arrow

नीतिमा बाँध्न नसकेसम्म पुस्तान्तरण हुँदैन : सन्तोष परियार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
santosh-pariyar-80-12-03.jpg

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उमेरका आधारमा भन्दा पनि विचारले युवा हुने बताएका छन् । शनिबार बाह्रखरी मिडियाले पोखरामा आयोजना गरेको योङ लिडर्स विथ इन्टरप्रेनर्स कार्यक्रममा उनले उमेर प्राविधिक पक्षमात्रै भएको बताउँदै भने, “विचार आलोचनात्मक हुनुपर्छ । विचार संघर्ष गर्ने खालेको हुन्छ भने त्यसलाई म युवा भन्छु ।”  

पुस्तान्तरणका सन्दर्भमा उनले नीतिमा बाँध्न नसकेसम्म पुस्तान्तरण नहुने बताए । सबै कुराको पुस्तान्तरण भए पनि नेपाली राजनीतिमा त्यो नदेखिएको उनको गुनासो छ । 

“सभ्यताको पुस्तान्तरण हुन्छ । तर हामीले हाम्रो भविष्य अरुको हातमा सुम्पिदियौँ । सबै कुरा सधैंँ एकैपटक हुँदैन र यो निरन्तर हुँदै जाने कुरा हो । तर पुस्तान्तरण हुने प्रक्रियाले निरन्तरता पाइरहेको छ कि छैन त्यसमा भने ध्यान दिनुपर्छ, जुन भएको छैन,” उनी अगाडि थप्छन्, “जिम्मेवारीमा पुस्तान्तरण गरेनौँ, पुस्तान्तरण भएको भए रास्वपा आउने थिएन । हामी अनपेक्षित रूपमा एकैपटक आउनुपर्‍यो । हामीले पनि पुस्तान्तरण गरेनौँ भने हामी पनि खारेज हुन्छौँ ।” कुनै राजनीतिक दल वा व्यक्ति खारेज भए पनि व्यवस्था भने खारेज गर्न नहुनेमा उनको जोड छ । 

नेपालका राजनीतिक दलमा ज्ञानको, चेतको तथा राजनीतिलगायत सबै कुराको पुस्तान्तरण गर्न नसके अगाडि बढ्न नसक्ने उनको भनाइ छ । 

विश्वकै उत्कृष्ट संविधान भने पनि निराशाको पाटोलाई कसरी हटाउने भन्ने सन्दर्भमा यहाँको अर्थशास्त्रले काम नगरेको उनको टिप्पणी छ । राजनीति अर्थतन्त्रसँगै जोडिने भन्दै उनी राजनीति र अर्थतन्त्रलाई अलग–अलग गरेर हेर्न नहुने उनको धारणा छ । अर्थतन्त्र र राजनीतिलाई जोडेर नहेर्दा नेपालको अर्थतन्त्रमा समस्या रहेको उनको बुझाइ छ । 

“नेपालको राजनीति कहिल्यै पनि ठिक थिएन भन्ने हामी अहिले थाहा पाइरहेका छौँ । आजको क्याविनेटमा एकजना दलित छैन । एउटा निश्चित वर्ग र जातिको उपस्थितामा सिंगो देशको विकास हुन्छ भन्ने मलाई लाग्दैन,” उनले भने, “पुँजीलाई हेर्ने हाम्रो दृष्टिमा दोष छ । निर्माण, उत्पादन, व्यवसाय छैन । समस्या नबुझेर समाधान हुँदैन । नेपाली राजनीति अब यसतर्फ केन्द्रित हुनुपर्छ ।” 

प्रधानमन्धीले चाहेको खण्डमा भ्रष्टाचार नियन्त्रणलगायत धेरै काम हुने उनको भनाइ छ । “आजैबाट भ्रष्टाचार गर्ने कसैलाई छोड्दिनँ भनेर प्रधानमन्त्रीले भन्ने हो भने धेरै हदसम्म यो नियन्त्रण हुन्छ,” उनी भन्छन्, “हाम्रोजस्तो अध्यक्षात्मक र संसदीय प्रणाली भएको देशमा प्रधानमन्त्रीले चाहेको खण्डमा धेरै कुरा हुन्छ ।”  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ