arrow

ओलीको दबाबमा प्रचण्डले उपेन्द्रलाई दिए राजीनामा गर्न निर्देशन, एसलाई पनि हट्न दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
gathabandhan-80-12-03.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । वर्तमान एमाले–माओवादी गठबन्धनमा बनेको सरकारबाट दुई दल बाहिरिने निश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट राजीनामा दिन निर्देशन दिइसकेका छन् भने नेकपा एसले पनि सुदूरपश्चिम प्रदेश सरकारमा एमालेबाट विश्वासको मत नपाएपछि सरकार छाड्ने निश्चित भएको छ । 

यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल सरकारबाट बाहिरिने निर्णय गरेसँगै एस पार्टीले पनि बैशाखको पहिलो साता नै सरकारबाट बाहिर निस्कने निर्णय गर्ने स्रोतको दाबी छ । 

जसपा नेपालको कार्यकारिणी समितिले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । ‘उपेन्द्र यादवले आजै राजीनामा दिने सम्भावना छ’, जसपाका महासचिव मनिष सुमनले भने ।

उता नेकपा एसले पनि यो सरकारमा आफूहरु सन्तुष्ट हुन नसकेको जानकारी दिइसकेको छ । त्यसको पुष्टि गर्दै एसका प्रवक्ता जगन्नाथ खतिवडाले शीर्ष नेतृत्वलाई सरकार छाड्न दबाब रहेको बताए । 

‘सचिवालय, स्थायी कमिटी दुवै बैठकमा सरकारको गतिविधिप्रति नेकपा एसको फरक धारणा रहेकाले सरकारमा बस्न नहुने सुझाव दिइसकेका छाँै, यसको नतिजा केही दिनमा देखिनेछ’, प्रचार विभाग प्रमुख एवं प्रवक्ता खतिवडाले भने । 

नेकपा एमाले र माओवादी केन्द्र सरोजकुमार यादव नेतृत्वको मधेस सरकारबाट फिर्ता भएसँगै जसपा, नेपाल संघीय सरकारबाट अलग हुने निर्णयमा पुगिसकेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नै यादवलाई राजीनामा दिएर सहजीकरण गर्न आग्रह गरेका थिए ।  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई आइतबार नै हटाउन दबाब दिएका थिए ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डमाथि अर्को दबाब माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका मन्त्री हटाउन दिइसकेका छन्  । 

एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा सहरी विकासमन्त्री रहेका छन् ।

उनीहरुलाई हटाएर अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तयारी भइरहेको छ । 

‘सरकारलाई बहुमतको चिन्ता नगर्नुस् म पुर्याउँला तर जसपा र एसलाई सरकारबाट तत्कालै हटाउने प्रकृया शुरु गर्नुस्’, एमाले अध्यक्ष ओलीले प्रचण्डलाई दिएको दबाब उद्धृत गर्दै बालुवाटार निकट स्रोतले भन्यो । 

अशोककुमार राई नेतृत्वको बनेको जनता समाजवादी पार्टीबाट नवलकिशोर साह सुडी अहिले वनमन्त्री छन् । 

उक्त पार्टीलाई थप २ वटा मन्त्रालय दिने गरी गठबन्धन बलियो बनाउने ओलीको योजना रहेको छ । प्रदीप यादवलाई स्वास्थ्यमन्त्री बनाउने र सहरी विकास मन्त्रालय पनि जसपालाई दिने तयारी भएको छ । 

राई नेतृत्वको जसपाबाट डा. वीरेन्द्रप्रसाद महतो, रञ्जु ठाकुर र हसिना खान मन्त्रीको लाइनमा भए पनि उनीहरुलाई अर्को चरणमा मन्त्री बनाउने गरी तयारी थालिएको स्रोतले जनाएको छ । 

सीके राउत नेतृत्वको जनमतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दिने सम्भावना छ । 

जनमतले यसअघि पनि उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेको थियो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने सम्भावना बढेर गएको छ । 

त्यस्तो भएको खण्डमा पर्यटन मन्त्री हितबहादुर तामाङ सरकारबाट बाहिरिने संभावना रहेको छ ।  

नेकपा एसले सम्हालेका मन्त्रालय बाँड्ने सम्भावना रहेको स्रोतले जनाएको छ । आगामी जेठ ३ गते सुदूरपश्चिम सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने तयारी गरिरहेका छन् । 

उनलाई एमालेले विश्वासको मत नदिने भएको छ । एमालेले विश्वासको मत नदिएपछि कांग्रेसले सहयोग गर्ने सम्भावना रहेको छ । 

जसले गर्दा संघीय सरकारमा नेकपा एसलाई हटाउने वा एस आफैँले सरकार छाड्ने भएकाले राई नेतृत्वको जसपा र नाउपाकी रञ्जिता श्रेष्ठलाई सरकार ल्याउने तयारी थालिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ