- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हाम्रो देशमा कृषि क्षेत्रको विकास हुने यथेष्ट सम्भावना रहेको छ। विगतदेखिनै हामीले भन्दै आएका अन्य क्षेत्रले खासै उपलब्धि मिलेन । पर्यटन क्षेत्र पनि सीमित व्यवसायी र मानिसका हातमा पुगे ।
देशलाई भिषा शुल्क र व्यवसायीबाट सबैतिर कागजी रुपमा खर्च देखाएर प्राप्त हुने ज्यादै न्यून करबाहेक केही पनि उपलब्ध हुँदैन । एक जनालाई घुमाउनका लागि कम्पनीले मोलतोल गरेर आउँछन् र उसलाई रकम दिएर फर्कन्छन् ।
हाम्रो देशमा आउनका लागि हवाई टिकट नेपालबाट अमेरिका जान भन्दा महँगो छ । थाइल्याण्ड जान भन्दा कयौँ गुणा महँगो छ । अनि यहाँ आएर पहाड चढ्दा चियाको मूल्य महँगो भनेर विरोध गरेमा पर्यटकलाई ढुंगा उठाएर डाँडा कटाएर पर्यटकलाई नै खराब हो भन्ने मन्द बुद्धि भएको देश हो हाम्रो। हामीले गर्ने के ?
हाम्रो देशका लागि कुन पर्यटक आएर कति पैसा बाँड्दै हिँड्ने ? पर्यटन व्यवसायीको होटल, रेष्टुरेन्ट आदिमा सरकारले खर्च गरेर कर्मचारी खटाएर एक पटक अनुसन्धान गरेर हेरे मात्र नतिजा गतिलै प्राप्त हुनेछ ।
नतिजा भनेको पर्यटकबाट मकै छोडाएर सके पश्चातको खोया र केही फोहर मात्र हाम्रो देशका लागि हात लाग्छ । अनि सरकार पर्यटन व्यवसायको बारेमा बेसी कन्याउँदै नखोके हुन्छ । त्यो व्यवसायको बारेमा उच्चारण नगरे हुन्छ ।
यो व्यवसायबाट सीमित चटकेलेले धेरै फाइदा उठाए र हालका दिनसम्म पनि उठाइरहेका छन् । पर्यटन व्यवसायीलाई क्षणिक अवधिमा आफू मात्र धन कमाए हुन्छ भन्ने धारणा रहेको देश हो यो भन्ने बारेमा यिनको व्यवहारबाट प्रष्ट हुन्छ ।
पर्यटन व्यवसायबाट सरकारलाई मकै छोडाए पश्चातको खोया मात्र हात लागिरहेको छ । खोया बाल्न मात्र मिल्छ र खोयाको नजिकै भएको २–४ जनालाई जाडो मौसममा एकैछिन तातो मिल्ने छ ।
पर्यटन व्यवसायबाट सरकारले लाभ लिने भए भुटान र थाइल्याण्ड गएर सिकेर उनको जस्तो प्रणाली लागू गरे हुन्छ । हाम्रो देशमा आउने पर्यटकबाट दैनिक सरकारबाट निर्धारण गरेको डलर कम्पनीबाट देशको ढुकुटीमा आउनु पर्ने बाध्यात्मक व्यवस्था गरी सो लागू भएमा अर्को महिनाबाट यो देशमा पर्यटक आउनका लागि धेरै सोच विचार गर्नेछन् । हामीले गर्ने के ?
औद्योगिक मुलुकमा ५–६ वटा विश्वस्तरको उद्योग भएमा त्यो देशले मनग्य आम्दानी गर्न सक्छ । ती देशका जनता अनुशासनमा रहँदामात्र रोजगारी लगायतका सेवा सुविधा लिन सक्छन् । अनिमात्र देशका लागि आवश्यक कर तिर्नका लागि जनता तयार हुन्छन् ।
जनतालाई रोजगारी मिल्छ । रोजगारी मिलेमा कम्तीमा मानिसका खाली दिमागले अनावश्यक रुपमा बरालिनु पर्दैन । हाम्रोमा उद्योग गर्न त धेरै टाढाको कुरा पर्यटन व्यवसायका लागि एक होटल बनाएर व्यवसाय गर्नका लागि शेष घले जस्ता व्यवसायीले भोगेको नियति छर्लङ्ग छँदैछ ।
हाल उनले निर्माण थालनी गरेको होटलको निर्माणको गति हेर्दा उनी पनि नेपालमै जन्मिएकाले हामीलाई जति हेपे पनि हुन्छ भनेर काममा विलम्ब गरेको जस्तो लाग्न थाल्यो ।
यो देशमा कसैले निर्माण थालनी गरे पश्चात सम्पन्न गर्नका लागि समय निर्धारण गर्ने अवधि तोकिनु पर्दैन ? निर्माण थालेका जसले पनि मन लाग्दी गर्न मिल्छ ?
नियम कडा बनाएर उनलाई फोन गरेर भन्दिए हुन्छ, त्यहाँ बागमतीको किनाराका आफ्नो घर जग्गा भइकन पनि जग्गा हडप्नका लागि लामो समयसम्म पार्टीका कार्यकर्ताको भूमिकामा रहेका मानिसलाई तिम्रो एट्याच बाथरुममा पठाइदिउँ कि ? भनेर सोध उनले गति बढाएर होटल सम्पन्न गर्नेछन् ।
माया गर्ने बेलामा हामीलाई पनि दया हुन्छ नि तर लापरबाहीको पराकाष्टा झण्डै ८ वर्ष पुग्दा पनि उनको होटलले हाम्रो देशलाई गोप्य अंग देखाएर बसेको छ ।
उनले व्यवसाय शुरु गर्नु भन्दा अगाडि नै व्यवसायी गेटआउट गर्ने देश हो यो तर त्यतिबेला डा बाबुराम भट्टराईको सरकारको पालामा देशलाई माया गरेर नै भित्रिएको होटल भएको भन्ने लागेर नै त्यतिबेला लेख लेखेको अनुभव छ ।
हाम्रो देश संसारभरका भगवान् ब्रम्हा, विष्णु, महेश्वर तथा उहाँहरुको अनगिन्ती अवतारले रक्षा गर्नु भएको देश हो । तर यहाँ उहाँहरु निदाएको बेलामा मात्र जन्मिएका कुलंगारहरु बहुसंख्यकले शासन गरेकोले परिवर्तन भएको छैन ।
अब परिवर्तन हुन्छ । किनकि आजसम्म शासन गरेका लाखेहरुका सन्तानले उचो नजरले हाम्रो देशलाई हेर्न नमिल्ने गरेर उनका पुर्खाले छोप्नु पर्ने सबै अंग देखाई आफ्नो असली बहुलाहा रुप हामीलाई र भगवानलाई पनि देखाएर छोडिदिए ।
अब गर्ने कसले भन्ने विषय उठ्न सक्छ । हाम्रै वरिपरि रहेका अनुशासित, बाबाआमा पनि तुलनात्मक रुपमा अनुशासित परिवारमा जन्मिएका सन्तान जो भए पनि हुन्छ ।
हामी नै हो लौरोलाई भोट हालेर काठमाडौँको परिवर्तनको आशामा रहेका छौँ । अनि हाम्रो परिवारका सदस्य झुक्किएर अशुभ साइतमा घण्टी पनि बजाइदियौँ ।
अब हामीले गर्ने के ? (क्रमशः...)