arrow

दार्चुलाका दुर्गम क्षेत्रमा तत्काल बाटो बनाउन सरकारलाई समितिको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
deepak-sing-samiti.jpg

काठमाडौँ । पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले दार्चुलाका दुर्गम क्षेत्रमा तत्काल बाटो बनाउन सरकारलाई निर्देशन दिएका छन् । दार्चुला जिल्लाको अपि हिमालको फेदमा बसेका नागरिकहरू सदरमुकाम आउन भारतीय बाटो भएर आउनुपर्ने समस्या रहेको भन्दै समस्या समाधानका लागि पहल गर्न सरकारसँग आग्रह गरेका हुन् । 

बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दार्चुला जिल्लाको सदरमुकाम खलङ्गाबाट दुहु गाउँपालिका हुँदै व्यास गाउँपालिका टिंकरसम्म जुन महाकाली कोरिडोर बन्न अझै ५ वर्ष जति समय लाग्ने भएकाले त्यहाँका बासिन्दाहरूलाई सदरमुकाम आउने छोटो ट्र्याक केही स्थानमा विपद्जन्य घटनाका कारण बिग्रिएकाले बनाइदिन सरकारले पहल गर्नुपर्ने बताए । 

उनले ट्र्याक बिग्रिएर समस्या भएको झन्डै ५ वर्ष बितिसक्दा समेत सरकारले चासो नदिएको भन्दै सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए । उनले आउँदो बजेटमा त्यहाँका बासिन्दालाई लक्षित गरी बजेट ट्र्याकका लागि बजेट विनियोजन गरी यसै वर्ष ट्र्याक बनाउन आग्रह गरे ।

उनले भने, ‘दार्चुला जिल्लाको सदरमुकाम खलङ्गाबाट दुहु गाउँपालिका हुँदै व्यास गाउँपालिका टिंकरसम्म जुन महाकाली कोरिडोर बन्दै छ । त्यसमा कम्प्लिट गर्न झन्डै ५ वर्ष अरू लाग्छ भन्ने छ । व्यास गाउँपालिकाको अपि हिमालको साइटमा हाम्रा दाजुभाइहरू बस्नुहुन्छ । शरणको लागि याक, च्याङ्ग्राहरू त्यो माथिल्लो भेगबाट हरेक वर्ष हिउँ पर्नु भन्दा पहिला बेँसीमा झार्नुपर्ने हुन्छ, त्यही एउटा गोरेटो बाटो थियो । भूकम्प, जैविक प्रकोपका कारण क्ल्याप्स भएको छ । उतातिर चाइना पर्दो रहेछ, यतातिर भारत पर्दो रहेछ, त्यो ट्र्याक झन्डै ५ वर्ष भइसक्यो अहिले बन्द भएको छ । अहिले त्यहाँ हिउँ पर्ने बेलामा चरणमा गएका पशुधन र मानिसहरू भारतमा गई फेरि दार्चुलामा आउनुपर्ने अवस्था रहेछ । त्यसताका धेरै नै दुःख, कष्ट र अपहेलाँ भारतबाट पाउने रहेछन् । त्यो ट्र्याकलाई मर्मत गरी त्यहाँका दाजुभाइहरू त्यहीँबाट आउने व्यवस्था गर्न आवश्यक छ । अपि हिमालको बेसमा बसेका जनतालाई सदरमुकाममा आउने व्यवस्था यो ट्र्याक चाँडो भन्दा चाँडो यही वर्ष भित्रमा खोलिदिनको लागि पहिलो प्राथमिकताका साथ काम अघि बढाउन र यो बजेटमा रकम विनियोजन गर्न अनुरोध गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ