- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा पञ्जाब किंग्स प्लेअफ होडबाट बाहिरिएको छ । योसँगै अहिलेसम्म पाँच पटकको विजेता मुम्बई इन्डियन्स र पञ्जाब औपचारिक रुपले प्लेअफ सम्भावनाबाट बाहिरिएका छन् ।
धर्मशालामा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरूसँग पराजित हुँदै पञ्जाब बाहिरिने दोस्रो टिम बनेको हो । पञ्जाबमाथि ६० रनको जित हासिल गर्दै बैंगलुरूले प्लेअफको गणितीय सम्भावनालाई कायमै राखेको हो । यद्यपि बैंगलुरूको प्लेअफ सम्भावना भने कम छ ।
खेलमा पहिले ब्याटिङ गरेको बैंगलुरूले ७ विकेटको क्षतिमा २४१ रन बनायो । कोहलीले ४७ बला ९२ रन जोडे । रजत पटिदारले २३ बलमा ५५ रन बनाए ।
त्यस्तै क्यामरन ग्रीनले २७ बलमा ४६ रन जोडे । पञ्जाबका हर्षल पटेलले ३ तथा विद्वाथ काभेरापाले २ विकेट लिए ।
जवाफमा पञ्जाबले १७ ओभरमै अलआउट हुँदै १८१ रनमात्र बनाउन सक्यो । राइली रस्सोऊले २७ बलमा ६१ रन बनाए ।
मोहम्मद सिराजले ३ तथा स्वप्निल सिंह, लक्कि फर्गुसन र कर्ण शर्माले २–२ विकेट लिए ।
अंक तालिका
११ खेलबाट १६ अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा रहेको छ । ११ खेलबाटै १६ अंकको राजस्थान रोयल्स दोस्रो स्थानमा छ ।
१२ खेलबाट १४ अंकको सनराइजर्स हैदराबाद तेस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टसको समान १२ अंक रहेको छ ।
रोयल च्यालेन्जर्स बैंगलुरूको १२ खेलमा १० अंक छ । मुम्बई इन्डियन्स, पञ्जाब किंग्स र गुजरात टाइटान्सको समान ८ अंक छ ।
आजको खेल
आज चेन्नई सुपर किंग्स र गुजरात टाइटान्स खेल्दैछन् । खेल अहमदाबादमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुँदैछ ।
यो खेल जित्दा गुजरातको प्लेअफ सम्भावनाको गणित जीवितै हुन्छ भने हार्दा बाहिरिने छ ।
त्यस्तै ११ खेलबाट १२ अंकको चेन्नईको यो खेलमा जित हासिल गर्दा प्लेअफ सम्भावना बलियो हुन्छ भने पराजित हुँदा थप संघर्ष गर्नुपर्ने हुन्छ ।