arrow

गुजरातसँग पराजित हुँदा चेन्नई मुस्किलतिर, कोलकाता आज क्वालिफायरमा पुग्न सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २९ शनिबार
ipl-2024-gt-csk-.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा गुजरात टाइटान्सले सनसनीपूर्ण जित हासिल गरेको छ । 

गुजरातले गएरातिको खेलमा चेन्नई सुपर किंग्समाथि ३५ रनको जित हासिल गरेको हो । अहमदाबादमा पहिले ब्याटिङ गर्दै गुजरातले ३ विकेटको क्षतिमा २३१ रन बनायो । 

पहिलो विकेटका लागि आईपीएल इतिहासकै सर्वाधिक २१० रनको साझेदारी गर्ने क्रममा कप्तान शुबमन गिलले ५५ बलमा १०४ तथा साइ सुदर्शनले ५१ बलमा १०३ रन बनाए । गुजरातले चेन्नईविरुद्ध बनाएको यो सर्वाधिक स्कोर हो । 

तुशार देशपान्डेले २ विकेट लिए । जवाफमा चेन्नईले ८ विकेटको क्षतिमा १९६ रन बनाउन सक्यो । ड्यारिल मिचेलले ३४ बलमा ६४ तथा मोइन अलीले ३६ बलमा ५६ रन बनाएको इनिङ्समा महेनद्र सिंह धोनीले ११ बलमा अविजित रहँदै २६ रन बनाए । 

मोहित शर्माले ३, राशिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले १–१ विकेट लिए । 

यो हारले चेन्नईको प्लेअफ सम्भावना प्रवल रहे पनि मुस्किल बन्दै गएको छ । 

जितले गुजरातको प्लेअफ सम्भावना कम भए पनि गणितीय सम्भावना भने कायम राखेको छ । 

अहिलेसम्म ८–८ अंकका मुम्बई इन्डियन्स र पञ्जाब किंग्समात्र औपचारिक रुपले प्लेअफ होडबाट बाहिरिएका छन् । 

अंक तालिका
११ खेलबाट १६ अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा रहेको छ । ११ खेलबाटै १६ अंकको राजस्थान रोयल्स दोस्रो स्थानमा छ । 

१२ खेलबाट १४ अंकको सनराइजर्स हैदराबाद तेस्रो स्थानमा छ । समान १२ खेलबाट चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टसको समान १२ अंक रहेको छ । 

रोयल च्यालेन्जर्स बैंगलुरू र गुजरात टाइटान्सको १२ खेलमा १० अंक छ । मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको समान ८ अंक छ ।  

आजको खेल
आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ । इडेन गार्डेनमा हुने खेल बेलुकी ७ः४५ बजे शुरु हुनेछ । 

यो खेल जित्दा कोलकाता क्वालिफायरमा पुग्नेछ । हार्दा भने अर्को खेल कुर्नुपर्नेछ । 

मुम्बई बाहिरिइसकेकाले आजको खेलको जितहारले फरक पार्दैन । तर पाँच पटकको च्याम्पियन मुम्बईलाई प्रतिष्ठा बचाउन भने जित्नुपर्ने दबाब छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ