arrow

आफ्नै जिल्ला अधिवेशनमा केपीलाई तनाव, निर्देशन नमान्नेलाई भीम रावलको हालत बनाइदिने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १७ शनिबार
oli-rawal-2080-04-30.jpg
तस्बिर – फाइल ।

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृहजिल्ला झापामा जिल्ला अधिवेशनले तनाव दिएको छ । पार्टीको ११ औँ जिल्ला सम्मेलन उद्घाटनका लागि गएको बुधबार नै झापा पुगेका ओलीले गृहजिल्लामै दुई प्यानल देखिएपछि तनावमा परेका हुन् । 

ओलीले दुई प्यानल नबनाई सर्वसम्मत पदाधिकारी चयन गर्न केन्द्रीय नेताहरुलाई निर्देशन दिएका छन् तर पनि त्यहाँ लफडा भैरहेको छ । 

अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन । पाटी अध्यक्ष ओलीले जिल्ला अध्यक्षमा प्रेम गिरी, उपाध्यक्षमा असारू राजवंशी र सचिवमा तुलसी कार्कीलाई बनाउन चाहिरहेका छन् । 

अहिलेका सचिव शिव ढुंगेलले गिरीलाई चुनौती दिएपछि ओलीसमेत तनावमा परेका हुन् । ढुंगेल ओली समूहकै नेता हुन् । यद्यपि ओलीले उनलाई जिल्ला कमिटीको अध्यक्ष बनाउने अवस्था देखिएको छैन ।

तत्कालीन जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएपछि उपाध्यक्ष गिरीले कार्यबाहक अध्यक्षको रुपमा काम गरिरहेका छन । 

गिरी र सचिव ढंगेल अध्यक्ष बन्ने दौडमा रहे पनि ओलीले गिरीलाई साथ दिइरहेका छन् । 

बिहीबार बिर्तामोडमा अधिवेशन उद्घाटन कार्यक्रम गरिएको थियो । बिहीबार अधिवेशन उद्घाटनका क्रममा ओलीले आफूले भनेको नमान्नेको हालत कस्तो हुन्छ कुनै एक जना नेताको जस्तै हालत हुने बताएका थिए । 

‘महाधिवेशनमा सहमतिका नाममा दुई दिनसम्म प्रयास गरियो तर एक जनाले नमानेपछि निर्वाचन भयो, अहिले तिनको अवस्था के छ सबैलाई थाहै छ’, ओलीले कार्यकर्तालाई धम्क्याएका थिए । 

चितवनको सौराहामा २०७८ मंसिरमा भएको १० औं महाधिवेशनमा एमालेका तत्कालीन उपाध्यक्ष भीम रावल अध्यक्षका प्रत्यासी थिए । 

त्यतिबेला रावललाई उपाध्यक्षमै रहेर सहमति जनाउन ओलीले आग्रह गरेका थिए । तर रावल तयार नभएपछि चुनाव भएको थियो । 

अध्यक्षमा पराजित रावल त्यसयता एमालेमा भूमिकाविहीन छन । कोशी प्रदेशका प्राय जिल्लामा ओलीले निर्वाचन गराउन चाहेका छैनन । 

कोशीकै उदयपुरमा अध्यक्ष ओलीसहितका नेताहरुले अघि सारेका उम्मेद्वारलाई विद्रोही उम्मेद्वारले हराइदिएपछि झापामा निर्वाचन नगराउन नेताहरुको जोड रहेको छ । 

उदयपुरको अध्यक्षमा केन्द्रको उम्मेद्वार परमेश्वर घिमिरेलाई हराउँदै भागवत राउत निर्वाचित भएपछि झापामा निर्वाचन नगराउन नेताहरुको जोड रहेको छ । 

उदयपुरमा ओलीले अघि सारेका तथा पूर्व मुख्यमन्त्रीहरु शेरधन राईदेखि हिक्मत कार्कीसम्मले समर्थन गरेका घिमिरेलाई हराउँदै  राउत ३४४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका थिए । घिमिरेलाई राउतले १ सय १४ मतको अन्तरले  हराएका थिए । 

राउतलाई यसअघि प्रदेशमा अध्यक्षमा पराजित बनेका विनोद ढकाल टिमको समर्थन रहेको थियो । कोशी प्रदेशमा ढकाल समूहले सबै जिल्लामा आफ्ना उम्मेदवार खडा गरेको छ । 

सोलु, ओखलढुंगा र खोटाङ पनि ढकाल समूहले केन्द्रको आधिकारिक उम्मेदवार विरुद्ध अर्को उम्मेदवारको खोजी गरिरहेको छ । 



नयाँ