arrow

बैंकहरुको वित्तीय आचरण हेर्न राष्ट्र बैंकभित्र छुट्टै महाशाखा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
nepal-rastra-bank.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको वित्तीय आचरण सुपरिवेक्षण गर्न राष्ट्र बैंकभित्र छुट्टै संयन्त्र निर्माण भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

विनियमावलीले राष्ट्र बैंकभित्र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा तथा वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा गरी दुई छुट्टाछुट्टै विभाग गठन गर्ने व्यवस्था गरिएको छ । 

ती महाशाखामध्ये एउटाले बैंक तथा वित्तीय संस्थाभित्र हुने सम्पत्ति शुद्धीकरणसम्बन्धी क्रियउाकलापहरुको सुपरिवेक्षण गर्नेछ । अर्को शाखाले भने बैंक तथा वित्तीय संस्थाले गर्ने आचरण वित्तीय समावेशिता तथा ग्राहक संरक्षणको विषयलाई हेर्ने राष्ट्र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।

त्यसमध्ये सम्पत्ति शुद्धीकरणसम्बन्धी महाशाखा आगामी आर्थिक वर्षदेखि स्थापना हुनेछ । ग्राहक संरक्षण महाशाखा भने त्यसअघि नै सञ्चालनमा आउनेछ । अब यो महाशाखाले कुनै बैंक तथा वित्तीय संस्थाको वित्तीय आचरणबारे अध्यययन गरी कारबाहीसमेत गर्न सक्नेछ । 

राष्ट्र बैंक स्रोतका अनुसार कुनै बैंकले अस्वभाविक रुपमा ब्याजदर घटबढ गराउने, अनधिकृत शुल्कहरु लिने, बजारलाई म्यानिपुलेट गर्न अनधिकृत तथ्यांक सार्वजनिक गर्ने तथा अन्य वित्तीय आचारणसम्बन्धी कार्यहरु गर्नेछ । 

यसअघि यी सबै विषय सुपरिवेक्षण विभागले गर्दै आएको थियो । नयाँ संयन्त्रसँगै वित्तीय संस्थाहरुले नियोजित रुपमा गरेका बदमासीहरु कम हुने राष्ट्र बैंकका एक सञ्चालकले बताए । 

सुपरिवेक्षण विभागले अनसाइट र अफसाइट सुपरिवेक्षण गर्दा ती विषयहरुमा ध्यान दिन नसक्ने भएकोले छुट्टै संयन्त्रको विकास गरिएको हो । अब ती महाशाखाहरु गभर्नर वा तोकिएको डेपुटी गभर्नरमार्फत् नियमित हुनेछन् ।

यद्यपि प्रुडेन्सियल जोखिमसँग सम्बन्धित विषयमा भने महाशाखाले सुपरिवेक्षण विभागसँग समन्वय गरेर अघि बढ्नुपर्ने व्यवस्था गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ