arrow

राजस्थान प्लेअफ सुरक्षित गर्न मात्र एक जित टाढा, आज दुई खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
ipl-2024-sanju-dhruv-rajast.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा राजस्थान रोयल्सले नौमध्ये आठ खेलमा जित हासिल गरेको छ । सबैभन्दा बलियो देखिएको राजस्थानले लखनउ सुपर जाइन्टसलाई ७ विकेटले पराजित गरेको छ । योसँगै १६ अंक बटुलेको राजस्थान प्लेअफ लगभग सुरक्षित गरेको छ । तर औपचारिकताका लागि अब एक खेल जिते पुग्नेछ । 

खेलमा पहिले ब्याटिङ गरेको लखनउले ५ विकेटको क्षतिमा १९६ रन बनायो । कप्तान केएल राहुलले ४८ बलमा ७६ तथा दीपक हुडाले ३१ बलमा ५० रन बनाएको इनिङ्समा सन्दीप शर्माले २ विकेट लिए । 

जवाफमा राजस्थानले १९ ओभरमा ३ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान सन्जु साम्सनले ३३ बलमा अविजित रहँदै ७१ रन बनाए । चौथो विकेटका लागि ६२ बलमा अविजित १२१ रनको साझेदारी गर्ने क्रममा ध्रव जुरेलले ३४ बलमा ५२ रन जोडे । यो हारले लखनउको दोस्रो स्थानमा पुग्ने सपना चकनाचुर भएको छ । 

अंक तालिका
९ खेलबाट १६ अंकसहित राजस्थान रोयल्स शीर्ष स्थानमा रहेको छ । कोलकाता नाइट राइडर्स ८ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । 

सनराइजर्स हैदराबाद ८ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । लखनउ सुपर जाइन्टस ९ खेलबाट १० अंकसहित चौथो स्थानमा छ । दिल्ली क्यापिटल्स १० खेलमा १० अंकसहित पाँचौँ स्थानमा रहेको छ । 

चेन्नई सुपर किंग्स ८ खेलबाट ८ अंकसहित छैटौँ स्थानमा छ । 

गुजरात टाइटान्स ९ खेलबाट ८ अंकसहित सातौैँ स्थानमा छ । पञ्जाब किंग्स ९ खेलबाट ६ अंकसहित आठौँ स्थानमा रहेको छ । मुम्बई इन्डियन्स ९ खेलबाट ६ अंकसहित नवौँ स्थानमा छ । पुछारको रोयल च्यालेन्जर्स बैंगलुरूको ९ खेलबाट ४ अंक छ । 

आजका खेल
आज दुई खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे गुजरात टाइटान्स र रोयल च्यालेन्जर्स बैंगलुरू खेल्दैछन् । गुजरातले जित्दा प्लेअफ सम्भावना कायम रहने छ भने हार्दा मुस्किलमा पर्नेछ । बैंगलुरू यसअघि नै प्लेअफ होडबाट बाहिरिएकाले गुमाउन केही बाँकी नरहेकाले आक्रामक नै खेल्नेछ । 

दोस्रो खेलमा बेलुकी ७ः४५ बजे चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्नेछन् । जित हासिल गर्दा हैदराबाद दोस्रो स्थानमा पुग्नेछ भने पराजित हुँदा चेन्नईको प्लेअफ सम्भावना मुस्किलमा पर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ