arrow

एकै महिनामा साढे छ अर्ब विदेशी लगानी स्वीकृत, पाँच सयलाई रोजगारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
department-of-industry-udhyog-bibhag-उद्योग विभाग.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उद्योग विभागले २९ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीलाई स्वीकृति दिएको छ । चालु आर्थिक वर्षको सात महिनामा विदेशी लगानी ल्याउन आवेदन प्राप्त भएकोमा सो बराबरको लगानी ल्याउन स्वीकृति दिइएको विभागका प्रवक्ता अर्जुन ओलीले बताए । 

त्यसमध्ये फागुन महिनामा मात्रै ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृति भएको छ । यो रकम चालु आर्थिक वर्षको अरु महिनाको तुलनामा सबैभन्दा बढी हो । 

यो वर्ष माघमा ३ अर्ब ४५ करोड, पुसमा १ अर्ब ७२ करोड, मंसिरमा २ अर्ब २५ करोड, कात्तिकमा १ अर्ब ७५ करोड, असोज महिनामा १ अर्ब ९८ करोड, भदौ महनिामा २ अर्ब ६९ करोड तथा साउन महिनामा १ अर्ब ९३ करोड रुपैयाँ बराबरका लागि विभागले स्वीकृति दिएको थियो । 

यो अवधिमा कुल २५३ वटा कम्पनीले प्रत्यक्ष लगानीका लागि अनुमति पाएका छन् । त्यस्तै हाल चलिरहेका ३३ कम्पनीमा शेयर खरिद गर्न विदेशी लगानीकर्ता आएका छन् । 

३१ वटा कम्पनीले भने विदेशबाट प्रविधि हस्तान्तरणका लागि स्वीकृति प्राप्त गरेका छन् । 

विभागको यो तथ्यांक स्वीकृतिको मात्रै रकम हो । विभागको स्वीकृतिपछि मात्रै विदेशी लगानी भित्रिने अन्य प्रक्रियाहरु अघि बढ्ने भएकोले यसलाई प्रारम्भिक बिन्दु मानिन्छ । यही स्वीकृतिका नेपाल राष्ट्र बैंकले विदेशी लगानी ल्याउनको लागि सटही सुविधा प्राप्त गर्छन् । 

यो रकममा लगानी बोर्डले स्वीकृत गरेको लगानी प्रतिवद्धता भने नपर्ने प्रवक्ता ओली बताउँछन् । 

अहिले एउटै परियोजनामा ६ अर्ब भन्दा बढीको लगानी लगानी बोर्डले स्वीकृति दिँदै आएको छ । 

यो रकमसमेत  जोड्दा विदेशी लगानीको रकम ठूलो देखिने भए पनि वास्तविक रुपमा प्राप्त हुने रकम भने ज्यादै न्यून हुन्छ । 

उद्योग विभागबाट मात्रै हालसम्म ४ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको लागि प्रतिवद्धतासहित स्वीकृति प्राप्त भएका छन् । 

यो लगानीले ३ लाख २२ हजार जनाले रोजगारी प्राप्त गर्न सक्ने बताइएको छ । यद्यपि अहिलेसम्म कति रकम आयो भन्ने यकिन तथ्यांक छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ