arrow

सहरी विकास मन्त्रालयमा ‘सम्धी’को चलखेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
madhav-kumar-som-prasad-pandey.jpg

काठमाडौँ। सहरी विकास मन्त्रालयमा शक्ति केन्द्रले माइक्रो म्यानेजमेन्ट गर्न थालेको छ। मन्त्रालय अन्तर्गत आकर्षक मानिने विभिन्न विभाग तथा कार्यालयको नेतृत्वका लागि मोटो रकम लिएर पदस्थापन गर्ने क्रममा मन्त्रीलाई नै बाइपास गर्न थालिएको हो।

नयाँ सत्ता समीकरणसँगै एकीकृत समाजवादीका धनबहादुर बुढा अहिले सहरी विकास मन्त्री बनेका छन्। एकीकृत समाजवादीले नेतृत्व लिएको मन्त्रालयमा सो पार्टीको नेतृत्वले नै माइक्रो मेनेजमेन्ट गरी चलखेल सुरु गरेको हो। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले मन्त्री भन्दा माथि सुपर मन्त्रीका रूपमा उनका सम्धी सोमप्रसाद पाण्डेलाई खटाएका छन्। जिम्मेवारी पाए लगत्तै उनले चलखेल सुरु गरेको स्रोतले जनाएको छ।

सहरी विकास मन्त्रीमा नियुक्त भएको एक सातामै मन्त्री बुढाले दुई निकायको प्रमुख परिवर्तन गरेका थिए। मन्त्रालय अन्तर्गतकै सबैभन्दा शक्तिशाली मानिने सहरी विकास तथा भवन निर्माण विभागमा उनले कुमार घिमिरेलाई पठाएका थिए। घिमिरे पाँचौँ वरियताका सहसचिव हुन्। यो सरुवामा पाण्डेले नै हस्तक्षेप गरेका थिए। पाण्डेलाई मोटो रकम कबुल गरेर घिमिरे महानिर्देशक बनेको बताइन्छ।

चालु आर्थिक वर्षमा मात्रै यो विभागको बजेट ३० अर्ब ६ करोड रुपैयाँ बराबर छ। विभागले उक्त बजेटको परिचालन गर्ने मात्रै नभई सबै मन्त्रालय अन्तर्गत भवनको निर्माण नक्सा पास तथा डिजाइन स्वीकृत गर्ने काम समेत गर्छ। यस्तो विभागमा वरिष्ठ तथा अनुभवी व्यक्तिलाई बाइपास गरेर कनिष्ठलाई जिम्मेवारी दिएको भन्दै कर्मचारी वृत्तमा व्यापक असन्तुष्टि छ।

उता, मन्त्रालय अन्तर्गतकै अर्को शक्तिशाली निकाय मानिने सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा रवीन्द्र बोहरालाई प्रमुखको जिम्मेवारी दिइएको छ। उनीसँग समेत पाण्डेले मोटो रकम लिएको स्रोतको दाबी छ। वार्षिक करिब ५० करोडको बजेट परिचालन हुने यो कार्यालयले अधिकांश खर्च कोटेशनको आधारमा गर्ने र यसमा प्रशस्त कमिसन आउने भएकोले यो कार्यालयलाई आकर्षक मानिन्छ । यस कार्यालय अन्तर्गत प्रत्येक बजेटको स्वीकृतिमा कर्मचारीले २५ प्रतिशतसम्म लिने गर्छन्। 

तीन वर्षमा छ जना महानिर्देशक
त्यसो त कमिसनका लागि उत्कृष्ट मानिने यो मन्त्रालयका निकायहरू अस्थिर छन्। यसको पहिलो नम्बरमा सहरी विकास तथा भवन निर्माण विभाग नै छ। यो विभागमा पछिल्लो तीन वर्षमा मात्रै ६ जना महानिर्देशक परिवर्तन भएका छन्। 

२०७७ कात्तिकमा मणिराम गेलाल विभागको महानिर्देशकबाट बाहिरिएका थिए। विभागमा करिब दुई वर्ष बिताएका उनी बाहिरिएपछि अहिलेसम्म पाँच जना महानिर्देशक फेरिएका छन्। गेलाल पछि विभागमा नवराज प्याकुरेललाई महानिर्देशक बनाइएको थियो। विभागमा करिब १० महिना बसेका थिए लाई २०७८ भदौमा सरुवा गरियो। अहिले उनी काठमाडौँ उपत्यका विकास प्राधिकरणमा छन्। 

प्याकुरेलपछि विभागको नेतृत्वमा पदम मैनाली आएका थिए। तर स्वार्थ समूहले नरुचाउँदा उनी छोटो समयमै बाहिरिए। २०७८ कात्तिकमा विभागको जिम्मेवारी पाएका उनी २०७९ जेठमा सरुवा भए। अहिले उनी पहिलो वरियतामा छन्। उनलाई सहरी पूर्वाधार महाशाखामा थन्क्याइएको छ। 

मैनालीपछि रामचन्द्र दंगाललाई २०७९ जेठमा विभागमा ल्याइएको थियो। तर, तुलनात्मक रूपमा इमानदार मानिने दंगाललाई पनि चार महिना नहुँदै सरुवा गरियो। त्यसपछि सुरेन्द्र मोहन श्रेष्ठलाई विभागमा ल्याइएको थियो। उमेर हद्दका कारण अनिवार्य अवकाश पाएपछि शक्तिकेन्द्रको दबाबमा घिमिरेलाई महानिर्देशक बनाइएको छ। तर उनी पनि अबको ६ महिनामै अवकाश हुँदै छन्। 

घिमिरेभन्दा अघिल्लो बरीयतामा रहेका चक्रवर्ती कण्ठ भने अहिलेसम्म महानिर्देशक बनेका छैनन्। उनी हाल बाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजना निर्देशकको रूपमा छन्। दिलीप भण्डारी लगायत सहसचिवहरू त्यसपछि क्रमशः वरियतामा छन्। 

सहरी मन्त्रालयका कुन कार्यालयमा कति बजेट ? 
बजेट चालु आर्थिक वर्षमा सहरी विकास मन्त्रालय अन्तर्गतका निकायहरूको कुल ४६ अर्ब ४९ करोड रुपैयाँ छ। त्यसमध्ये मन्त्रालय अन्तर्गत २ अर्ब ६९ करोड रुपैयाँ बजेट रहँदा सहरी विकास तथा भवन निर्माण विभागको बजेट मात्रै ३० अर्ब ६ करोड रुपैयाँ बराबर छ। त्यस्तै, स्थानीय पूर्वाधार विकास विभागको बजेटको आकार झन्डै १२ अर्ब रुपैयाँ तथा काठमाडौँ उपत्यका विकास प्राधिकरण र धोवीखोला कोरिडोर आयोजना अन्तर्गत १ अर्ब ४५ करोड रुपैयाँ बजेट छ। 

स्थानीय पूर्वाधार विकासमा भरत प्रसाद अर्याल महानिर्देशक छन्। सहरी विकास मन्त्रीमा सीता गुरुङ आउनुभन्दा केही अगाडी उनी सो विभागमा सरुवा भएर गएका हुन्। उनी सरुवा हुँदा मन्त्रालयको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालको थियो भने सहरी विकास सचिवमा सुरेश आचार्य थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ