arrow

आदिवासी समुदायको सिरुवा पर्व

logo
युवराज रेग्मी,
प्रकाशित २०८१ वैशाख २ आइतबार
siruwa-parba.jpg

झापा । पूर्वी तराईको झापा, मोरङ सुनसरी लगायतका जिल्लामा आदिवासी समुदायले नव वर्षको सुरुआतको पहिलो दिन देखिनै सिरुवा पर्व मनाउँदै छन् । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले नयाँ वर्षमा सिरुवा पर्व मनाउने गर्दछन् ।

नयाँ वर्षसँगै शुरु हुने पर्वका अवसरमा वैशाख १ गते झापाका राजवंशीहरूले जल अर्थात् पानी सिरुवा खेलेका छन् । यसरी एक आपसमा पानी छ्यापेर खेलिने पर्व लाई जल सिरुवा भन्ने गरिन्छ । त्यस्तै, वैशाख २ गते आज माटोको हिलो बनाएर हिलो छ्याप्या–छ्याप गरेर काद सिरुवा खेल्ने गर्द्छ्न । लगातार तिन दिनसम्म मनाइने सिरुवा पर्वको अन्तिम दिन अन्तर्गत सो समुदायले वैशाख ३ गते रङ्ग सिरुवा खेल्नेछन् ।

राजवंशी तथा थारु समुदायले सिरुवा पर्वलाई आफ्नो प्रमुख चाडको रूपमा मनाउने गर्दछन् । यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन पनि रहँदै आएको पाइन्छ । पर्वको अवसरमा झापा मोरङ र सुनसरी जिल्लाहरूमा विशेष सांस्कृतिक कार्यक्रमहरू सहित सिरुवा मेला पनि लाग्ने गर्दछ ।

झापा मोरङ तथा सुनसरी जिल्लामा बसोबास गर्ने थारु राजवंशी एवम् ताजपुरिया लगायतका जातजातिले मनाउने वैशाखी पर्वको अवसरमा विभिन्न स्थानमा रहेका महाराजाथानमा धूमधामका साथ पूजाआजा गर्ने गर्दछन् । उक्त जातिहरूले हरेक वर्ष नयाँ वर्षको सुरुआत सँगै मनाइले सिरुवा पर्व साथै विभिन्न स्थानमा रहेका महाराजाथानमा भव्यताका साथ पूजा अर्चना गर्दै स्थानीय मेला लाग्ने गर्दछ । 

वैशाख १ गते झापाको गौरा दह स्थित जिम्दार चोक , मोरङको रङेली बजार , रतुवामाइ स्थित सुनबर्शी लगायतका स्थानमा भव्य मेला लाग्ने गर्दछ । मोरङको रतुवामाई नगरपालिका गोबिनपुर स्थित बक्राहखोला नजिकै रहेको पोखरीमा प्रत्येक नयाँ वर्षको पहिलो दिन वैशाख १ गते भव्य मेला लागेको छ । 

किम्बदन्तीका अनुसार एक जना गरिब बुढो दाउरेको सुनबर्सी पोखरी छेउमा दाउरा चिर्ने क्रममा बञ्चरो पोखरीमा खस्न पुगेको थियो । जीविकोपार्जनको एक मात्र सहारा बञ्चरो पानीमा खसेर हराएपछि दाउरे कराउन , रुन थाल्यो र पोखरी भित्रबाट जलदेवता प्रकट भई दाउरेलाई सुनको बन्चरो दिन लागे । तर गरिब र इमानदार दाउरेले त्यो बञ्चरो आफ्नो नभएको बताए ।

 तसर्थ गरिब दाउरेको इमानदारी देखेर जलदेवता प्रसन्न हुँदै फलामको बञ्चरो सहित सुन र अन्य बहुमूल्य धातुले बनेको बञ्चरो उपहार दिएर जलदेवताले पठाए । त्यस पश्चात् उक्त स्थानको नाम सुनबर्शी नामकरण गरिएको थियो भन्ने किम्बदन्ती अनुरूप जन विश्वासका साथ प्रत्येक वर्ष वैशाख १ गते उक्त स्थानमा मेला लाग्ने गरेको छ ।

 मेलामा पूर्वी नेपालको मोरङ झापा, सुनसरी लगायत भारतबाट समेत भक्तजनहरू सुनबर्शी मेला आउने गरेको स्थानीयहरू बताउँछन् ।



लोकप्रिय समाचार
नयाँ