arrow

माधव नेपालको हुँकारः हामीलाई कसैले कमजोर ठाने उथलपुथल हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
madhavkumar-nepal-2080-04-07.jpg
तस्बिर – फाइल ।

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् ।

आफू देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमानदेखि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि प्रचण्ड सम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्नो पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालले चेतावनी दिएका हुन् ।

गृहजिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूहरुको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्याता र महत्व रहेकाले हल्कामा नलिन सुझाव दिए ।

वर्तमान चार दलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘हामी कसैको दास होइनौँ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौँ, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठुलो मूल्य चुकाउनुपर्छ ।’ नेता नेपालले अघि थपे, ‘हाम्रो आफनै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठीक छ नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’

नेकपा एसले सात प्रदेश मध्ये एउटा सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उनले भने, ‘त्यहाँ आफ्ना पार्टीका चार जना प्रदेश सांसद छन् र ती चारै जना सरकार निर्माणका लागि निर्णायक छन्, हाम्रा प्रदेश सांसदहरु जता जान्छन् उतै सरकार बन्छ, अनि सरकार छाड्यो भने ढल्छ, ।’ रौतहटमा विगतमा आफूले शिलान्यास गरेका सबै योजनाहरुको काम चाँडै द्रूत गतिमा अगाडि बढ्ने नेता नेपालले विश्वास दिलाएका छन् ।

आफू प्रधानमन्त्री भएको बेला रौतहटमा ठूल्ठूला विकास निर्माणका कामहरु गरेको चर्चा गर्दै नेता नेपालले आफूले शिलान्यास गरी अधुरो रहेका बडहर्वा पुल, टिकुलियाघाटको पुलदेखि लिएर अलपत्र अवस्थामा रहेका सबै योजनाका कामहरु चाँडै अगाडि बढाउने प्रक्रियामा लागि परेको बताए । 

४२ किलोमिटरको गौर–चन्द्रनिगाहपुर सडक खण्डलाई ४ लेनको बनाउने योजना आफूले नै ल्याएको र अहिले उक्त सडकलाई ४ लेन बनाउने काम द्रूत गतिमा अगाडि बढेको उनले बताए ।

चपुर–गौर सडकलाई चारलेन बनाउन ३ अर्बको ठेक्का लागिसकेको बताउँदै नेता नेपालले अबको केहि वर्ष भित्र मै चपुर–गौर सडक ४ लेनको बाटो हुने बताए । 

त्यस्तै हुलाकी राजमार्गसँग जोडिएको बडहर्वाघाटको बागमति नदिको पुल निर्माण गर्न अति आवश्यक रहेकोले अलपत्र अवस्थामा रहेको सो पुल चाडै निर्माण गर्नका लागि आफु कुनै कसर बाँकी नराखेको उनले बताए ।

गौर नगरपालिकाका मेयर शम्भु साहको अथक प्रयास र सहयोगमा वडा नं २ महादेवपट्टि स्थित लालबकैया नदिमा करोडौँको लागतमा निर्माण भएको झोलुङ्गे पुलको शुक्रबार नेता नेपालले उद्घाटन गरेका हुन् । 

नेता नेपालले उद्घाटन गरेसँगै मधेश प्रदेशकै सबभन्दा दोश्रो ठूलो पुलको रुपमा रहेको उक्त झोलुङ्गे पुल शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

सो पुलबाट गौर, इशनाथलगायत पालिकाका हजारौँ व्यक्तिहरु लाभान्वित हुने भएका छन् । उद्घाटन कार्यक्रममा नेकपा एसका नेता एवं पूर्व मन्त्री डा. वंशीधर मिश्रा, विकास समितिका सभापति कल्याणी खड्का, नेता रेवन्त झा, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव, गौर नगर प्रमुख शम्भु साह लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ