- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल-भारत विकास सहकार्यअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ ।
भारत सरकारको रु २ करोड ७३ लाख आर्थिक सहयोगमा निर्माण हुने उक्त परियोजनाको शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौँका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिलान्यास गरे ।
कार्यक्रममा प्रमुख धामीले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।
कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो ।
‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक सुविधासँगै दुई तले भवन, शौचालय, कार्यालय भवन र फर्निचरमा उपयोग गरिने दूतावासले जनाएको छ ।
भारत सरकार र नेपालबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइनेछ ।
परियोजना दार्चुलाकोे शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तका रुपमा रहने जनाइएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ ।
चार सय ८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशमा ४० वटा परियोजना रहेका छन् । त्यसमध्ये १० वटा परियोजना दार्चुलामा छन् । रासस