arrow

संसद्को अधिवेशन अन्त्यपछि ओली- कांग्रेस आक्रोश र पीडामा छ [भिडियो]

प्रतिनिधि सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
kp-oli-80-01-02.jpg

काठमाडौँ । संसद्को चालु अधिवेशन अन्त्य भएपछि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वाभाविक भएको बताएका हुन्। 

उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तीमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरूप हिउँदे अधिवेशनको अन्त्य गर्नुपरेको बताए । उनले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली कांग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको बताए । उनले संसद पुराना अनुभवहरू लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताए । उनले नेपाली कांग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिकालाई कांग्रेसले सच्याउनुपर्ने बताए । नेपाली कांग्रेसले संयमित ढङ्गले विधि अन्तर्गत समाधान खोज्नुपर्ने बताए ।

उनले भने – ‘अहिले अधिवेशन अन्त्य गरेन भने बजेट अधिवेशन, नीति, कार्यक्रम, प्रि बजेट डिस्कसन आदिको कुराहरू, बजेटको तयारी, प्रस्तुति, विभिन्न विधेयकहरूको तयारी छलफल अनि यो अल्झिएर मात्रै बस्ने कुरा त भएन । अहिले ठिकै हो । यतिबेला बन्द हुनै पर्थ्यो हिउँदे अधिवेशन र अब बजेट अधिवेशन शुरु हुनपर्छ । १५ दिनको ग्याप राख्नपर्छ कमसेकम । गर्दा वैशाखको १८, २० यसै जाने भयो । जेठ १५ गते त फेरि कुनै अलमल बिना बजेट प्रस्तुत गर्नुपर्छ । त्यो भन्दा अगाडी नीति, कार्यक्रम पास गर्नुपर्छ । त्यसो भएको हुनाले कांग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ क्या । यस्तो गर्नुहुँदैन । संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ । त्यसको नम्स्, भ्यालुज कसरी अगाडी बढ्ने भन्ने कुरा । सीमा हुन्छ मर्यादाको कसरी चल्ने, चलाउने भन्ने कुरा । हाम्रा पुराना यति अनुभव लिएर चल्नु परेन ? उहाँहरू तर्कमा आउनुहुन्न । ढिपी, जिद्दीमा जानुहुन्छ । त्यो तरिका उहाँहरूले सच्याउनुपर्छ मैले देखेको । यसमा आवेश, उत्तेजनाको काम छैन । जनतालाई त्यति साह्रो परेको छैन । जति कांग्रेसलाई परेको छ । कांग्रेसको साह्रो गाह्रोले गर्दा यस्तो भइराखेको हो । संयमित ढङ्गले विधि अन्तर्गत समाधान खोज्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ