arrow

आईपीएलको इतिहासमा पञ्जाबले राख्यो ठूलो लक्ष्य पारको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
ipl-2024-pk-record.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा पञ्जाब किंग्सले नयाँ कीर्तिमान बनाएको छ । पञ्जाबले आईपीएलको इतिहासमै अहिलेसम्मकै सबैभन्दा बढी रनको चुनौती पार गरेर कीर्तिमान बनाएको हो । 

यो कीर्तिमान पञ्जाबले कोलकाता नाइट राइडर्सविरुद्ध राखेको हो । २६२ रनको चुनौती पञ्जाबले १८.४ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो । 

पञ्जाबले यति ठूलो चुनौती आठ विकेटले जित्न सफल भएको हो । पञ्जाबका लागि जोनि बेयरस्टले ४८ बलमा अविजित रहँदै १०८ रन बनाए । त्यस्तै शशांक सिंहले २८ बलमा अविजित रहँदै ६८ रन बनाए । 

ओपनर प्रभासिम्रन सिंहले २० बलमा ५४ तथा रिलि रस्ओले १६ बलमा २६ रन बनाए । कोलकाताका लागि सुनिल नाराइनले १ विकेट लिए भने एक खेलाडी रनआउट भएका थिए । 

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले इडेन गार्डेनमा शुक्रबार राति (अप्रिल २५) मा भएको खेलमा ६ विकेटको क्षतिमा २६१ रन बनायो । 

पहिलो विकेटका लागि १०.२ ओभरमै १३८ रनको साझेदारी गर्ने क्रममा फिल साल्टले ३७ बलमा ७५ तथा सुनिल नाराइनले ३२ बलमा ७१ रन जोडे । त्यस्तै वेंकटेश एय्यरले २३ बलमा ३९ रन बनाए । 

पञ्जाबका अर्षदीप सिंहले २ विकेट लिए । 

आईपीएलमा सबैभन्दा ठूलो रनको सामना राजस्थान रोयल्सले कोलकाताविरुद्ध यसै सिजनमा गरेको थियो । राजस्थानले २२४ रनको चुनौती पूरा गरेर कीर्तिमान राखेको थियो । 

अहिले कोलकाताविरुद्ध अझ ठूलो कीर्तिमान बनेको छ । 

यो सिजनमा मात्रै सातौँ पटक २५० भन्दा स्कोर बनेको छ । दोस्रो पटक ठूलो स्कोरको चुनौती पार भएको छ । त्यस्तै पञ्जाबले २८ पटक २०० भन्दा बढी रन खर्च गरेको छ । 

यो अप्रत्याशित जितले पञ्जाबको प्लेअफ पुग्ने झिनो सम्भावनाको आशालाई जीवित राखेको छ । 

अंक तालिका
८ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स शीर्ष स्थानमा रहेको छ । कोलकाता नाइट राइडर्स १० खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । 

सनराइजर्स हैदराबाद ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । 

लखनउ सुपर जाइन्टस ८ खेलबाट १० अंकसहित चौथो स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा छ । 

दिल्ली क्यापिटल्स ९ खेलबाट ८ अंकसहित छैटौँ स्थानमा छ । गुजरात टाइटान्स ९ खेलबाट ८ अंकसहित सातौैँ स्थानमा छ । पञ्जाब किंग्स ९ खेलबाट ६ अंकसहित आठौँ स्थानमा रहेको छ । मुम्बई इन्डियन्स ८ खेलबाट ६ अंकसहित नवौँ स्थानमा छ । पुछारको रोयल च्यालेन्जर्स बैंगलुरूको ९ खेलबाट ४ अंक छ । 

आजका खेल
आज दुई खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दै छन् । यो खेल जित्दा दिल्लीको प्लेअफ सम्भावना बलियो हुनेछ भने पराजित हुँदा मुम्बई लगभग बाहिरिने छ । 

जित हासिल गर्दा मुम्बईको आशा बाँकी नै हुनेछ । 

त्यस्तै बेलुकी ७ः४५ बजे लखनउ सुपर जाइन्टसले घरेलु मैदानमा राजस्थान रोयल्ससँग खेल्दैछ । जित हासिल गर्दा राजस्थानको पाँच खेलअघि नै प्लेअफ लगभग पक्का हुनेछ । लखनउ जित्दा प्लेअफ सम्भावना बलियो हुनेछ । पराजित हुँदा पनि सम्भावना कम हुने छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ