठमाडौँ । ललितपुरको पाटनमा हरेक पाँच वर्षमा एक पटक हुने सम्यक महादान पर्व चलिरहेको छ। लामो शताब्दीदेखि चलिरहेको यो पर्वमा दीपङ्कर बुद्ध (विगतका बुद्धमध्ये एक) का सयौँ मूर्तिहरू पूजाका लागि एकै ठाउँमा भेला गरिन्छ ।
बुधवार साँझ दिपंकर बुद्धहरुलाई पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर अगाडि भेला गराइएको थियो। परम्परागत बाजाका साथ दिपंकरहरुलाई ठाउँठाउँमा नचाउँदै कृष्ण मन्दिर पुर्याइएको थियो।
सबै बुद्धहरु आइपुगेपछि सम्यक महादान हुने स्थान नागबहाः मा लगिएको थियो ।
दुई दिने पर्वको दोस्रो दिन भक्तहरूले देवता, रक्षक, भिक्षु र बौद्ध समुदायलाई पैसा, खानालगायत विभिन्न अन्नहरू दान दिएका छन् ।
काठमाडौँ उपत्यकाका ३ ठाउँमा सम्यक महादान मनाउने गरिन्छ । ललितपुरमा हरेक ५ वर्षमा, काठमाडौंको दरबार स्क्वायर र स्वयम्भूको भुइँखेलमा १२ वर्षमा एकपटक सम्यक मनाइन्छ भने भक्तपुरमा यो पर्व वार्षिक रूपमा मनाइन्छ ।
पहिलो सम्यक महादान नेपाल संवत् १३५ (सन् १०१५) मा भएको भनिन्छ ।